भारतको कर्जा वृद्धि ६ दशकयताकै न्यून

नयाँ दिल्ली (भारत) ४ बैशाख ।
भारतको कर्जा वृद्धिमा उच्च कमी आएको छ । त्यहाँको केन्द्रीय बैङ्क ‘रिजर्व बैङ्क अफ इण्डिया’ (आरबीआई)ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०१६/१७ मा ‘आउटस्ट्याण्डिङ’ कर्जा वृद्धि ५ दशमलव शून्य ८ प्रतिशतमा झरेको छ । यो ६ दशकयताकै न्यून हो । अघिल्लो आर्थिक वर्षमा भने कर्जा वृद्धि १० दशमलव ७ प्रतिशतको दोहोरो अङ्कले बढेको थियो । उच्च खराब कर्जा र कमजोर कर्पोरेट मागका कारण सो अवधिमा कर्जा वृद्धि ह्वात्तै घटेको आरबीआईले बताएको छ ।

मार्चसम्मको १ वर्षमा बैङ्कहरूको कर्जा ७ सय ८८ खर्ब १० अर्ब रुपया रहेको छ । सन् २०१६ को मार्चमा सकिएको आवमा भने कर्जा वृद्धि वार्षिक १० दशमलव ६९ प्रतिशतले बढी ७ सय ५० खर्ब १० अर्ब रुपयामा पुगेको थियो । यो आर्थिक वर्ष १९५३/५४ यताकै न्यून भएको आरबीआईले बताएको छ । सो अवधिमा कर्जा १ दशमलव ७ प्रतिशतले मात्रै बढेको थियो । गत आवमा भारतीय अर्थतन्त्र ७ प्रतिशतसम्म बढेको हुन सक्ने अनुमान गरिएको छ ।

उच्च आर्थिक वृद्धिदर र ब्याजदर न्यून रहेको अवस्थामा कर्जा वृद्धि सुस्ताउनुलाई धेरैले आश्चर्यका रूपमा लिएका छन् । संस्थागत ऋणपत्र बजारबाट कम्पनीहरूले आफूलाई चाहिएको रकम लिने प्रवृत्तिका कारण बैङ्कहरूको कर्जा वृद्धि सुस्ताएको हुन सक्ने विश्लेषण गरिएको छ । गत आवमा बैङ्कहरूको निक्षेप भने ११ दशमलव ७५ प्रतिशतले बढेको थियो । नोभेम्बरमा उच्च मूल्यका कागजी नोट बदर गर्ने सरकारी निर्णयका कारण बैङ्किङ प्रणालीमा उच्च परिमाणमा नगद प्रवाह हुँदा सो बैङ्क निक्षेप बढेको हो ।

मार्च ३१ मा सकिएको आवमा बैङ्कको ‘आउटस्ट्याण्डिङ’ निक्षेप १ हजार ८० खर्ब ५० अर्ब रुपया रहेको आरबीआईको तथ्याङ्कले देखाएको छ । अघिल्लो आवमा भने यस्तो निक्षेप वार्षिक ९ दशमलव ७२ प्रतिशतले बढी ९ सय ६६ खर्ब ८० अर्ब रुपयामा पुगेको थियो । गत आवमा बैङ्कहरूको खराब कर्जा १ सय ४० खर्ब रुपया रहेको छ । यो बैङ्किङ प्रणालीको १५ प्रतिशत भएको बताइएको छ । रासस/पीटीआई

फेसबुकबाट तपाईको प्रतिक्रिया