भारतमा कोरोना भाइरसबाट ७४ हजार संक्रमित, २४ घण्टामा १२२ जनाको मृत्यु
नयाँदिल्ली, ३१ बैशाख
भारतमा बुधबार बिहानसम्ममा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या ७४ हजार २८१ पुगेको छ।
कूल संक्रमितमध्ये २४ हजार ३८५ जना निको भएर घर फर्किएका वा डिस्चार्ज भएका छन् भने ४७ हजार ४८० जनाको उपचार भइरहेको छ।
कोविड–१९ बाट विगत २४ घण्टामा १२२ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाभाइरसबाट मृत्यु हुनेको कूल संख्या दुई हजार ४१५ पुगेको छ।
मन्त्रालयका अनुसार महाराष्ट्र, गुजरात, तामिलनाडु र नयाँ दिल्ली राज्य सबैभन्दा बढी प्रभावित भएका छन्। पछिल्लो विवरण अनुसार महाराष्ट्रमा २४ हजार ४२७ जना, गुजरातमा ८ हजार ९०३ जना, नयाँदिल्लीमा ७ हजार ६३९ जना संक्रमित छन्।
कूल मृत्यु भएका व्यक्तिमध्ये महाराष्ट्रमा ९२१ जना, गुजरातमा ५३७ जना र तामिलनाडुमा ६१ जनाको मृत्यु भएको छ।
यसैगरी भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल, अरुणाचल, गोवा, मणिपुर, मिजोरम समेतका धेरै राज्यमा कोरोनाको संक्रमण देखिएको छ।
कोरोना संक्रमण रोकथामका लागि भारत सरकारले एक महिनाभन्दा बढी समयदेखि देशव्यापी लकडाउन जारी राखेको छ।
तर पछिल्लो समय भारतीय श्रमिक, मजदूर, विद्यार्थी समेतका लागि विशेष श्रमिक रेलसेवा सञ्चालनमा ल्याएको छ।
रासस/एएनआई
फेसबुकबाट तपाईको प्रतिक्रिया