भारी बर्षाका कारण २० वटा हिमताल फुट्न सक्ने चेतावनी

काठमाडौ १७ असार,

मुलुकभर झरी परेर विभिन्न ठाउँमा पहिरो र बाढीको प्रकोप देखिन थालेका बेला एक  गैरसरकारी संस्थाले वर्षासँगै हिमताल बिस्फोटन एवं पहिरोले ठूलो क्षति पुर्‍याउन सक्ने चेतावनी दिएको छ ।

भूकम्पले चिराचिरा पारेका पाखापखेरामा पहिरोको जोखिम रहेको र हिमताल विस्फोटन हुन सक्ने खतरा रहेको प्रतिवेदन शुक्रबार इसिमोडले संसदको राज्य व्यवस्था समितिमा व्याख्या गरेको हो ।

इसिमोडले नेपालमा कुल २ हजार ३ सय २३ हिमताल रहेकामा २० वटा त्यस्ता ताल बिस्फोट हुनसक्ने चेतावनी दिएको छ । हिमतालको अवस्था र पहाडी क्षेत्रमा पहिरोको जोखिमबारे कार्यपत्र प्रस्तुत गर्दै इसिमोडले यस्तो चेतावनी दिएको हो ।

प्रतिवेदनको अध्ययनपछि समितिका सदस्यहरुले विपत व्यवस्थापनमा सरकार गम्भिर नभएको भन्दै आपत्ती जनाए । बषर्ा भइरहेको छ, पोहोर भूकम्पले कमजोर बनाएको जमीनमा पहिरो जान थालिसक्यो । तर, सरकार गम्भीर देखिएन, सांसद गंगालाल तुलाधरले भने, नागरिकलाई जानी जानी पहिरोमा पारेर मार्ने काम भयो । उनले नागरिकको जीवर रक्षा गर्ने सवालमा सरकार इमान्दार नदेखिएको आरोप लगाएका हुन् । धादिङको री गाविसको चेपाङ गाउँ बिहीबारदेखि पहिरोको वीचमा परेको तर सरकारले अझै उद्धार गर्न नसकेको भन्दै सांसद तुलाधरले सरकारले इमान्दार भएर पूर्वतयारी गर्न जोड दिएका छन् । अन्य सांसदहरुले पनि बषर्ा भइरहँदा मुलुक विपत्तिको नजिक पुगेको भन्दै सम्भावित ठूलो खतराबाट जोगिन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया