म त्यति तल छैन
© विवेक दुलाल क्षेत्री’दमक’
मलाई पिडाका दहरुमा पौडी खेल्दा धारामा नुहाए जस्तो लाग्छ । दुखको जङ्गलमा शुन्दर बगैचामा घुमिरहेको आभाष हुन्छ । उपेक्षाको घनाबस्तिमा आफू रमणिय चौरमा बसेको महसुस हुन्छ । भनिन्छ नि बिचार सफलताको जननी हो ,केही गर्ने अठोट हो ।तर म भने बिगत चार पाच महिना देखिन यतै अरबमा चुपचाप छु समय चपाएर ।
जिन्दगी कर्मको रुख हो ,बिचलनहरुको समाधान हो जिन्दगी । तर जिन्दगीले केवल कोठामा बसेर केही नगरेर यसरी समय कटाउछ भन्ने कुरा मैले सपनामा पनि सोचेको थिइन। जिन्दगी त मेरो हो ,तर यो जिन्दगीलाई मेरो भन्ने हक जचाउनु नसक्नु कायरता नभए पनि सन्तुलन नमिलेको भने पक्कै हो ।
मैले जिन्दगी रुखमा खुशीका पातहरु हरियो हुन नसकेर पहेलिएको प्रत्यक्ष नदेखे पनि हागा नहालेको ,मुना नपाउलिएको अनुभुत हुदा पनि आफ्नो मुहारनले मलिन नहुनु भनेको आकाश नै खस्नु चाहि होइन।तर मेरा यि कानहरुलाइ राम्रो थाहा छ यो सालको रमादानमा पनि मुस्लिम भाइ दाइहरुले आधा काम गरि सकेर बाह्र बजेको नवाज पढि सकेका छन् । मेरा यी आखाहरुलाइ थाहा छ ,बिहान बिहानै पाच बजे नै सैयौको सन्ख्यामा अरबमा एसियन लेबरहरु कामको लागि गेट बाहिर गै सकेका छन् ।
मलाइ दुख र सुखको बारेमा बेलिबिस्तार लगाउन फुर्सद त छ ,तर जागर भने पटक्कै छैन ,तर मनको धनी भएर होला दुखको गहिराइमा गएर म कहिल्यै कहालिएको छुइन ।ए मेरा अर्धमरा रहरहरु हो ,कहाँ सम्म डोर्याउछौ तिमीहरु मलाइ फेरि त्यहा सम्मन नपुर्याइ बिचमा छोडेर भाग्छौ यसो भनेर मैले बच्चा जस्तो चिच्याउनु पनि त भएको छैन ।
पोर्तोगिली भास्कोडिगामाले भारत पता लगाए यो त इतिहास भन्छ तर भास्कोले गर गहना र बहुमुल्य लुटेको कुरा ती भारतियहरुलाइ थाहा छ ,जस्ले त्यो कुराको उत्खनन गरे। कुराको मतलब देख्दा जे देखिन्छ सुनिन्छ त्यसो नभएको पनि हुनसक्छ भन्ने तर्फ इशारा हो यो ।म त आफ्नै बारेमा हाराहारी गाई रहेको छु । मलाइ कुनै फरक पर्दैन केवल मुस्कुराएको मात्र छु।तर यो मुश्कान पछि कती तड्पाइका महाभारतहरु लिपिबद्द छन् त्यस्को ज्ञान म बाहेक सायदै कसैलाइ थाहा नहोला।
म शीत सानो मुटू छ त्यो धडकी बस्छ देश र परीवारको लागि।बिगत पन्द्र बर्ष देखि म बाहिर सम्युक्त अरब इमिरेट्समा छु तर कहिल्यै लागेन मलाइ यो ठाउले मोहनि लगाइ रहेको छ । डडेल्धुराको राम शिन्ह धामी पनि घर गएर आयो ,ताप्लेजुङ्गको मोहन सुब्बा दुई महिनाको छुटि काटेर घरबाट आयो ।कैलालीकी झुमा चौधरी ,शिरहाकी नुरिन खातुन ,काठमाडौकि निहारिका श्रेष्ठ नेपाल गएर आए ।जब जब मैले उनिहरु बारे सुने मेरो मन पनि उनिहरुसितै मातृभुमी गयो र सुम्सुम्यायो आफ्नो देशको माटोलाइ ।
र उनिहरु सितै मेरो माटो मेरो देश म नेर आएर भन्यो तिमी त बदलिएछौ ,मलाइ बिर्स्यौ ?
हुनसक्छ समयको चक्रले मकै पिसे झै पिसोस मेरो दिनचर्या र आस्थालाइ ।हुन सक्छ खराबिहरुले मुछोस मेरो खस्रो मनलाइ तर मैले तिनिहरु अघि पछि छुनुमुनु गरेर नाच्नु पर्छ भन्ने छैन ।नत ठिक गरेनौ भनेर अतालिदै भक्कानु नै छ ।युगको हिस्सामा सबैको आ आफ्नो भाग हुन्छ ,त्यही हिस्सा प्राप्तिको लागि हामी जिबनभर भौतारी रहन्छौ । मरे ,बाचे पनि म नेपाली हु ।नेपाल मेरो घर हो। आफ्नो घर फर्कनेछु । गाउँ फर्कनेछु एक दिन। सम्पन्न देशमा बसेर नेपाललाई केवल अस्थाइ घर मात्र सम्झने सन्तानको कोटिमा चाहिँ पर्दिन । म त्यति तल छैन ।
दमक बजार ,झापा नेपाल
हाल – अबुधाबी ,युएइ ।
प्रकासित मिति २०७९–१–४
फेसबुकबाट तपाईको प्रतिक्रिया