मनकामना केबुलकारको वार्षिकोत्सवमा सरसफाइ र रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं  ०७ मङ्सिर २०८०-नेपालकै पहिलो केबुलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रालिले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिहीबार गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना देवीको मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरेको छ । सोही दिन केबलकारको तल्लो स्टेसन चेरेशमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदानमा कम्पनीका कर्मचारी लगायत मनकामना दर्शन गर्न आएका भक्तजन पनि सहभागी भएका थिए ।२५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गरिरहेको मनकामना दर्शन प्रालिले माता मनकामनाको मन्दिरलाई मात्रै नभएर चितवनको इच्छाकामना र गोरखाको सहिद लखन गाउँपालिकालाई नै पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न अतुलनीय योगदान गरेको छ ।

कम्पनीले केबुलकार टिकटबाट भएको वार्षिक आम्दानीको एक–एक प्रतिशत हिस्सा यी दुई गाउँपालिकालाई उपलब्ध गराउँदै आएको छ । उक्त रकमबाट दुवै गाउँमा स्वास्थ्य र शिक्षाका साथै खानेपानी, सडक जस्ता पूर्वाधार विकासमा योगदान पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया