महन्थले अस्पतालमै केन्द्रीय समिति बैठक बसाएपछि…

काठमाडौं २९ कार्तिक

सार्वजनिक स्थलहरुको आफ्नै काम र कर्तव्य हुन्छ । सार्वजनिक स्थलमध्येका विद्यालय तथा क्याम्पसमा शिक्षाको खेतीपाती हुन्छ भने अस्पतालमा बिरामीको उपचार हुन्छ ।

अन्य सार्वजनिक स्थलले पनि आ–आफ्नो उद्देश्य अनुसारका काम गर्छन् । यस्तै सार्वजनिक स्थलमा जिम्मेवार राजनीतिक पार्टी दल–बलसहित पुगेर वातावरण धुमिल पारे भने यसलाई के भन्ने ?

तराई मधेस लोकतान्त्रिक पार्टीले २०७३ कात्तिक २७ गते बिरामीको उपचार गर्ने थलो अस्पतालमै पुगेर केन्द्रीय समिति बैठक बसाएपछि अन्य पार्टीका मात्रै होइनन्, तमलोपाकै नेता तथा कार्यकर्ता समेत अचम्मित भएका छन् ।

तमलोपाले सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा शनिबार पार्टी केन्द्रीय समितिको बैठक राखेको हो । उसले पार्टीका कुनै नेता अस्पतालमा उपचारार्थ भर्ना भएकाले नभई अकारण नै केन्द्रीय समिति बैठक राखेको हो ।

‘तमलोपाले अस्पताल जस्तो विशुद्ध बिरामीको उपचार गर्ने स्वास्थ्य संस्थालाई धुमिल पार्दै दलबल सहित पुगेर बैठक राखेको छ,’ तमलोपाकै एक नेताले भने, ‘बिरामीको उपचार गर्ने अस्पतालको वातावरण नै बिगार्ने गरी पार्टीले किन बैठक बस्यो भन्ने कुरा नबुझेर हामी आश्चर्यमा परेका छौं ।’

यसबारे तमलोपा प्रवक्ता विमल श्रीवास्तवसँग सम्पर्क राख्दा सम्पर्क हुन सकेन । आजको साँघु साप्ताहिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया