महाअभियोग प्रस्ताव भारतको इसारामा : बिजुक्छे

भक्तपुर ११ कार्तिक
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध ल्याइएको महाअभियोगको प्रस्ताव भारतको इसारामा आएको दाबी गरेका छन्।

आज ट्रक व्यवसायी सङ्घ भक्तपुरको १७औँ वार्षिक साधारणसभामा बोल्दै उनले महाअभियोग प्रस्ताव एमालेले ल्याएको नभई भारतको इसारामा आएको दाबी गरे।

महाभियोग प्रस्ताव संविधान संशोधनमा एमालेलाई हस्ताक्षर गराउने चालमात्रै भएको जिकिर गर्दै अध्यक्ष बिजुक्छेले भन्नुभयो – “कार्कीविरुद्ध महाभियोग प्रस्ताव ल्याएर संविधान संशोधनमा एमालेलाई सहमतिमा गराउने भारतले चलखेल गरेको र त्यसैको उपज महाभियोग प्रस्ताव आएको हो, एमालेले प्रस्ताव ल्याएको होइन, त्यस्तो देखिएको मात्र हो।”

महाभियोग प्रकरणमा प्रमुख प्रतिपक्षी दल एमाले भारतले चालेको चेसको गोटी बनेको आरोप लगाउँदै उनले भारतले चाहेअनुसारको संविधान संशोधनका लागि संसदमा दुई तिहाइ बहुमत पुर्‍याउन भारतले एमालेलाई फसाएको उनको तर्क थियो ।

अख्तियार प्रमुख कार्कीमात्र दोषी नभई अख्तियार प्रमुखमा लोकमानलाई ल्याउने मुख्य दलहरुसमेत दोषी भएको उनको भनाइ थियो। रासस

(समाचारमा राखिएको फाइल फोटो हो)

फेसबुकबाट तपाईको प्रतिक्रिया