माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालन
काठमाण्डौ ७ माघ २०८१
असोज ११ र १२ गतेको बाढी र पहिरोले क्षति पुगेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अब पूर्ण क्षमतामा सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणले सोमबार साँझदेखि आयोजनालाई विद्युत् माग उच्च हुने समय (पिक आवर)मा चलाउन थालेको जानकारी दिएको छ।
पुस ९ गतेदेखि आंशिक रूपमा सञ्चालनमा आएको आयोजना आइतबार र सोमबार साँझ बन्द गरी आवश्यक मर्मतपछि पूर्णरूपमा सञ्चालन गरिएको हो। यस आयोजनाले मुलुकको ऊर्जा व्यवस्थापनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
नेपालका अधिकांश जलविद्युत् आयोजना रन अफर रिभर (आरओआर) मोडलमा आधारित छन्। जडित कुल विद्युत् क्षमता ३२०० मेगावाट भए पनि हिउँदमा पानीको सतह घटेकाले करिब आधाभन्दा बढी उत्पादनमा कमी आएको छ। हाल देशभित्र १५०० मेगावाट हाराहारीमा मात्रै विद्युत् उत्पादन भइरहेको छ भने पिक आवरमा २१०० मेगावाटभन्दा बढी माग हुन्छ।
यो समयमा भारतबाट पनि विद्युत् आपूर्ति नहुँदा औद्योगिक क्षेत्रमा लोडसेडिङको समस्या कायमै छ। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठका अनुसार औद्योगिक करिडोरमा दैनिक ८ घण्टासम्म लोडसेडिङ भइरहेको छ। उनले भने, “उद्योगहरूलाई कम्तीमा २१/२२ घण्टा विद्युत् आपूर्ति दिन सक्नु पर्छ। साँझ २–३ घण्टा बाहेक अन्य समयमा निर्बाध विद्युत् उपलब्ध गराउनुपर्छ।”
Advertisement
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले माथिल्लो तामाकोशी आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आएपछि लोड व्यवस्थापनमा सहज हुने बताएका छन्। “पिक आवरमा तामाकोशीले ठूलो राहत दिनेछ। औद्योगिक क्षेत्रमा अझै पूरा विद्युत् दिन सकिने अवस्था भने बनेको छैन,” उनले भने।
हाल नेपालले अन्य समयमा भारतबाट दैनिक ५०० मेगावाट हाराहारी विद्युत् आयात गरिरहेको छ। तर, पिक आवरमा आपूर्ति नहुँदा उद्योग र व्यवसायमा लोडसेडिङको समस्या झनै चर्किने गरेको छ। तामाकोशी आयोजनाको पूर्ण क्षमतामा सञ्चालनले आन्तरिक उत्पादनमा सुधार गर्दै औद्योगिक करिडोरमा केही राहत पुर्याउने अपेक्षा गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया