माथिल्लो मर्स्याङ्दीको ५० मेगावाट बिजुली खेर जाने

काठमाडौं २३ श्रावण

समयमै प्रसारणलाइन नबनाउँदा आगामी भदौदेखि व्यावसायिक उत्पादन गर्न लागेको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी–ए जलविद्युत् आयोजनाको बिजुली खेर जाने भएको छ ।

सिनो सगरमाथा हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको यो आयोजनाको निर्माण सम्पन्न हुनै लागे पनि प्रसारणलाइनको अन्योलले विद्युत् खेर जाने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको मध्यमर्स्याङ्दीबाट तल्लो मर्स्याङ्दी जाने डबल सर्किट तथा मर्स्याङ्दीबाट डुम्रे हुँदै दमौली जाने १३२ केभीको प्रसारणलाइन सम्पन्न हुन कठिन देखिएपछि बिजुली खेर जाने देखिएको छ ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले भने हाल उत्पादन हुने २५ मेगावाट बिजुली प्रसारणका लागि कुनै समस्या नहुने तर, चालू वर्षभित्र प्रसारणलाइन नबनेमा ५० मेगावाट बिजुली खेर जाने बताउँछन् ।

“२५ मेगावाट खेर जान नदिने गरी प्रसारण प्रणालीमा व्यवस्थापन गर्छौं, अर्को युनिट ४ महिनापछि मात्र आउने भएकाले हिउँदमा खेर जाँदैन,” उनले भने, “आगामी वर्षामा ठेकेदारले ढिलाइ गरेमा ठेक्का तोडेर नयाँ ठेकेदार नियुक्ति गरेर भए पनि बनाइ छाड्छौं ।”

आयोजनाका अनुसार, डुम्रेबाट दमौलीसम्मको निर्माणाधीन नयाँ प्रसारण लाइन असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि ठेकेदारको गतिले समयमै सम्पन्न हुने अवस्था छैन ।

हाल ६३ मध्ये ३१ वटा मात्रै टावर बनेको छ । यो प्रसारणलाइन बनेमा भने यहाँको बिजुली लेखनाथतिरको प्रसारणलाइनमा डाइभर्ट गर्न सकिने गरी अघि बढाए पनि त्यो पनि समयमै बन्न सक्ने अवस्था देखिएको छैन । आजको कारोबार दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया