मुक्तिनाथ मन्दिरमा प्रभु बैंकको भीम यूपीआई सेवा सुरु, भीम युविआईमार्फत क्युआरस्क्यान सुविधा

काठमाडौं, चैत २ । मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ मन्दिरपरिसरमा भीम यूपीआई सेवा सुरु गरेको छ । एक विशेष समारोहका बीच शुक्रबार(हिजो) मुस्ताङ्ग जिल्लाको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ परिसरमा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै सेवा सुभारम्भ गरेका हुन् ।
उक्त सेवाको सुरुवातसँगै अब भारतीय नागरिकले आफ्नो बैंक खाताबाट भीम यूपीआईमार्फत क्यूआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य किनमेलमा समेत भुक्तानी गर्न सक्ने भएका छन् भने यो सेवाले मुक्तिनाथ मन्दिरमा आउने भारतीय भक्तजनहरूलाई डिजिटल माध्यमबाट सरल, सुरक्षित र सही भुक्तानी गर्ने सुविधा पुगेको, साथै नेपाल–भारत वित्तीय सम्बन्ध पनि थप सुदृढ बन्ने विश्वास गरिएको छ ।
त्यस्तै, यो सेवामार्फत डिजिटल भुक्तानी क्रस–बोर्डर (सीमापार)लाई प्रोत्साहन गर्ने महत्त्वपूर्ण प्रयास भएको छ । यसले भारत र नेपालको वित्तीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले भीम यूपीआई सेवाको शुभारम्भले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै वित्तीय समावेशितालाई बलियो बनाउने उल्लेख गरे । उनले भक्तजनहरूका लागि यो प्रविधि सुरक्षित, पारदर्शी र सरल हुने विश्वास व्यक्त गर्दै डिजिटल भुक्तानीलाई सर्वसुलभ बनाउन विभिन्न सचेतना कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने आवश्यकता औँल्याएका थिए ।
कार्यक्रमका बीच गभर्नर अधिकारीले भने, ‘नेपाल राष्ट्र बैंकले ‘डिजिटल नेपाल’ अभियानलाई प्राथमिकता दिँदै आएको छ । यस्ता नवीनतम प्रविधिहरूको प्रवर्द्धनमा राष्ट्र बैंक निरन्तर प्रतिबद्ध छ । डिजिटल भुक्तानी प्रविधिलाई नेपालभर सर्वसुलभ बनाउने तथा वित्तीय पहुँचलाई विस्तार गर्ने दिशामा राष्ट्र बैंकले आवश्यक नीति तथा कार्यक्रमहरू अघि बढाउनेछ ।
सो अवसरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका निर्देशक मुक्ति सापकोटा, नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपकराज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु रानामगर, स्थानीय प्रशासन, मन्दिर व्यवस्थापन समिति, धार्मिक गुरुहरू, बैंकका उच्च पदाधिकारीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया