मेयर साम्पाङलाई कानुनी कारबाही गर्न पत्रकार महासंघको माग
काठमाडौँ २१ माघ २०८१ । नेपाल पत्रकार महासंघले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
सोमबार गृहमन्त्री रमेश लेखकलाई मन्त्रालयमा भेटेर महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले यस्तो माग गरेको हो ।
गृहमन्त्रीलाई बुझाइएको पत्रमा धरानका पत्रकार गोपाल दाहाललाई समाचार लेखेकै कारण गालीगलौज गर्ने, धम्की दिने र थप समाचार लेख्नै नदिनेसम्मका हर्कत गर्ने विरुद्ध राज्यले कुनै कारबाही नगर्नुले राज्यको प्रेस स्वतन्त्रताप्रतिको दृष्टिकोणमै प्रश्न उठिरहेको उल्लेख छ ।
महासंघले दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन गर्न गठन गरेको मिसनले तयार पारेको प्रतिवेदनले दोषी औँल्याएकालाई तत्काल कानुनी दायरामा ल्याएर प्रेस स्वतन्त्रताप्रति सरकारको प्रतिबद्धतालाई व्यवहारमा उतार्न अनुरोध गरिएको छ । प्रतिवेदनमा धरानका मेयर हर्क साम्पाङ र उनका समर्थकले दाहाललाई समाचार लेखेकै कारण ज्यान लिनेसम्मको धम्की दिएको उल्लेख छ ।
पत्र बुझेसँगै गृहमन्त्री लेखकले महासंघको मागप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दे प्रेस स्वतन्त्रता हननमा संलग्नहरूलाई राज्यले कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया