म्यासेन्जर र भाइबरले गराए ६ अर्ब घाटा

काठमाडौं २३ पौष
‘डेटा’ प्रयोग गरेर सेवा उपलब्ध गराइरहेका म्यासेन्जर, भाइबर, ह्वाट्स एपजस्ता ‘ओभर दी टप (ओटीटी)’ एप्सका कारण नेपालका दूरसञ्चार सेवा प्रदायकले अर्बौं घाटा व्यहोर्नुपरेको छ। निःशुल्क प्रयोग गर्न सकिने यस्ता ओटीटी सेवा प्रदायकले खासगरी दूरसञ्चार कम्पनीले विदेशबाट हुने कलवापत प्राप्त गर्ने आम्दानीमा नोक्सान पुर्याएका हुन्। नेपाल दूसञ्चार प्राधिकरणका अनुसार दूरसञ्चार कम्पनीले हालै उपलब्ध गराएको आर्थिक वर्षको वित्तीय विवरणमा अन्तर्राष्ट्रिय कलबापतको आम्दानीमा करिब ६ अर्ब रुपैयाँ घटेको छ। सरकारी लगानीको नेपाल टेलिकमले गत आर्थिक वर्षमा अन्तर्राष्ट्रिय कलवापत नौ अर्ब तीन करोड १२ लाख रुपैयाँ आम्दानी गरेको थियो। यो रकम अघिल्लो आर्थिक वर्ष ०७२\७३ को तुलनामा दुई अर्ब १२ करोड ७५ लाख रुपैयाँले कम हो।
सो आर्थिक वर्षमा कम्पनीले ११ अर्ब ४३ करोड ९५ लाखरुपैयाँ यही शीर्षकमा आम्दानी गरेको थियो। ‘आम्दानी घट्नुको मुख्य कारण ओटीटी नै हो’, कम्पनीका प्रवक्ता प्रतिभा वैद्यले भनिन्, ‘यो हाम्रोमा मात्र होइन ओटीटीका कारण विश्वव्यापी रूपमै सेवा प्रदायकहरूले घाटा व्यहोर्नुपरेको छ। वैद्यका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्दा पनि अन्तर्राष्ट्रि कलवापतको आम्दानी केही प्रभावित भएको छ। डेटा प्रयोगकर्ताहरूको संख्या बढ्दै गएपछि ओटीटीको प्रयोग बढ्दा अन्तर्राष्ट्रिय कल घटेको उनको भनाइ छ।
गोरखापत्रबाट
फेसबुकबाट तपाईको प्रतिक्रिया