यस्ता छन् कपाल फुल्नुको वैज्ञानिक कारण
एजेन्सी– कलिलो उमेरमै कपाल फुलेर पाको देखिनुपर्दा धेरैले हैरानी खेपेको हुनुपर्छ ।
वैज्ञानिकहरुले कपाल फुलाउने जिन पहिचान गर्न सफल भएका छन् । यस आविष्कारले कपाल फुल्न नदिने उपाय पनि चाँडै पत्ता लाग्ने विश्वास गरिएको छ । कपालको स्वभाविक रंगले खैरोलाई लुकाएको हुन्छ । तर, मानिसको उमेर बढेपछि बिस्तारै कपालको प्राकृतिक कालो रंग हराउँछ । कतिको कलिलै उमेरमा पनि यस्तो हुन्छ ।
बैज्ञानिकले युरोपेली, अमेरिकी र अफ्रिकी पुस्ताका ६ हजार बढी स्वंयमसेवकको डीएनए नमूना संग्रह गरेका थिए । उनीहरुका अनुसार आइआरएफ ४ नाम गरेको जीनले कपालको प्राकृतिक रंग, छाला र आँखाको रंगलाई नियन्त्रण गर्छ ।
युनिर्भसिटी कलेज लन्डनमा कार्यरत डा. काउस्तुभ अधिकारी भन्छन्, ‘तालु खुइल्याउने जीनका बारेमा हामीले थाहा पाइसकेका थियौं । तर, अहिले भने मानिसको कपाललाई खैरो बनाउने जीनलाई पहिलो पटक पहिचान गरिएको छ ।’
अध्ययनका क्रममा कपालको आकार र घनत्वमा प्रभाव पार्ने अन्य जीनको समेत पहिचान गरिएको उनले बताएका छन् । ‘वृहत् स्तरमा विभिन्न वंशका मानिसहरुको विविध पक्षको विश्लेषण गर्दा यो सम्भव भएको हो,’ उनले भने । वैज्ञानिकहरुका अनुसार कपालको जरामा हुने मेलानोसाइटेस नाम गरेको कोषिकाले उत्पन्न गरेको पिगमेन्ट ( रंग ) बाट कपालले आफ्नो प्राकृतिक रंग प्राप्त गर्छ । जब हाम्रो उमेर बढ्दै जान्छ मेलानोसाइटेसले पिगमेन्ट अर्थात् रंग उत्पादन गर्न छोड्छ र कपालले आफ्नो स्वाभाविक रंग गुमाई बिस्तारै खैरो हुन्छ ।
यस प्रक्रियामा वंशानुगत र वातावरणीय तत्वहरु समावेश हुने विज्ञहरुको भनाई छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया