यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौँ ०८ फागुन २०८०-

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको हो।

मंगलबार मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो कुराको जानकारी दिएकी हुन्।

मन्त्रिपरिषद्ले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेलले अमेरिकाको कानूनी स्थायी आवासिय अनुमति(एलपिआर) लिएको देखिएकोले पदबाट हटाउने निर्णय पनि गरेको छ।

त्यस्तै, सुरक्षण मुद्रण केन्द्रका लागि आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्मका लागि अधिकृत स्तरका आठ पदहरूको अस्थायी दरबन्दी स्वीकृत निर्णय पनि भएको मन्त्री शर्माले जानकारी दिइन्।

उनकाअनुसार मन्त्रिपरिषद्ले राष्ट्रिय सूचना प्रविधि केन्द्रको काठमाडौं, मकवानपुर, कोहलपुर र ललितपुरका कार्यालयहरूमा आ.व. २०८०/८१ को पुस १ गतेदेखि २०८१ साल असार मसान्तसम्मका लागि अधिकृत स्तरका २३ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि भएको छ।

Laxmi bank
त्यसैगरी, स्थानीय तह मातहत रहेका आँप, पिपल अस्पताल गोरखा, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बागलुङलाई ५० शय्याको अस्पतालमा स्तरोन्नति गरी गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको उनले जानकारी दिइन्।

मन्त्रिपरिषद् बैठकले एनसेलको सेयर खरिद बिक्री भएको भनिएको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय पनि गरेको छ।

Ncell
बैठकले राष्ट्रिय प्रसारण (१२ औं संशोधन) नियमावली २०८० स्वीकृत गर्ने र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेस गर्न स्वीकृत दिने निर्णय पनि गरेको छ।

मन्त्री शर्माले बालकुमारी घटनाको प्रतिवेदन आइतबार गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाएको भन्दै त्यस सम्बन्धमा मन्त्रिपरिषद्ले अध्ययन गरिरहेको जानकारी दिइन्।

उनले प्रतिवेदन अध्ययन गरेर आवश्यक निर्णय लिने प्रक्रियामा अगाडि बढेको स्पष्ट पारिन्।

त्यस्तै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट सिफारिस भए बमोजिम नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच रोयल्टी बाडफाँटका आधार, विधि र वित्तीय हिस्सा सहितका अनुसूचीहरू स्वीकृत गर्ने र सम्बन्धित प्रदेश तथा स्थानीय तहहरूलाई रकम हस्तान्तरण गर्ने निर्णय भएको छ।

बैठकले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा चण्डिकाप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ।

सरकारले तामाकोशी पाँचौं जलविद्युत आयोजनाको २२० केभी प्रसारण लाइन आयोजनाको लागि टावर निर्माण गर्न दोलखा जिल्ला बिगु गाउँपालिका वडा नं. ४ मा रहेको ०.२९ हेक्टर निजी जग्गा प्राप्ति गर्न स्वीकृत दिने भन्ने पनि निर्णय पनि गरेको मन्त्री शर्माले जानकारी दिइन्।

त्यसैगरी, मन्त्रिपरिषद् बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरूको विद्युत महसुलसम्बन्धी विवाद निरूपण गर्न नेपाल सरकारसमक्ष प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको म्याद ३० दिन थप गर्ने पनि निर्णय गरेको छ।

मन्त्री शर्माले मन्त्रिपरिषद्ले नेपाल सरकार र एसियाली विकास बैंकबीच भएको ऋण सम्झौताबमोजिम खानेपानी मन्त्रालय अन्तर्गत सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजनाले खरिद गरेका चार वटा सवारी साधनहरू खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था समितिहरूलाई हस्तान्तरण गर्न स्वीकृत दिने निर्णय गरेको छ।

त्यस्तै, सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिहरूको अपांगता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि २०७४ को अध्ययन गरी २ महिनाभित्र परिमार्जित मस्यौदा पेस गर्न गृह मन्त्रालयको सचिवको संयोजकत्वमा सरोकारवाला प्रतिनिधि समेत रहेको समिति गठन गर्ने निर्णय पनि लिएको छ।

त्यसैगरी, नेपाल र श्रीलङ्काबीच अफिसियल राहदानी बाहकहरूलाई भिसा आवश्यक नपर्ने विषयको सम्झौता स्वीकृत गर्ने र हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय पनि भएको छ।

बैठकले श्रीलङ्कामा कैदीबन्दी जीवन बिताइरहेका नेपाली नागरिकहरू चेतबहादुर थापा, सुकबहादुर तामाङ र टेकबहादुर तामाङको सजाय मानवीय आधारमा आम माफीको अनुरोध गर्दै राष्ट्रपतिबाट श्रीलङ्काका राष्ट्रपतिलाई अनुरोध गरी पत्र पठाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उनकाअनुसार माथिल्लो अरूण जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माणको अपर अरूण हाइड्रो इलेक्ट्रिक लिमिटेडलाई संखुवासभा जिल्लास्थित भोटखोला गाउँपालिकामा रहेको राष्ट्रिय वन र संरक्षित वनको २१.२७६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत दिने पनि निर्णय भएको छ।

त्यस्तै, माथिल्लो राहुघाट, राहुघाट–मङ्गले २२० केभी प्रसारण लाइन आयोजनाको टावर र राइट अफ वे को विकास निर्माणको लागि म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको ५.०९५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत दिने, डाडाँखेत–राहुघाट १३२ केभि विद्युत प्रसारण लाइन आयोजना निर्माणको लागि म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका, बेनी नगरपालिका, मंगला गाउँपालिका, मालिका गाउँपालिका र धौलागिरि गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको कुल जम्मा २५.६२६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत दिने र सुपर आँखुखोला जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरू निर्माण गर्न धादिङ जिल्लाको रुविभ्याली गाउँपालिकामा राष्ट्रिय वन क्षेत्रको कुल जम्मा ३.४१ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको छ।

मन्त्री शर्माले सोनाखोला जलविद्युत आयोजना निर्माणको लागि ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिकामा रहेको राष्ट्रिय वनको ३.६७ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिइन्।

त्यस्तै, नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा, तथ्यांक समूह राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई सम्बन्धित सेवा, समूहको सहसचिव पदमा बढुवा नियुक्ति गर्ने निर्णय पनि भएको उनले बताइन्।—न्युज एजेन्सी नेपाल

फेसबुकबाट तपाईको प्रतिक्रिया