यस्तो पनि हुन्छ विकासको रुप ! साढे चार सय वटा खानेपानी योजना अलपत्र
फलेवास (पर्वत) ३१ जेस्ठ ।
पर्वत जिल्लामा निर्माणाधीन खानेपानी योजनामध्ये झन्डै साढे चार सय योजना अलपत्र परेका छन् । जिल्लाका विभिन्न गाविसमा सञ्चालित ४२९ योजना उचित मर्मत सम्भारको अभावमा अलपत्र बनेका हुन् । त्यस्तै जिल्लाका ५४ प्रतिशत खानेपानी योजना मात्र सञ्चालनमा रहेका छन् । लामो समयदेखि मर्मत सम्भार र पुनःनिर्माण कार्य हुन नसक्दा बाँकी ४६ प्रतिशत योजना पूर्णरुपमा बन्द भइसकेका छन् । हालसम्म जिल्लाका विभिन्न गाविसमा सञ्चालनमा आएका कुल ९१४ वटा खानेपानी योजनामध्ये २३५ वटा योजना राम्रोसँग सञ्चालनमा आएका छन् भने २६० वटा योजना आंशिक रुपमा सञ्चालनमा रहेका छन् । जिल्लामा ९० दशमलव ६८ प्रतिशत बासिन्दामा खानेपानीको पहुँच पुगेको तथ्याङ्क रहेको छ ।
सरकारी लगानीको अभाव, स्थानीय उपभोक्ताको बेवास्तालगायतका कारणले पुराना खानेपानी योजना बन्द भएका हुन् । त्यस्तै पर्वतका सत प्रतिशत बासिन्दामा सरसफाइको पहुँच पुगेको छ । खानेपानीको सुविधाबाट ९ दशमलव ३२ प्रतिशत बासिन्दा वञ्चित बनेका छन् । चालु वर्षमा सबै बासिन्दामा खानेपानीको पहुँच पु¥याउनका लागि थप नौ वटा नयाँ आयोजना सुचारु भएका छन् भने एउटा बृहत् फलेवास खानेपानी आयोजना समेत यसै वर्षदेखि निर्माण कार्य सुरु भएको छ । नयाँ नौ वटा योजनासँगै पर्वतमा ४८ योजना सुचारु हुने भएका छन् । यसअघि पर्वतमा ३८ वटा खानेपानी योजना क्रमागत रुपमा निर्माणाधीन अवस्थामा रहेका थिए । जिल्लाका सबै बासिन्दालाई खानेपानीको सहज पहुँच पु¥याउने उद्देश्यले पर्वतको एक नगरपालिकासँगै ४७ गाविसलाई लक्षित गरी उक्त योजना निर्माण कार्य सुचारु भएका हुन् । सरसफाइका लागि पानी सबैभन्दा महत्वपूर्ण सूचक रहेकाले खानेपानीको सबैमा पहुँच पु¥याउनुपर्ने देखिएको छ । चालु आवभित्रमा सम्पन्न हुने योजनाबाट झन्डै पाँच हजार बासिन्दा लाभान्वित हुने जिल्ला खानेपानी डिभिजन कार्यालय प्रमुख प्रेमप्रसाद डोटेलले जानकारी दिए। जिल्लाका ९० दशमलव ६८ प्रतिशत बासिन्दालाई खानेपानीको पहुँच पुगेको तथ्याङ्क भए पनि अधिकांश क्षेत्रका बासिन्दा अहिले पनि दूषित पानी पिउन बाध्य भएका छन् । उनीहरुलाई लक्षित गरी यो वर्ष त्यस्ता ठाउँमा खानेपानी योजना सञ्चालन गरिएको जिल्ला खानेपानी डिभिजन कार्यालय प्रमुख डोटेलले जानकारी दिए।
तत्कालका लागि खानेपानी सङ्कट देखिएका होश्राङ्दी, उरामपोखरा र शङ्करपोखरी गाविसमा वर्षात्को पानी सङ्कलन गर्ने आयोजना सञ्चालन हुने भएका छन् । त्यसका लागि रु २५ लाख विनियोजन गरिएको छ । जिल्लाका अधिकांश क्षेत्रमा स्रोतको पर्याप्तता भएकाले खानेपानीको उति समस्या नभए पनि केही गाविस जहाँ स्रोत छैन त्यस्ता ठाउँमा भने अहिले पनि स्थानीयले घन्टाँै पिठ्युमा पानी बोकेर पिउन बाध्य भएका छन् । अहिले पनि पर्वतको ठूलीपोखरी, शङ्करपोखरी होश्राङ्दी र शालिग्राम गाविसको छापामा खानेपानीको बढी सङ्कट रहेको छ । त्यस्तै उरामपोखराको भतेरपाटामा पनि खानेपानीको अभाव छ । त्यहाँका बासिन्दा वर्षायामको पानी घैटामा सङ्कलन गरेर हिउँदमा पिउन बाध्य भएका छन् । खानेपानीको पहुँचसँगै जिल्लामा एक गाविस पूर्ण सरसफाइयुक्त बनिसकेको छ भने केही गाविस पूर्ण सरसफाइयुक्त घोषणाको क्रममा रहेका छन् । थापाठाना गाविस पूर्ण सरसफाइयुक्त घोषणा भइसकेको छ भने चित्रे, कार्कीनेटा र धाइरिङलगायतका गाविस घोषणाको तयारीमा जुटेका छन् । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया