युगकवि सिद्धिचरण श्रेष्ठका कविता -“तिम्रो बा’सित पैसा छैन ”

स्वयम्भू शाक्य

मान्छेहरू भन्ने गरिन्छ, तिम्रो बा गरिब भएर होला तिम्रो बासित पैसा छैन । कुरो ठीकै हो । गरिब मान्छेसँग पैसा नहुनु स्वभाविकै हो । अभाब भएर अपुग हुनु गरिब हुनु हो । त्यसैले बासित पैसा नभएको बेला कहाँ मीठो खान र राम्रो लाउँन सकिन्छ र ? यो त पैसाको खेल हो । हेर्दै खाउँ खाउँ लाग्ने मीठो र स्वादिलो खाना, हेर्दै आँखाले समाउँने राम्रो लुगा गरिबले कहाँ लगाउन सकिन्छ ? चुल्लो बाल्न गाह्रो भएको बेला हातमुख जोड्न कहाँ सकिन्छ र ? साग र सिस्नु खाएर पनि एक मुठ्ठी प्राण धान्नु बाहेक अरु के गर्न सकिन्छ र ? पिलीपिली बत्ती बलिरहेको बेला चाँडै निभ्छ भनी हामी सबैलाई थाहा भएको कुरा हो ? त्यसैले मेरो बासित पैसा नभएको बेला यो जिब्रोले कहाँ मीठो स्वाद लिन पाइन्छ र ? यो त केवल सपना हो । विपना भन्दा बाहिरको कुरो हो । मैले कहाँ पुस्तक च्यापेर स्कूल जान सकिन्छ र ? मैले कहाँ शिक्षाको ज्योति देख्न पाइन्छ र ? अभावै अभावले चुहेको गाग्रीको पानी जस्तो कहाँ अडिन सक्छ र ? सबैको दया र मायामा , कसैको हेला र अपमानमा यो जीवन बिताउनु भन्दा अरु के पाउन सकिन्छ र ? यौटा मान्छे, , मान्छे बन्न नसकेर मान्छेको खोजीमा हिँड्नु बाहेक अरु के गर्न सकिन्छ र ? त्यसैले म मान्छे भएर पनि कुकुरको जीवन बाँचिरहेछु । मेरो बासित पैसाको अभावले आज म योग्य भएर पनि अयोग्य घोषित भैरहेछु ।
जीवन पैसाको लागि हो कि पैसा जीवनको लागि । यो प्रश्नले किन हो कुन्नी मलाई मुटुमा संघै घोचिरहन्छ । सियोले घोचे जस्तो, काँडाले बिझे जस्तो कस्तो कस्तो दुई दिनको यो जिन्दगीमा पैसा जीवनको लागि हुनु पर्ने हो न कि जीवन पैसा ? भनिन्छ, यो अनित्य संसारमा कलीयुगमा भौतिकतावादको जन्म हुन्छ । जहाँ अध्यात्मिक युगको अन्त छ । जहाँ पैसाको बोलवाल छ । जहाँ भौतिक सुख र सुविधाको मात्र आशा गरिन्छ । जहाँ भोलिको कल्पना गरिदैन । जहाँ धेरै स्वार्थी र पापीहरूको जन्म हुन्छ । जहाँ अर्काको लुटेको धनमा जिवीका चलाउँछ । त्यहाँ पैसा नभए अरु के गर्न सकिन्छ र ? चित्त शुद्ध गरेर दया र माया गरी कसैलाई आपूm जस्तो ठान्नु त्यो त पाप हो । पाप धुरीबाट कराउछ भन्ने कहावतलाई फिसिक्क हाँसेर उडाउनु कलियुगको धर्म हो । आपैmमा मात्र केन्द्रित भएर बाँच्नु यो युगको माग हो । त्यसैले अब यमराजदेखि डराउनु पर्दैन । ईश्वरलाई हामी मान्नु हुँदैन । यो त सनातनदेखि चलिआएको अन्धविश्वास हो । यहि अन्धविश्वासले गर्दा हामी जाँतोमुनि पिल्सिरहेका छौं ।
पैसा लक्ष्मी रहेछ । लक्ष्मी र सरस्वतीको बास एकै ठाउँमा नहुने रहेछ । ईश्वरको मेलमिलाप भए पनि कहिले काहिँ अमेल पनि हुँदोरहेछ । होला मेरो बासित पैसा नभएर के भो सरस्वतीको बासले बहुआयामिक भनेर सबैले चिन्दोरहेछ । बस् पैसाको अभावमा एक दिन त गुज्रिसकेको छ अब एक रात बिताउँनु बाँकी छ । त्यसपछि त शून्य न हो । मेरो बासित पैसा भए पनि नभए पनि आखिर के फरक भो ? कर्मको फल मीठो मानेर भोलि यो भवसागरबाट बिलाएर यमलोकमा पनि बाँच्नु छ । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले आफ्नो मनका कुरा पोखेर होला अरुले भनेका आपूmमा परेका तिम्रो बासित पैसा छैन भनेर आफ्नो भाव यसरी पोख्दछन् ।
मीठो खान र राम्रो लाउन
पुस्तक च्यापी डटेर हिँड्न
बाबु ! तिमीले पाउन्नौ है
मानिस हौ तर कुकुर नै बन
तिम्रो बासित पैसा छैन ।

यो कुरा ध्रुवसत्य हो । चुहेको गाग्रीमा पानी भर्न सकिँदैन । बिग्रेको बाटोमा मान्छे हिँड्न सकिँदैन । त्यसैले यो विशाल खाल्डो पुर्नका लागि जविनमा थुप्रै माटो हाल्नु पर्छ । हुने र नहुने बीच युगौं युगदेखि शीतयुद्ध चलेर आजसम्म पनि युद्धविराम भएको छैन । श्रमको मूल्य टोक्न नसकेर, श्रमको मूल्य पाउन नसकेर दिनभरी श्रम गरेर पनि एक छाक खान धौ धौ परेर आज श्रमिकहरू शोषित पीडित भएर बसिरहेको छ । उचित ज्याला पाउन नसकेर बालबच्चाहरूको भविष्य सपार्न गाह्रो भैरहेको छ । उनीहरूको आत्माले खोजेको पु¥याउन नसकेर यौटा बासित पैसा नभएर भित्र भित्रै मन रोइरहेको छ । भित्र भित्रै आगो बलेर मुटु खरानी भैसकेको छ । त्यसैले श्रममा विवेक लगाउनु पर्छ । श्रममा समन्वय पनि हुनु पर्छ । चोरेर होइन, मागेर होइन, काम अनुसार राज्यले पनि दाम दिन सक्नु पर्दछ । होइन भने सामाजिक न्याय कसरी हुन्छ ? समाजमा मान्छे कसरी बाँच्न सकिन्छ ? एउटा ठूलो खाडलमा वारी र पारी मान्छेहरू बसेर एउटाले अर्कोलाई सराप्नु बाहेक अरु के पो गर्न सकिन्छ ? तिम्रो बासित पैसा छैन । मेरो बासित पैसा छैन । पैसा नहुनेको एउटा ठूलो आवाजले मुक्तीको लागि न्याय माग्छ । त्यसैले न्यायभित्र हुने र नहुने अटाउँन सक्नु पर्दछ । नहुनेहरूको मात्र होइन हुनेहरूको पनि पीडा सुन्नु पर्छ । न्याय गर्दा एउटाको मात्र होइन दुबैको कुरा सुन्न सक्नु पर्दछ । होइन भने त्यो न्याय होइन । न्यायको नाउँमा अन्याय हुनेछ । मेरो बासित पैसा नभएको बेला न्याय पाउँन गाह्रो नहुनु सक्छ । मेरो बासित पैसा नभए पनि ज्याला मजदुरीले पेट पाल्न सक्ने हुनु पर्छ । राम्रो कुरा सोचेर पनि अरुले बनाएको कुरा मात्र समर्थन प्राप्त हुने गरिन्छ ? त्यसैले ईमानन्दारीताको कदर गरी, पसिनाको मूल्यलाई बुझ्ने गरी, भोकको आगो निभाउँन सक्ने गरी, पेट भरी एक छाक टन्न खान पाउने गरी परिश्रमको फल पाउनु पर्छ । राज्यले श्रमको युद्धलाई रोक्न सक्नु पर्दछ ।
दिनभर जोतिई उद्यम गर्दा
मिल्दछ बाबु ! जे जति ज्याला
त्यसले हाम्रो पेट भरिन्न
राम्रो केही गर्न सकिन्न
तिम्रो बासित पैसा छैन ।

मेरो बासित पैसा नभएकोले आज म यी कलिला हातहरू खियाएर दुई चार पैसा कमाउन जादैछु । कामको खोजीमा काम पाउने आशामा यी कलिला आँखाहरू बाटोमा ओछ्याई रहेछु । पसिना दिएर दुई चार पैसा साट्नका लागि श्रम बजारमा जाँदैछु । त्यसैले आज मैले काम पाउनु छ । मैले गर्न सक्ने परिश्रम गर्नु छ । कम मूल्यमा नै किन नहोस् मेरो पसिना बेच्नु छ । मेरो बा–आमाका लागि, मेरो भविष्य खोज्नका लागि, मेरो परिवार बचाउनका लागि मैले केही गर्नु छ । आज कठोर तपस्या गरी भोलिका लागि सुन्दर भविष्य बनाउनु छ । काँचे भएर के भो र पाकेको मात्र फल कहाँ हुन्छ र ? काँचो विना यो संसारमा कसरी फल पाक्न सकिन्छ र ?
आज म रुखबाट झर्ने पालो हो । काँचै भएर पनि मनभित्र ठूलो आँट लिएर बाँचेको छु । मेरो बासित पैसा नभएर के भो ? परिवारमा प्रेम, माया र स्नेह छ । एक गाँस थोरै खाएर पनि बा–आमालाई खुवाउनु छ । कलिला हात नै किन नहोस् । बा–आमाको आँशु पुछ्नु छ । भोलि के होला मलाई थाहा छैन । आज भोक लागेको बेला पेट भरी खान नपाए पछि भोलिको के अर्थ रहन्छ र ? आज मैले नदेखे पछि भोलि यो आँखाले के देख्न सक्छ र ? त्यसैले मेरो लागि आज नै ठूलो छ । कसैको लागि भोलि नै ठूलो हुनेछ । यो त सपना र विपना जस्तो हो । यो त वारी र पारी जस्तो हो । किनार छिया छिया भए पनि बाहिर हाँसे जस्तो हो । मन रोएर मन भत्किएर भाँसिएको ठाउँमा कसले घर बनाउँन सक्छ र ? आखीर मान्छे न हो । आफ्नो सुख र सुविधाका लागि भाँसिएको ठाउँमा कसले खुट्टा हाल्न चाहन्छ र ? त्यसैले माया छ भने आफ्नो परिवारलाई मात्र होइन , लोक कल्याणका लागि पनि प्रेम गर्न सिक । दया छ भने आफ्नो परिवारलाई मात्र होइन , प्राणी जगतलाई पनि दया गर्न सिक । म त मान्छे हुँ । विवेक बोकेर बाँचिरहेको छु । जुन दिन विवेक बन्धकमा राख्न खोज्छ तब मान्छे, मान्छे नहुन सक्छ । मेरो बासित पैसा नभएर के भो मसंग परिश्रम गर्ने हात छ । स्वच्छ, सुन्दर, सुनौलो किरणका लागि आज मेरो काम गर्ने पालो हो ।
जाऊ कलिलो हात खियाई
दुई चार पैसा जोडी ल्याऊ
तिम्रा आमा बाको निम्ति
काँचैमा तिमी झरिद्यौं, झरिद्यौं
तिम्रो बासित पैसा छैन ।
म त गोठालो न हुँ । गाई भैंसि र भेडा चर्दै फाँट बगरमा धुम्ने मान्छे हुँ । त्यसैले म सानो भएर के भो मेरो निश्चित गन्तब्य छ । जहाँबाट आएका थियौं त्यही जानु मेरा बाटो हो । दँुगाको माझी जस्तो, सवारीको चालक जस्तो आ–आफ्नो उद्देश्यमा पुगेर जीवन बिताउन ठूलो कुरो हो । न डर छ न त्रास छ । जंगलको बाटोमा गोठालो बनेर हिँड्दा प्रकृतिले मलाई सधैं साथ दिँदोरहेछ । काँधमा घर व्यवहार बोकेर हिँडे पछि सबै ठाउँमा आँखा ओछ्याएर हिँड्नु पर्दोरहेछ । विहानदेखि बेलुकीसम्म सबै कुराहरू पु¥याउन यता उता अनि कता कता हिँड्नु पर्ने रहेछ ।
भनिन्छ, पत्रे चट्टान तहतह मिलेर बनेको हुन्छ । तह नमिलेको भए, तह नभई दिएको भए, पत्रे चट्टान कहाँ हुन सक्छ र ? त्यसैले यो भवसागरमा को कहाँ कसरी बाँचेको छ भन्ने कुरा कसरी थाहा पाउन सकन्छि र ? आँखामा आँशु नदेखेसम्म खुशी नै रहेछ भनी बुझ्ने गरिन्छ । त्यसैले हाम्रो समाजमा असमानतालाई हटाएर समानताको तह मिलाउनु छ । ठूलो र सानोका बीच यौटा ठूलो खाडललाई पुरेर युद्धलाई रोक्नु छ । अन्याय गर्ने अत्याचारीहरूलाई न्यायको कठघरामा पु¥याउँनु छ । तहतह मिलाउँनका लागि विधिको शासन चलाउनु छ । परन्तु तिमी किताब पढ्दै गर , म व्यवहारमा के भैरहेको छ बुझ्दै गरौंला । म किताब पढ्दै गर्छु , तिमीले समाजमा भएका थिचो मिचोलाई विरोध गर्दै गर । किनहोला, मेरो देशको माटोमा आजकल केही फल्दैन ? परिश्रमका ती हातहरू किन मुग्लान मात्रै पस्दैछ ? रोपेर हेर आफ्नै माटोमा कति फल्दोरहेछ । जोखेर हेर जीवनको लागि जिउँने बाटो यहीबाट चल्ने छ । पैसा छैन मेरो बासित आज, तैपनि माटो खन्ने मेरो शक्ति छ । म सानो भएर के भो ? परिश्रम गर्ने मेरो हातहरू बाँकी छ ।
भैंसी, गाई भेडा चदै
फाँट बगरमा घुम्दै फिर्दै
तह नमिलेको नेपालीको
जीवन पुस्तक पढ यै बाबु ।
तिम्रो बासित पैसा छैन ।
नानाथरीका ज्ञान र बुद्धि पाउनका लागि हामीमा शिक्षाको आवश्यकता छ । नौलो चेतना, ताजा र शुद्धि पाउनका लागि हामीले शिक्षाको ढोका खोल्नु छ । त्यसैले बोधमा बोध थप्न, सोचमा सोच थप्न, क्षमतामा क्षमता बढाउन, ज्ञानमा तेल थप्न, चेतमा चेत थप्न, आत्माले आत्मा बुझ्न, स्वच्छमा स्वच्छता मिलाउन शिक्षा युगौ युगको संवाहक हो । शिक्षा समुद्रको गहिराई हो । हो, हामीमा अनुभूतिको आवश्यकता छ । स्मृतिका पानाहरूलाई सम्झनु छ । अनुभवका केही कुराहरू बुझ्नु छ । सचेतनका केही मार्गहरूमा डुल्नु छ । तब मात्र शिक्षा के हो बुझ्न सकिन्छ । जन्मदेखि मृत्युसम्मका कुराहरू थाहा पाउन सकिन्छ । आज त्यही ढोका मेरो बन्द छ । किनकि मेरो बासित पैसा नभएर ज्ञानको ज्योति पाउन पनि गाह्रो छ ।
नाना थरीका ज्ञान र बुद्धि
नौलो चेतन , ताजा , शुद्धि
लीकन पस्ने ढोका शिक्षा
तिम्रो निम्ति बन्द छ बाबु ।
तिम्रो बासित पैसा छैन ।
तिम्रो बासित पैसा छैन । मेरो बासित पनि पैसा छैन । तर मन त छ । मन भएकालाई ईश्वरले पैसा नदिँदोरहेछ । जहाँ पायो त्यही खर्च गर्लान भनी ईश्वरले पनि किन हो कुन्नी मनका धनीलाई खेल खेल्दोरहेछ । दुई दिनमा एक दिन त पैसा हुनु पर्ने हो । तर रित्तो गाग्री जस्तो, पानी विनाको माछा जस्तो, मरुभूमिको प्यास जस्तो, बालुवै बालुवाको घर जस्तो, कस्तोे कस्तो मनमा मात्र कुरा खेलाए जस्तो, आशै आशमा मात्र फल फले जस्तो यो जीवन के हो के हो ? आँखा भएर पनि ज्ञानको ज्योति नदेखे जस्तो आज मेरो बासित पैसा नभएर दुःख पीडाले बाँचे जस्तो यो जीवन यतिकै बितिरहेको छ । यो जिन्दगी टुक्रा टुक्रा भएर मसानघाटमा निदाउन खोज्दैछ । अभाबमा चाहेजति पैसा नभएर युगकवि सिद्धिचरण श्रेष्ठलाई मान्छेहरू भन्ने गर्छन् तिम्रो बासित पैसा छैन ।

प्रकासित मिति २०७८–२–१८

फेसबुकबाट तपाईको प्रतिक्रिया