युगकवि सिद्धिचरण श्रेष्ठका “राष्ट्रिय गीत”
– स्वयम्भू शाक्य
नेपालभाषा साहित्यका कविरत्न तथा नेपाली साहित्यका युगकवि स्वच्छन्दतावादी सिद्धिचरण श्रेष्ठको नाम साहित्याकाशमासघै अमर र अजर छन् । नेपाली समाजमा जनचेतना जागरण गर्न भए गरेका यथार्थतालाई चित्रण गरि समाजलाई कसरी सुधार गर्न सकिन्छ भन्ने धारणाका साथ मानवीय बेदनाहरू उहाँका थुपै्र कविताहरूमा प्रतिविम्बित भएको देखिन्छ । वि.सं. १९९४ सालमा नेपालभाषामा लिखित “वर्षा” कवितामा “क्रान्ति” र वि.सं. १९९७ सालमा रचित “विश्वव्यथा” कवितामा “हडताल” शब्दको पहिलो उजागर गर्दा राणा शासकले सर्वस्वहरणसहित १८ वर्ष कैद सजाय पाए पनि क्रान्ति र हडतालले मात्र शान्तिको उपासना र आराधना गर्न सकिन्छ भन्ने कविवरको मुख्य अभिप्राय देखिन्छ ।
देशको मोहले होला प्रकृतिको सुन्दर वर्णन गर्दै आफ्नो जन्मभूमि सबैको निम्ति प्यारो हुने भएकोले राष्ट्रप्रेमको भावना सबैमा जागृत हुनुपर्छ । तबमात्र प्रकृति र मानवबीच अलौकिक सम्बन्ध हुन्छ भन्दै मात्रिका छन्दमा वि.संं २००५ सालमा रचेका प्रस्तुत “राष्ट्रिय गीत” कवितामा आफ्नो देशको महिमा गाउँदै देशभक्ति र देशप्रतिको गहिरो चिन्तन ब्यक्त गर्नु भएको पाइन्छ ।
राष्ट्रिय नव निर्माणको स्वप्नलाई साकार पार्न देश प्रेमको आवश्यकता छ । त्यसैले वि.सं. २००५ सालमा रचित “राष्ट्रिय गीत” कवितालाई नेपालको पहिलो राष्ट्रिय गानको रूपमा अंगिकार गरेको देखिन्छ । वि.सं. २००६ साल आश्विन महिनामा बाल–बालिकाहरूलाई देश–प्रेमको भावना जगाउनका निम्ति “बाल सखा” दलको गठन गरि उक्त दलले वि.सं. २००८ साल माघ १७ गते श्रीपञ्चमीका दिन विशेष समारोह गरी “राष्ट्रिय गीत” कवितालाई राष्ट्रिय गानको रूपमा बाल–बालिकाहरूलाई गाउन लागाई हरेक दिन गाउने वातावरण मिलाएका थिए । वि.सं. २०१७ साल अघि “राष्ट्रिय गीत” नामक कवितालाई राष्ट्रिय गीतकोरूपमा प्रसिद्ध गायक समर बहादुर मल्लले गाउनु भएको थियो ।
आमाको जयविना हाम्रो जय हुन सक्दैन । त्यसैले आमाको जय जय गान गाउनु पर्छ । परिश्रमले, अभियानले, आफ्नो कठोर तपस्याको फल पाउनका निम्ति शुभमङ्गग गीत गाउनु पर्छ । खुशीले हर्षित भएर आफ्नो आमाको जय होस् भनी हामीले भित्री हृदयदेखि दुन्दुभीको बाजा बजाउनु पर्छ । किनकि मैले टेक्ने ठाउँ मेरी आमाको काख हो । मैले हेर्ने ठाउँ मेरी आमाको मन हो । त्यसैले आमा ! यो मेरो जूनी मात्र होइन सयौं जूनीसम्म मेरी आमाको माया मेरो मुटुमा टाँसिएर बस्ने छ । आज नभएर के भो ? भोलिका निम्ति हामी सबैले भविष्य कोर्नु छ । दया र मायाले, लालन र पोषणले, सुरक्षा र रक्षाले, हेरबिचार र खुशीले म मात्र होइन मेरी आमाको जीवन पनि धन्य बनाउनु छ । होइन भने म बाँच्नुको अर्थ के हुनसक्छ र ? बाँच्नु जीउनु मात्र होइन । जिउनुका लागि त वृद्ध आमा जस्तो चाउरी परेको मुहार भए पनि चन्द्र जस्तो हाँस्नु पर्छ ।
यो मेरो देश हो । मेरो देशभित्र अन्नपूर्णले भरिएको सगरमाथा छ । ठण्डीले हिउँ जमेर होला आज हेमन्त ऋतुको शोभा हिमगिरिमा पर्दैछन् । विशाल हिमालय पर्वत मुसुमुसु हाँसेर कसले हो कुन्नी मीठो बासनाले मनै रमाउने सुगन्ध छर्केर आज झकिझकाउका साथ थुप्रैं हिमगिरिहरू सिंगारिएर बसिरहेका छन् । शोभाले शोभायुक्त भएर पूर्ण कलश जस्तै सबै ठाउँमा भरिपूर्ण भएर होला मेरी आमा आज सेताम्य भएर निधारमा उषाको टिका लगाई नयाँ बिहानीसंगै शुभ साइतमा शुभ काम गर्दैछिन् । जातपातले होइन, रंगभेदले होइन, धर्म अनुयायीले होइन, बाधा र बिरोधले होइन यो त स्वतन्त्रता हो । खुल्ला आकाशमा सेता परेवा उडेजस्तै आफ्नो इच्छानुसार गन्तब्य खोजे जस्तो सबैले सबैलाई आफ्नो ठानेपछि मेरी आमाको काखमा न आर्य न अनार्य, न बौद्ध न हिन्दू सबै यौटै थलोमा हिड्न सक्छन् । सबै यौटै थलोमा बस्न सक्छन् । मेरी आमाको छाती विशाल भए पछि, मेरी आमाको दया र मायाले संसार जितेपछि अरु के चाहियो र ? सबै कुराहरूको तहतह मिलेर यौटा बलियो पत्रे चट्टान बनेपछि मेरी आमाको मुहार त्यसै हँसिलो भई हाल्छ । त्यसैले आमा हामीले त्यस्तो यौटा गीत गाऔं जुन गीत देशले गाउन सकोस् । आफ्नो मातृभूमिको सेवा बाँचुञ्जेलसम्म सधैं गर्न सकोस् ।
हिमगिरि मण्डित,सुगन्ध सोभित
जय जय आमा नेपाल ।
आर्य अनार्य, बौद्ध र हिन्दू
मिश्रित हाम्रो देश विशाल ।
शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको मेरो देशले असंलग्न र पञ्चशीलको सिद्धान्तलाई आत्मसाथ गर्दै विश्वशान्ति र स्वतन्त्रताको आधारमा प्रेमपूर्वक समान र सद्भावले छिमेकी राष्ट्र चीन र भारतलाई सधैं अङ्कमाल गर्दैछन् । हामीलाई थाहा छ, शान्ति र सद्भाबले मात्र विश्वास जागृत गर्न सकिन्छ । त्यसैले यो अक्षय छ । यो अक्षयभित्र क्षयको कहिल्यै जन्म हुन सक्दैन । नागपास जस्तो बाहुबन्धनले बाँधेपछि म भित्र तिमी बाँच्न सक्छ । तिमी भित्र म पनि बाँच्न सक्छु । जहाँ कुनै भेद्भाव छैन । जहाँ कुनै छुवाछुट छैन । जहाँ कुनै पीडा छैन । जहाँ कुनै बन्धन छैन । त्यहाँ सधैं समानता हुन्छ । त्यहाँ सधैं स्वतन्त्रता हुन्छ । त्यहाँ सधैं शान्ति हुन्छ । त्यहाँ सधैं स्वच्छ वातावरण हुन्छ ।
यो त मन्दिर हो, जहाँ ईश्वरलाई मान्छेहरूले पुजिने गरिन्छ । आफ्नो दुःख र पीडाहरूलाई बिसाएर मुक्तिको मार्ग खोज्छ । ईश्वरलाई दुई थोपा आँसु चढाएर आफ्नो जीवनको गतब्यसम्म पुग्न सरल बाटो खोज्ने गरिन्छ । त्यसैले होला यो मन्दिर मात्र होइन गुम्बा, गिर्जा र मसजिदका अनुयायीहरूले पनि आ–आफ्नो ईश्वरको प्रार्थना गर्दै मन शुद्ध पार्न खोज्र्दैछन् । मन पवित्र पार्न खोज्र्दैछन् । मन पावक बनाउन खोज्र्दैछन् । मनले पतिया लिन खोज्र्दैछन् । आखिर यौटा जीवन न हो, जहाँ सबैले मुक्तिको बाटो रोज्न थाल्छन् ।
चीन र भारत अङ्कमालको
हे अक्षय बाहुबन्धन ।
मन्दिर, गुम्बा, गिर्जा, मसजिद
पावनताको हे जीवन ।
मान्छे सचेत प्राणी हो । त्यसैले यो भवसागरमा मान्छे नब्यूझिने हो भने अरु कोही पनि प्राणीहरू ब्यूझिन सक्दैनन् । त्यसैले सजग भएर क्षण–क्षणमा मायाको यौटा केन्द्रविन्दुमा विम्बित हुन सक्नुपर्छ । अनुरागले, स्नेहले, ममताले, प्रीतिले, हार्दिकयुक्त भावनामा दया र मायाले विम्बितको ठाउँ लिन सक्नुपर्छ । तब मात्र राष्ट्रिय भावनामा राष्ट्रियता झल्किने छ । तब मात्र उच्च कलाले कालिगढहरूको मनोबललाई बढाउन सकिन्छ । तब मात्र यौटा प्राणले अर्को प्राणलाई सद्भाबले चुम्बन गर्न सकिन्छ । तब मात्र समृद्धि र जागृतिले यौटा ठाउँ लिन सकिन्छ । तब मात्र राष्ट्रियताभित्र राष्ट्रिय गीत गाउन सकिन्छ ।
हामी नेपालीहरूले डोको, खुकुरी, खर्पन र टोकरीलाई कहिल्यै पनि बिर्सिन सकिँदैन । किनकि यो नै हाम्रो जीवन पद्धतिको शुरुवात हो । जीवनसंग हिड्ने कुनै पनि वस्तुलाई हामीले चटकै छोड्ने हो भने एकदिन अवश्य पनि जिन्दगीले हामीलाई धिर्काने छ । त्यसैले हामीलाई त्यही ज्यावलहरूकै माया छ । जुन ज्यावलहरूले कला, कौशल र सभ्यतालाई बचाई मेरो देशको प्रगति र उन्नतिका निमित्त थुप्रै कामहरू गरिसकेका छन् । परिश्रमका पसिनाहरू थोपा थोपा चुहिएर होला आजसम्म पनि हामीलाई त्यही ज्यावलहरू प्रति अगाध माया छ, ममता छ, समग्रमा मेरो भन्ने भावना छ ।
कोशी, गण्डकी र कर्णाली नदीले अहिलेसम्म कहिल्यै नबिराईकन आफ्नो नित्य गर्दैछिन् । अनवरत रूपमा दैनिक आफ्नो कामहरू गर्दैछिन् । सरल र सीधा भएर विना छलकपट बाङ्गोटिङ्गो बाटोमा नहिडिएर सोझी कोशी, गण्डकी र कर्णालीहरू कलकल गर्दै लय, ताल र सुर मिलाएर सुत्रबद्ध तरीकाबाट राष्ट्रिय गीत गाउँदैछिन् ।
जाग्रत् क्षणको माया विम्बित
उच्च कलाले चुम्वित प्राण
डोको, खुकुरी, खर्पन, टोकरी
ज्यावलहरूको मुसकान ।
कोशी, गण्डकी, कर्णालीको
नित्य सरल हे कलकल गान ।
संसारमा हामी जुनसुकैं ठाउँमा गए पनि आखिर आफ्नो मातृभूमि भनेपछि सबैलाई प्यारो लाग्नु स्वभाविकै हो । किनकि म जन्मेको देश, जहाँ मेरो आत्मिय सम्बन्ध छ । जहाँ भन्नै नसकिने गहिरो अदृश्य माया छ । प्राकृतिक सौन्दर्यले भरिएको मेरो देशमा अलौकिक सुखानुभूति छ । सबैको जय होस् भन्ने भावनाले बसुधैव कुटुम्बको सम्बन्ध छ । त्यसैले होला देशको माटोले बोले पछि, युगको चेतनाले धपक्क बत्ती बालेपछि , निष्प्राणमा प्राण भरेपछि, सबैले माया गरेपछि अरु के चाहियो र ? हिमगिरि मण्डित सुगन्ध शोभित जय जय आमा नेपाल भनी राष्ट्रप्रेमको भावनाले हामी सबैले एउटै स्वर, ताल र लय्मा राष्ट्रिय गीत गाउने हो भने हामी सबैको भलो मात्र होइन देशको पनि समृद्धि हुने छ । प्रकासित मिति २०८०–१–२८
फेसबुकबाट तपाईको प्रतिक्रिया