योगी आदित्यनाथले उत्तर प्रदेशमा ८ रुपैयाँमा खाना खुवाउने!

लखनउ २६ चैत, (एजेन्सी)
भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशको मुख्यमन्त्री भएपछि योगी आदित्यनाथले लोक कल्याणकारी अवधारणालाई अगाडि सार्दै सर्वसाधारणलाई ८ रुपैयाँमा खाना ख्वाउने महत्वकाक्षी योजना लागु गर्ने भएका छन्।
उनले तमिलनाडुकी पूर्व मुख्यमन्त्री स्वर्गीय जयललितले आफ्नो राज्यमा ‘अम्मा क्यान्टिन’ सञ्चालन गरेको स्तरमा उत्तर प्रदेशमा पनि अन्नपूर्ण भोजनालय सुरुवात गर्न लागेका हुन्। जुन योजनाअनुसार उत्तर प्रदेशका जनताले ४ रुपैयाँ ८० पैसा (भारु ३ ) मा नास्ता र ८ रुपैयाँ (भारु ५) मा खाना पाउने छन्।
अन्नपूर्ण भोजनालयको तयारीको विषयमा राज्यका मुख्य सचिवले मुख्यमन्त्री आदित्यनाथलाई जानकारी गराइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आदित्यनाथले १२ अप्रिलमा तयारीको विषयमा सम्पूर्ण जानकारी लिएपछि लागु गराउने विषयमा निर्णय लिन सक्ने बताइएको छ।
अन्नपूर्ण भोजनालयको योजनाअनुसार बिहान नास्ता, दिउँसोको खाना र रातीको खाना समावेश छ। राज्यभरी कूल २ सय ७५ क्यानटीन खुल्ने र यसका लागि २ सय ४५ दशमलव ७५ करोड रुपैयाँ खर्च हुने बताइएको छ।
योजनाअनुसार एक व्यक्तिको पकेटबाट नास्ता, बिहान र बेलुकाको खानाबापत २० रुपैयाँ ८० पैसा (भारु १३) खर्च हुनेछ। सरकारी विवरणअनुसार सबै जोडेर कूल बजेट ७६ रुपैयाँ ८० पैसा (भारु ४८) हुन आउछ। सरकारले बाँकीको ५६ रुपैयाँ (भारु ३५) तिर्नेछ। जुन सरकार र क्यान्टिन मालिकले मिलेर तिर्नु पर्नेछ।
मध्य प्रदेशमा पनि सरकारले केही दिनअगाडि मात्र ‘दीनदयाल अन्त्योदय रसोई’ योजनाअन्तर्गत ८ रुपैयाँमा खाना ख्वाउन थालेको छ। यो योजना गरिब गाउँहरुलाई ध्यानमा राखेर खोलिने बताइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया