राप्रपा नेपाल पनि सरकारमा जाने

काठमाडौं-१ मङ्सिर

राप्रपासँगको एकीकरणपछि सरकारमा सहभागी हुने राप्रपा नेपालको निर्णयका कारण प्रतिपक्षमा एमाले एक्लिँदै गएको छ । संसद्को चौथो शक्ति राप्रपा नेपाल सत्तामा जान सहमत भएपछि राप्रपासँगको एकीकरण पनि तय भएको छ ।

राप्रपा नेपाल र राप्रपा एकीकरण गरी सरकारमा थप मन्त्री पठाउने विषयमा नेताहरूबीच गोप्य सहमति भएको स्रोतले बताएको छ । यो सहमतिपछि मंगलबार दुई पार्टीका अध्यक्षले संयुक्त विज्ञप्ति प्रकाशित गरी मंसिर ६ मा एकता घोषणाको मिति सार्वजनिक गरेका छन् ।

हाल राप्रपाबाट दुई मन्त्री सरकारमा सहभागी छन् । केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी राप्रपा नेपाल अहिले प्रतिपक्षमा छ । साउन २५ मा एकीकरणको अन्तिम चरणमा पुगेका बेला राप्रपाले सरकारमा पठाएका मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने र नपर्ने विषयमा विवाद भएपछि एकीकरण स्थगित भएको थियो ।

तर यसपटक भने पार्टी एकीकरणपछि सरकारमा थप मन्त्री पठाउने सहमति राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाबीच भएको स्रोतले बतायो ।
स्रोतका अनुसार संविधान संशोधन प्रस्तावको टुंगो लागेपछिमात्र सरकारमा थप मन्त्री पठाइनेछ । दुई नेताबीच नागरिकताभन्दा बाहेक अन्य विषयमा प्रस्तावका पक्षमा उभिने सहमति पनि भएको छ । एकीकरणपछि राप्रपा नेपालका २५ र राप्रपाका १३ गरी ३८ सांसद हुनेछन् ।

एकताका लागि यसअघि नमिलेको भनिएका केही विषयमा समेत सहमति भएको स्रोतले बताएको छ । दुवै नेताले यसअघि विमति भएको भनिएका अन्तरिम विधानमा हस्ताक्षर गरेका छन् । अघिल्लोपटक अध्यक्षलाई अनुशासन समितिको सिफारिस सदर वा बदर गर्ने व्यवस्था भएको र यसपटक भने राष्ट्रिय अध्यक्ष र अध्यक्ष दुवैको सहमतिमा हुने व्यवस्था गरिएको स्रोतले बतायो । सहमतिअनुसार थापाले अध्यक्ष र संसदीय दलको नेताको जिम्मेवारी पाउनेछन् । त्यसैगरी राणाले राष्ट्रिय अध्यक्षको जिम्मेवारी पाउनेछन् । अाजको अन्नपूर्ण दैनिकमा समाचार छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया