राप्रपाको अहिलेसम्म ७० जिल्लामा एकीकरण सम्पन्न

काठमाडौं ५ पौष

-राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म ७० जिल्लामा एकीकरण सम्पन्न गरेको छ।  सो पार्टी तथा राप्रपा नेपालका बीचमा गत मङ्सिर ६ गते एकीकरण भएपछि दुवै पार्टीको जिल्ला तहदेखि नै एकीकरण सुरु गरिएको हो।  गत मङ्सिर २५ गतेभित्र जिल्ला तहको एकीकरण पूरा गर्ने भनिएको भए पनि प्राविधिक कारणले निर्धारित समयमा एकीकरण प्रक्रिया पूरा गर्न नसकिएको पार्टीका महामन्त्री टङ्क ढकालले जानकारी दिए।  विभिन्न १२ जिल्लामा दुई पार्टीका बीचमा कसले नेतृत्व लिने भन्नेबारेमा विवाद समेत भएको थियो। त्यस्ता विवादित जिल्लामा महाधिवेशनको समय अवधिसम्म आलोपालो गरी दुवै पक्षबाट नेतृत्व लिने समझदारी कायम भएको छ।

पार्टीले तत्कालीन पाँचै विकास क्षेत्रमा आधारित भई क्षेत्रीय बैठक तथा सभा समेत सुरु गरिसकेको छ। गत मङ्सिर ३० गतेदेखि यही पुस १८ गतेसम्म बैठक तथा सभा जारी रहने पार्टीका नेता देवेन्द्र प्रधानले जानकारी दिए।  अब करिब एक साताभित्र एकीकरण सम्पन्न गरी महाधिवेशनका लागि प्रतिनिधि छनोटलगायत आवश्यक अन्य तयारी गरिनेछ। आगामी फागुनमा महाधिवेशन गर्नका लागि निर्णय भइसकेको छ।  मुलुकको चौथो शक्तिका रुपमा स्थापित सो पार्टीमा अहिले ३७ सांसद छन्। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया