रौतहटमा एक किशोरीका हात खुट्टा बाँधेर रातभर बलात्कार
सिताराम पौडेल
रौतहट २७ साउन ।
बलात्कारका घटना दिन प्रति दिन सार्बजनिक भएकै छन् रौतहटमा फेरी एक १३ वर्षीया किशोरीलाई रातभरि बन्धक बनाएर एक युवकले बलात्कार गरेको घटना सार्वजनिक भएको छ । पचरुखी गाविसमा खेतमा घाँस काट्न गएकी किशोरीलाई गाउँकै १८ वर्षीय एक युवकले हात खुट्टा बाँधेर रातभर बलात्कार गरेका हुन् । मंगलबार घाँस काट्न गाउँभन्दा पश्चिम राजपुरतुल्सीतिर गएका बेला छतौना टोलका राजेश महराले कोही नभएको मौका छोपेर जबरजस्ती बलात्कार गरेको पीडितले बताइन् ।
घाँस काट्न गएकी छोरी मंगलबार राति अबेरसम्म पनि घर नफर्किएपछि परिवारजन र आफन्तले खोजतलास शुरु गरेका थिए । बुधवार दिउँसो २ बजे साँझ खोला नजिकको धान खेतमा हात-खुट्टा बाँधिएको र अचेत अवस्थामा किशोरी फेला परेकी थिइन् । उनलाई परिवारका सदस्यहरुले घरमा ल्याएपछि उनको होस खुलेको थियो ।
राजेश महराले हात-खुट्टा बाँधेर रातभर बलात्कार गरेको र बिहान उज्यालो भएपछि बाँधेकै अवस्थामा छाडेर फरार भएको किशोरीले आफ्नी आमालाई बताएकी छन् । ‘छोरीले बेलिबिस्तार लगाएपछि घटनाबारे थाहा भयो,’ उनकी आमाले भनिन् ।
पीडितको ठाडो उजुरीका आधारमा प्रहरीले युवकको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया