लघुकथाः शुभकामना !!!

–रवीन्द्र तिमसेना

क्रिसुले हजुरआमा र आफ्नो फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै जन्मदिनको शुभकामना पोस्ट गरी – “ह्याप्पी बर्थडे टु यु माई लभ्ली ग्रान्डमम, मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे । (मेरी प्यारी हजुरआमालाई जन्मदिनको शुभकामना, यस्तो दिन बारम्बार आओस्)” धेरैले लाइक गरे, केहीले कमेन्ट पनि गरे । कमेन्ट गर्नेमध्ये केहीले हजुरआमालाई जन्मदिनको शुभकामना दिए भने धेरैले क्रिसुको नयाँ स्विटरको तारिफ गरे । केही कमेन्टमा क्रिसुले जबाफ दिई त केहीमा लाइक मात्र गरेर अनुग्रह व्यक्त गरी ।
भोलिपल्ट उसले फेरि फोटोसहित नयाँ स्टाटस पोस्ट गरी, “थ्याङ्क्स इभ्रिबडी हु विस्ड फर माइ ग्रान्डमाज ह्याप्पी बर्थडे (मेरी हजुरआमाको जन्मदिनमा शुभकामना दिनुहुने सम्पूर्णमा धन्यवाद) ।” कमेन्टमा कतिले हजुरआमा र नातिनीको जोडी कति मिलेको भनेर लेखे त कतिले क्रिसुले कानमा लगाएको झुम्का कति सुहाएको भन्दै तारिफ गरे । झुम्का लगाएको फोटो उसले पहिलो पटक पोस्ट गरेकाले कमेन्ट गर्नेको निसानामा यस पटक झुम्का प¥यो ।
एक हप्तापछि उसले हजुरआमासँगै बसेर मोबाइल चलाउँदै गर्दा हजुरआमाले आफ्नो फोटो देखेर सोधिन्, “यहाँ त मेरो पनि फोटो रहेछ ।” प्रतिक्रियास्वरूप क्रिसुले भनी, “मैले अस्ति हजुरको जन्मदिनमा शुभकामना दिएकी नि ।” जबाफ नसकिँदै हजुरआमाले भनिन्, “मेरो जन्मदिन थाहा त रहेछ नि मोरीलाई, एक बचन म आपैmलाई जन्मदिनको शुभकामना हजुरआमा भन्न हुँदैनथ्यो ?”
हडबडाउँदै क्रिसुले हतपत जबाफ फकाई, “अनि हजुरले नै किन्द्या होइन त स्विटर र झुम्का ?” हजुरआमा भने फोटो हेर्नै ध्यानमग्न थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया