विश्व तताइरहेको सिरियामा अमेरिका र रुसको जम्काभेट
– पुण्य गौतम ‘विश्वास’
मनमौजी व्यक्तित्व, रंगीन मिजास, अनियन्त्रित वाणी र अप्रत्यासित निर्णयको कारण सन् २०१६ मा अमेरिकी राष्ट्रपति चुनिएका डोनाल्ड ट्रम्प हमेशा विश्व चर्चा र विवादको केन्द्रमा रहन्छन् । अराजनीतिक पृष्ठभूमिका यी विजनेश टाइकुनको हठ शान्त पार्न पछिल्लो समय सिरियामाथि अन्धाधुन्द बमबारी गरियो । स्वतन्त्र सार्वभौम राष्ट्र सिरियामाथि राष्ट्र संघ सुरक्षा परिषद्को स्वीकृति बिना नै आक्रमण गर्नु अन्तर्राष्ट्रिय कानूनको ठाडो उल्लंघन हो । आफ्नो साम्राज्यवादी नीतिको बर्खिलाप रहेका देशहरुमा बलजफ्ती ‘रिजिम चेन्ज’(शासन परिवर्तन) गराउनु अमेरिकाको पुरानो आदत हो ।
लिबियामा कर्णेल गद्दाफी, इराकमा सद्दाम हुुसेन, इजिप्टमा होस्नी मुबारकको शासन पतन गराउन अमेरिकाले साम, दाम, दण्ड, भेद नीतिमा आधारित कन्सपीरेसी थ्योरी(षडयन्त्रको सिद्धान्त) प्रयोग गरेकै हो ।
यतिबेला अमेरिकाको मुख्य टेन्सन भनेको शीतयुृद्धकालको प्रतिद्वन्द्वी सोभियत संघको रुसी महाशक्तिको रुपमा पुनरोदय हो । सर्वाधिक शक्तिशाली र दूरदर्शी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनजले सोभियत वैभवलाई ब्यूँझाउँदै रुसलाई पुनः आणविक महाशक्ति बनाएपछि पश्चिमाहरुले सन्तुलन गुमाएका छन् । झन् समाजवादी उत्पादन सम्बन्ध र शान्तिपूर्ण नयाँ विश्व व्यवस्थाको निम्ति रुस र चीनले रणनीतिक साझेदारीमार्फत विश्वका धेरै देशहरुसंग सहकार्य बढाएपछि अमेरिकी नेतृत्वको पश्चिमा जगतमा हाहाकार मच्चियो ।
चिनिया राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति पुटिनले आर्थिक महाशक्ति र परमाणु महाशक्तिको न्यानो मित्रता प्रकट गरेपछि अमेरिकालाई विश्व महाशक्तिको तागत देखाउने बहाना चाहिएको थियो । त्यसैले रुससंग गहिरो मित्रता रहेको सिरियामाथि धावा बोलेर मध्यपूर्वमा पुटिनका खास मित्र राष्ट्रपति बसर अल असदलाई खेद्ने ट्रम्प मिसन कार्यान्वयन गर्न खोजियो । ट्रम्पसंग हातेमालो गर्दै बेलायती प्रधानमन्त्री थेरेसा मे र फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले समेत मिसाइल, ट्याङ्क र फाइटर जेट सिरिया पठाएर विश्व शान्तिमा आघात पु¥याए । रुसी समाचार संस्था इन्टरफ्याक्स र सोभियत टिभीले गरेको दाबीलाई पत्याउँदा सिरियामा रुसले एन्टी मिसाईल प्रयोग गरी १०३ क्षेप्यास्त्र मध्ये ७३ वटालाई खसालिदियो । चीन, इरान, लेबनान, उत्तरकोरियाले रुसी बोलीमा लोली मिलाउँदै सिरियामाथि आक्रमणको निन्दा गरे । आक्रोशित मुद्रामा पुटिनले सिरियामाथि फेरि आक्रमण भएमा विश्वयुद्धको सामना गर्न पश्चिमालाई चुनौती दिए । यिनै कारणले कतै तेस्रो विश्वयुद्ध त भड्किने हैन भनेर विश्व जनमत सन्त्रस्त छ ।
फ्रान्सेली उपनिवेशबाट मुक्त भएर सन् १९४५ अक्टोबर २४ मा सिरिया संयुक्त राष्ट्र संघको संस्थापक सदस्य राष्ट्र हुनपुग्यो । सन् १९५८ मा युनाइटेड अरब रिपब्लिक हुनपुगेको सिरिया सन् १९६१ को ‘कू’ पछि ‘अरब रिपलिब्लक अफ सिरिया’ बन्न पुग्यो । सन् १९४९ देखि १९७१ सम्म सिरियामा कयौं पटक सैनिक ‘कूू’ भए । तर सन् १९७१ मा वाथ पार्टीको तर्फबाट देशभक्त र विकासप्रेमी हाफेज अल असद सत्तामा आएपछि उनले आधुनिक सिरियाको निर्माण गरे । अपार जनसमर्थन प्राप्त हाफेजले तीस बर्षे स्थिर शासनकालमा सिरिया विकसित भयो ।
खासमा हाफेजका उत्तराधिकारी मानिएका जेठा छोरा वासिल अल असद सन् १९९४ मा कार दुर्घटनामा मारिएपछि उनका भाई अल असद सन् २००० मा सिरियाको राष्ट्रपति चुनिएका हुन् । इरान र रुसको स्टे«टिजिक पार्टनर सिरियामा लिबिया, ट्यूनिसियाजस्तै कथित ‘जस्मिन रेभोलुसन’मार्फत सत्ता परिवर्तन गर्न खोजेका पश्चिमाहरु त्यहाँ दलाल शासक खडा गरेर मध्यपूर्वको तेल कब्जा गर्न चाहन्छन् । सन् २०१२ मा ‘फ्री सिरियन आर्मी’ खडा गरेर असदलाई गद्दी च्यूत गर्न खोजियो । अमेरिकी हतियार र पैसाको बलमा असद माथि जाइलाग्ने मुस्लिम अतिवादीकै गर्भबाट ‘आइएस’ जस्तो खतरनाक आतंकवादी जन्मिएर विश्व शान्तिलाई चुनौती दिंदैछ ।
पश्चिमा आशीर्वादले जन्मिएको भष्मासुर आइएसलाई यतिबेला रुसले एक हदसम्म कन्ट्रोल गरेको छ । इरान र लेबनान समर्थिन हेजबुल्लाह छापामार समूहले असद सत्ता जोगाउन रुससंग काँध मिलाएका छन् । हमास, हज्बे इस्लामिक मोक्तादा अले सद्र समर्थिन लडाकू समूहले पनि मध्यपूर्वमा पश्चिमा हस्तक्षेपविरुद्ध जेहाद छेडेका छन् । आतंकवादको खिलापमा लडिरहेको दाबी गर्ने टर्किस राष्ट्रपति रेसेप तैयद यर्दाेगान भने सिरियाली बसर सत्ता प्रति वक्रदृष्टि राख्छन् ।
इरानी सर्वाेच्च धर्मगुरु आयातुल्लाह अली खुमेनीले सिरियामाथिको आक्रमणलाई सैन्य अपराध भनेका छन् । रुसी विदेशमन्त्री सेर्गेई लाभारोभका अनुसार पश्चिमाहरु आफैंले रासायनिक हतियार प्रयोग गरेर असदविरुद्ध अभियोग थोपर्दै नाटकीय हमला गरेका हुन् । सन् २०१८ को अप्रिल १५ को झिसमिसे बिहानीमा ४५ मिनेटसम्म बमबारी गरियो । सिरियास्थित उत्तरपूर्वी होम्स सहरको सरकारी शैन्य शिविरमा साइप्रसस्थित अमेरिकी जंगी बेडाबाट क्षेप्यास्त्र प्रहार गरियो । त्यस्तै, ‘मेडिटेरियन सी’ मा अवस्थित थप सब–म्यारिन जहाजमा भएका लडाकू जेटहरुले राजधानी दमास्कसकै दुई शैन्य शिविर नजिकका साइन्टिफिक रिसर्च सेन्टरमा मिसाइल प्रहार गरेका थिए ।
सन् १९९१ ताका खाडीयुद्ध सञ्चालन गर्ने सिनियर जर्ज बुशको सिको गर्दै ट्रम्पले ट्वीटरमार्फत मिसन पूरा भएको सन्देश दिए । नाटो, यूरोपियन यूनियन, इजरायल, क्यानडाले ट्रम्पलाई समर्थन गर्ने नै भए । बेन्जामिन नेतान्याहुभन्दा ज्यादा हौसिएर चौथो चरणको निम्ति जर्मन चान्सलर चुनिएकी एन्जेला मर्केलले सिरियामाथिको अमेरिकी हमलालाई उचित र आवश्यक भएको बयान दिइन । तर चीन, रुस, इरान, लेबनान, इराक, डिपीआर कोरियालगायतका देशहरुले भने आक्रमणको कडा भत्र्सना गरे । त्यसो त जम्मा ३ जनाको हताहती भएको उक्त आक्रमणले व्यापक जनधनको क्षति त गरेन ।
राष्ट्रसंघका महासचिव एन्टेनियो गुर्टरेजले आक्रमणको निन्दा त गरिटोपले । तर स्वतन्त्र देशमाथिको हमलाविरुद्ध खेत प्रस्ताव पारित गरौं भन्ने रुस र चीनको आग्रहलाई पश्चिमा स्वार्थको ढाक्रे बनेर सुनेको नसुनै गरे । ‘तिमीले बगैंचाका फूलहरुलाई कुल्चिन सक्छौ तर वसन्तको आगमनलाई कहा“ रोक्न सक्छौ’ भन्ने कवि पिभी शेलीको विश्वविख्यात कवितांशलाई खुब मन पराउने बेलायती प्रतिपक्ष लेबर पार्टीका मुख्य नेता जेरमी कोर्बिनले युद्धपिपाशु थेरेसा मे को झाँकोझार्दै अमेरिकी मिसनमा साथ दिनु ‘ब्लन्डर’ हो भनेका छन् । कोर्बिन ‘यो समय युद्धको हैन, शान्तिको हो भन्ने स्पष्ट मान्यता राख्दछन् ।
इराक, सिरिया, इजिप्टमा स्थापित मुस्लिमहरुको तुलनात्मक प्रगतिशील पार्टी वाथलाई धर्म निरपेक्ष र समाजवादमुखी दल मानिन्छ । आधुनिकताका पक्षधर वाथवालाहरु सम्भवतः शीतयुद्धकालमा सोभियत धुरीमा खडा भए । त्यसपछि स्वतः अमेरिकी आ“खाको कसिंगर बनेका तिनले आजपर्यन्त त्यसको मूल्य चुकाउनु परेको छ । विश्वप्रसिद्ध अखबार गार्जियनकी स्तम्भकार पोलि तोएनबीको दाबी अनुसार सन् २०११ यता सिरियामा जारी गृहयुद्धमा ५ लाखले नै ज्यान गुमाइसके, ६० लाख शरणार्थीको रुपमा विस्थापित भइसके र २० लाखभन्दा बढी सिरियाली घाइते छन् ।
कुनै समय रुस र बेलायतमा आँखाको डाक्टर भएर भाग्य अजमाउन हिंडेका बसर नियतिले आज गृहयुद्ध सामना गरिरहेको सिरियाको प्रमुख कमाण्ड सम्हाल्दैछन् । सन् २०१० सम्म भूस्वर्ग कहलाएको सिरिया आज युद्धको चपेटामा खण्डहर त हुँदैछ । कतै सिरियाबाट तृतीय महायुद्ध त थालिने हैन भनेर विश्व सन्त्रस्त छ । उत्तर कोरियाली शासक किम जोङ उनलाई आगामी वार्तामा ‘साइज’ मा ल्याउन ट्रम्पले यस्तो नाटक गरेको अनुमान पनि गरिदैछ ।
शान्तिपूर्ण वार्ताको माध्यमद्वारा सिरिया मामिला सल्टाउन अमेरिकालगायत पश्चिमाहरु पश्चातापसहित पछाडि हट्नुको कुनै विकल्प छैन । त्यसैगरी रुस, चीन, इरान, लेबनान, इराकलगायतका सिरियाका ‘एलाई’ देशहरुले पनि सिरियामा युद्ध समाप्त पारी स्थायी शान्ति बहाली गर्न थप योगदान पु¥याउनुपर्छ । असंलग्नता र पञ्चशीलको नीति अपनाउने हामी युद्धभूमिका शान्तिप्रिय नेपालीहरुको यही कामना छ । छिटोभन्दा छिटो सिरिया युद्धको दलदलबाट उम्किएर विकासको पथमा लम्कियोस् ।
(गौतम एमालेका युवा नेता तथा बिजनेसपाटी डटकमद्धारा सञ्चालित बिजनेसपाटी टिभि टक शोका सञ्चालक हुन् )
प्रकाशित मिति २०७५-१-१८
फेसबुकबाट तपाईको प्रतिक्रिया