विश्वमा सकियो तेल भण्डारण क्षमता, मूल्यमा लगातार गिरावट
एजेन्सी १५ बैशाख,२०७७
विश्वभर नै तेलको भण्डारण क्षमता समाप्त हुँदै गएको छ । कोरोना भाइरसका कारण तेलको मागमा अत्यधिक कमी तथा मूल्यमा गिरावट आइरहे पनि उत्पादन कटौती नहुँदा भण्डारण क्षमता सकिँदै गएको हो ।
तेल उत्पादन जारी रहँदा अमेरिकी तेल बजार घाटामा जान थालेको छ । १७ अप्रिलसम्ममा मात्रै अमेरिकामा कच्चा तेल भण्डार बढेर ५१८.६ मिलियन ब्यारेल भइसकेको थियो । यो अहिलेसम्मको उच्चतम भण्डार हो ।
सन् २०१७ मा हालसम्मकै रेकर्ड ५३.५ करोड ब्यारेल भण्डारण क्षमता थियो । अस्थायी कच्चा तेल हालसम्मको सबैभन्दा बढी १६ करोड ब्यारेल पुगिसकेको छ ।
अमेरिकाको पश्चिम टेक्सासको तेल कारोबारमा १.२२ डलर अर्थात ७.२ प्रतिशतले गिरावट आएर १५.७२ प्रतिब्यारेल भइसकेको छ ।
यस्तै, ब्रेन्टको कच्चा तेलको मूल्यमा ३३ सेन्ट अर्थात १.५ प्रतिशतको गिरावट आएको छ र यो २१.११ प्रतिब्यारेल हो ।
विश्व लकडाउनका कारण तेलका मागमा ३० प्रतिशतभन्दा बढीले गिरावट आएको छ । महामारीका कारण आगामी महिना पनि तेलको मागमा कमी आउने देखिएको छ ।
कोरोना भाइरसका कारण यस वर्ष विश्व अर्थतन्त्रमा करिब २ प्रतिशतले कमी हुने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया