वीरगन्जका विवरण अब गुगल म्यापमा

काठमाडौं,१४ मंसिर  ।

नेपालमा प्रमुख व्यापारिक नगर वीरगन्जका सवै विवरण गुगल म्यापमा समेटिने भएको छ । स्मार्ट सिटीको अवधारणासँगै अगाडि बढेको वीरगन्ज महानगरपालिका भित्रका अव सार्वजनिक स्थल, अस्पताल, सडक, बसपार्क, स्कुल कलेजदेखि महत्वपूर्ण स्थललाई पहिलोपटक गुगल म्यापिङमा राखिँदै छ । यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

आइतबारदेखि वीरगन्जलाई गुगल म्यापिङका साथै अनलाइन पेमेन्टको प्रक्रिया अगाडि बढाउने तयारी भएको छ । यससँगै ‘गेट वे अफ नेपाल’ भनिने वीरगन्ज डिजिटल कारोबारमा पनि अगाडि बढेको छ ।

सरकारले पछिल्लो पटक वीरगन्जलाई महानगरपालिका घोषणा गरेको थियो । पछिल्लो महानगर भए पनि वीरगन्जवासीले अरु महानगरवासीका तुलनामा छिटो डिजिटल महानगरका सुविधा पाउने छन् । वीरगन्जका मेयर विजय सरावगीको चुनावी एजन्डा पनि स्मार्ट वीरगन्ज नै थियो ।

अब वीरगन्जमा पहिलोपटक गुगलम्यापिङ, बिजुलीको बिल र अनलाइन किनमेल हुँदै शिक्षा, स्वास्थ्य, जन्मदर्तादेखि मृत्युदर्तासम्मका विवरणहरू डिजिटल प्रविधिमा रूपान्तरण हुनेछन् । अनलाइन पेमेन्ट, गुगलमा नक्साको जानकारी र बिल भुक्तानी सम्बन्धमा जानकारी गराउने उद्देश्यले दुई सयभन्दा धेरै गृहिणीहरूलाई तालिम समेत दिइएको छ । तालिमका लागि राजधानीबाट सम्बन्धित विषयमा दक्ष युवाहरू एक सातादेखि वीरगन्जमै छन् ।

सवै वडा कार्यलयहरूलाई अनलाइनमा जोड्ने, महानगरबाट हुने कामहरू अनलाइनमार्फत गर्ने र सरकारले स्थानीय तहलाई उपलब्ध गराएको सफ्टवेयर पनि प्रयोग गरिने बताएका छन् । केही समयपछि ‘नो योर वीरगन्ज’का कार्यक्रम पनि सार्वजनिक गरिने उनले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया