शान्ति सम्झौताका लागि छलफल गर्न साउदी अरब र कतार सबैभन्दा अगाडि

रियाद, फागुन २७ । रुस र युक्रेनबीच भइरहेको युद्ध रोक्ने विषयमा युक्रेनी र अमेरिकी अधिकारीहरूबिच मंगलबार साउदी अरेबियामा छलफल हुँदैछ । आज (मंगलबार) हुने वार्ताका लागि साउदी अरेबियालाई किन रोजियो भन्ने प्रश्न जनमानसमा उब्लिनु स्वाभाविक नै हो । साउदी अरबका युवराज मोहम्मद बिन सलमानको सम्बन्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवैसँगको राम्रो हुनुले पनि कतै न कतै यो भूमिकामा उसको चासो हुनुलाई सकारात्मक रुपमा लिन सकिन्छ ।

साउदी अरेबियाले रुस र युक्रेनबिचको द्वन्द्वमा मध्यस्थकर्ताको रूपमा सक्रिय भूमिका खेल्ने र अर्को छिमेकी मुलुक कतार पनि विगत दुई दशक यता विश्वभर मध्यस्थकर्ताको रूपमा देखा पर्दै आएकोले यी दुई देशले युद्धविरामका बाटो खोल्न मध्यस्तकर्ताको भूमिका निर्वाह गर्न सक्ने देखिन्छ ।

कतारले इजरायल र हमासबिच गाजामा युद्धविराम गराउन महत्त्वपूर्ण भूमिका खेलेको छ । यसअघि पनि कतारले आफ्नो मध्यस्थतामा धेरै शान्ति सम्झौता गराइसकेको छ । अन्तर्राष्ट्रिय शान्ति सम्झौताका लागि आखिर किन साउदी अरेबिया र कतारलाई मात्र रोजिन्छ रु यसले दुई देशबिच शत्रुता निम्त्याएको त छैन रु प्रश्न उठ्नु स्वाभाविक हो ।

साउदी अरबको भूमिका
साउदी अरबले हुथी विद्रोहीहरूमाथि हवाई आक्रमण र गोलाबारी गर्दै यमनको गृहयुद्धमा हस्तक्षेप गरेको थियो ।

दशकौँसम्म आफ्नो आक्रामक रवैयालाई कायम राखेपछि साउदी अरबले शान्ति सम्झौता गराउने भूमिका निर्वाह गरेको छ ।
२०१५ मा साउदी अरेबियाले यमनको गृहयुद्धमा त्यहाँको मौजुदा सरकारलाई समर्थन गरेको थियो । उसले सरकारविरुद्ध लडिरहेका हुथी विद्रोहीहरूमाथि हवाई आक्रमण र गोलाबारी गरेको थियो ।

२०१७ मा लेबनानी सरकारले साउदी अरेबियामाथि आफ्ना प्रधानमन्त्री सैयद अल–हरिरीलाई हिरासतमा लिएको आरोप लगायो । साउदी अरेबियाले आफ्नो प्रधानमन्त्रीलाई मुद्दा चलाएर राजीनामा दिन बाध्य पार्न खोजेको लेबनानको आरोप थियो ।

२०१८ मा साउदी सरकारका मुखर आलोचक पत्रकार जमाल खाशोग्गीको इस्तानबुलस्थित साउदी अरेबियाको दूतावासमा हत्या गरिएको थियो ।

वासिङ्टनस्थित मध्यपूर्व इन्स्टिच्यूटका पल सलेमले बीबीसीलाई भने, ‘मोहम्मद बिन सलमानको नेतृत्व शैलीले सुरुमा द्वन्द्व सिर्जना गर्‍यो । यद्यपि, अब साउदी अरेबियाको नेतृत्वले द्वन्द्व बढाउनुको सट्टा शान्तिको लागि मध्यस्थता गरेर ठुलो भूमिका खेल्न सकिन्छ भन्ने महसुस गरेको छ ।’

मध्यपूर्व मामिलाकी विज्ञ तथा अमेरिकी थिंक ट्याङ्क वाशिंगटन इन्स्टिच्युटसँग सम्बद्ध एलिजाबेथ डेन्टका अनुसार साउदी अरेबियाको उद्देश्य मध्यपूर्वमा स्थिरता प्रवर्द्धन गर्नु हो । यसैकारण उसले शान्ति सम्झौतामा मध्यस्थता गरिरहेको डेन्टको भनाइ छ ।

वास्तवमा यो उसको सुनियोजित रणनीतिको हिस्सा रहेको डेन्टको बुझाइ छ । डेन्टका अनुसार साउदी अरेबिया अब तेल निर्यातमै निर्भर आफ्नो अर्थतन्त्रको विकल्प खोज्न चाहन्छ । अर्थतन्त्रका नयाँ क्षेत्रहरू विकास होस् भन्ने चाहन्छ । यसका लागि उसले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न चाहेको छ । मध्यस्थताको भूमिका खेल्नु पछाडिको रणनीति यही हो ।

सम्झौता गराउन साउदी अरबलाई कति सफलता ?
साउदी अरेबियाले विगत केही दशकदेखि शान्ति सम्झौताहरूमा मध्यस्थता गर्दै आएको छ ।

१९८९ मा उसले लेबनानमा लडिरहेका संगठनहरू बिच सम्झौताका लागि मध्यस्थता गर्‍यो । यो मध्यस्थताले ताएफ सम्झौताको लागि मार्ग प्रशस्त गर्‍यो, जसले १९९० मा १५ वर्ष पुरानो गृहयुद्ध अन्त्य भयो ।

२००७ मा साउदी अरेबियाले मक्का सम्झौता गरायो, जसले प्यालेस्टिनी समूह हमास र फतहबिचको शत्रुता समाप्त भयो ।
अब फेरि एकपटक राजकुमार मोहम्मद बिन सलमानको नेतृत्वमा साउदी अरेबियाले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दैछ ।

साउदी अरेबियाले २०२२ देखि यमनमा शान्ति स्थापनाको प्रयास गरिरहेको छ । साउदी अरेबियाले त्यहाँ गृहयुद्ध अन्त्य गर्न हुथी विद्रोहीहरूसँग धेरै चरणमा वार्ता गरिसकेको छ ।

सुडानको सेना र विद्रोही समूह ‘र्‍यापिड सपोर्ट फोर्सेस’ बिच मेलमिलाप गराउन साउदी अरेबियाले दुवै पक्षसँग धेरै चरणमा वार्ता गरिसकेको छ ।

साउदी अरेबियाको मध्यस्थतामा २०२२ मा रूस र युक्रेनबिच २५० भन्दा बढी युद्धबन्दीहरू आदानप्रदान गर्ने सम्झौता भएको थियो ।

शान्ति सम्झौतामा कतारको भूमिका
यस वर्ष जनवरीमा इजरायल र हमासबिच भएको युद्धविराममा इजिप्ट र अमेरिकासँगै कतारले महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

सन् २०२० मा कतारले तालिबान र अमेरिका बिचको सम्झौतामा महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
यो सम्झौतापछि मात्र अमेरिका र तालिबान बिचको १८ वर्ष लामो युद्ध समाप्त भयो । यसपछि अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता बोलायो र अफगानिस्तानमा तालिबानले कब्जा गर्‍यो ।

२०१० मा कतारले हुथी विद्रोही र यमनी सरकारबिच सम्झौता गराएको थियो तर, पछि यो सम्झौता तोडियो ।

कतारले अफ्रिकामा पनि कैयौँ शान्ति सम्झौतामा मध्यस्थता ग‍र्‍यो । २०२२ मा कतारले चाड सरकार र धेरै विपक्षी समूहहरू बिच सम्झौता गरायो ।

२०१० मा कतारले सुडानी सरकार र डार्फरमा सक्रिय सशस्त्र समूहहरू बिच शान्ति सम्झौता गरायो ।

२००८ मा कतारले लेबनानमा लडिरहेका विद्रोही समूहहरू बिच सम्झौता गरायो । यो सम्झौता त्यस्तो समयमा गरिएको थियो, जब देश गृहयुद्धको सँघारमा थियो ।

शान्ति सम्झौता किन गराउन चाहन्छ कतार ?
१९९५ मा हमाद बिन खलिफा अल थानी कतारको शासक बने । यससँगै कतारले शान्ति सम्झौतामा महत्त्वपूर्ण भूमिका खेल्न थाल्यो । अल थानी २०१३ सम्म सत्तामा रहे ।

मध्यस्थकर्ताको भूमिका खेल्नुको पछाडि कतारको एउटा महत्त्वपूर्ण उद्देश्य थियो ।

कतारको खाडीमा ठुलो मात्रामा ग्यास भण्डार छ । यिनीहरूलाई नर्थ होम र साउथ पार्स फिल्ड भनिन्छ । सन् १९९० मा यी ग्यास भण्डार पत्ता लागेका थिए ।

लन्डनको रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटका डा। एचए हेलियरका अनुसार यो ग्यास भण्डार कतार र इरान दुवैको जल क्षेत्रमा फैलिएको हुनाले इरानसँग सहकार्य गर्नु उसको बाध्यता थियो ।

त्यसबेला इरान र साउदी अरेबियाबिच दुश्मनी थियो । डा. हेलियरका अनुसार जब कतारले आफ्नो क्षेत्रमा ग्यास पत्ता लगायो, तब उसले यसको दोहनका लागि बाटो खोज्नुपर्ने महसुस गर्‍यो । त्यसैले उसले मध्यस्थकर्ता बन्ने बाटो रोजेको हेलियरको तर्क छ ।

डा। हेलियरका अनुसार विभिन्न देशहरू बिच शान्ति सम्झौतामा मध्यस्थता गर्न सकेमा धेरै देशसँगको आफ्नो सञ्जाल विस्तार हुने र यसले आफ्नो समर्थन बढाउन सक्ने कतारको विश्लेषण थियो ।

२००४ मा कतारले अपनाएको संविधानमा मध्यस्थताको भूमिका पनि समेटिएको छ ।

डा. सलेम भन्छन्, ‘कतारले अन्तर्राष्ट्रिय मुद्दाहरूमा मध्यस्थकर्ताको भूमिकालाई आफ्नो राष्ट्रिय ब्रान्ड बनाएको छ । यसले आफूलाई एउटा यस्तो देशको रूपमा प्रस्तुत गरेको छ, जसलाई अन्य देशहरूले सम्झौतामा पुग्न प्रयोग गर्न सक्छन् ।’

साउदी अरब र कतारबिच मतभेद
धेरै देशले कतारलाई मध्यस्थताका लागि रोज्छन् किनभने उसको त्यस्ता संस्थाहरूसँग पनि सम्बन्ध छ, जोसँग साउदी अरेबिया र अरब संसारका अन्य देशहरू कुरा गर्न चाहँदैनन् ।

डा. सलेम भन्छन्, ‘साउदी अरेबिया हमास, मुस्लिम ब्रदरहुड जस्ता इस्लामिक समूहहरूको विरुद्धमा छ तर कतारको उनीहरूप्रति त्यस्तो शत्रुता छैन ।’

सलेमका अनुसार तालिबानसँगको सम्बन्धका कारण कतारले अमेरिका र तालिबानका बिच पुलको रूपमा काम गर्‍यो । कतारले हमास र इजरायल दुवैसँग सम्बन्ध कायम राखेको छ । यही कारणले गर्दा उसले युद्धविराम गराउन महत्त्वपूर्ण भूमिका खेल्यो ।

एलिजाबेथ डेन्ट भन्छिन, ‘शान्तिको मध्यस्थता गर्ने सन्दर्भमा साउदी अरेबियाको दृष्टिकोण रूढीवादी छ भने कतारले अपरम्परागत दृष्टिकोण अपनाउँछ ।’

यद्यपि, मुस्लिम ब्रदरहुड जस्ता संस्थाहरूलाई समर्थन गरेकोमा साउदी अरेबिया कतारसँग रिसाएको छ । साउदी अरेबियाले आफ्नो सत्ताका लागि मुस्लिम ब्रदरहुडलाई खतरा मान्दछ ।

डेन्टले भनिन्, ‘जब २०१० र २०११ मा धेरै अरब देशहरूको सरकारविरुद्ध अरब स्प्रिङ्ग जस्तो जनविद्रोह भयो, कतारले सिरिया र लिबियाजस्ता देशहरूमा विद्रोहीहरूलाई खुलेआम समर्थन गर्‍यो । कतारले के चाहन्छ भन्ने बारे यसले स्पष्ट पार्‍यो ।’

यसले २०१७ को ‘खाडी विवाद’ लाई जन्म दियो । यसैकारण साउदी अरेबिया र मध्यपूर्वी देशहरूले कतारसँगको सम्बन्ध तोडेका थिए ।

यही टकरावका कारण कतारलाई कुनै पनि सम्झौताको प्रयास गर्नुअघि आफ्ना छिमेकीहरूको भावना बुझेर सावधानीपूर्वक कदम चाल्न बाध्य तुल्याएको डेन्टको भनाइ छ ।

त्यसैले अतिवादी समूहहरूलाई वार्ताको टेबलमा ल्याउन कतारले धेरै सफलता नपाए पनि बढी निष्पक्ष मध्यस्थकर्ता बनेको उनको भनाइ छ ।

डेन्टले भनिन्, ‘अब कतार साउदी अरेबियासँग प्रतिस्पर्धा गर्न चाहँदैन, न त साउदी अरेबियाले कतारको वार्ता प्रयासमा हस्तक्षेप गर्छ ।’ तर संसारमा अझै पनि पर्याप्त द्वन्द्व चलिरहेका छन्, जसले गर्दा संसारका दुवै मध्यस्थकर्ता मुलुक (साउदी अरेबिया र कतार)लाई व्यस्त राख्न पर्याप्त रहेको उनको भनाइ छ । एजेन्सी

बीबीसी हिन्दीबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया