शिवरात्रिमा राष्ट्रिय लोकभजन प्रतियोगिताले नयाँ रौनक थप्यो
काठमाडौँ २१ फागुन
बागलुङ -काठेखोला गाउँपालिका–५ बिहुँस्थित त्रिपुरेश्वर महादेव मन्दिरमा अघिल्ला वर्षका शिवरात्रिमा भन्दा यो वर्ष भिन्नै चहलचहल देखिन्थ्यो । शिवरात्रि पूजाआजामा मात्र सीमित थिएन । पहिलोपटक आयोजना गरिएको राष्ट्रिय लोकभजन प्रतियोगिताले नयाँ रौनक थपेको थियो । मेला, महोत्सवकै झल्को दिने प्रतियोगितामा भक्तजन/दर्शक खुलेर रमाएका थिए । भजनको तालमा नाचेर आनन्द लिने भक्तजन पनि उत्तिकै देखिन्थे । कोही भजनमा व्यक्त कथा, प्रसङ्गलाई ध्यानपूर्वक सुनिरहेका थिए । प्रतियोगितामा सहभागी भजन समूहले भगवान शिव, कृष्ण चरित्रदेखि रामायण, महाभारत आदिका कथाभावलाई अभिनयमा उतारेका थिए ।
धर्म, संस्कृतिसँगै सामाजिक विषयलाई उठान गरेर गाउने भजन समूहहरु पनि उत्तिकै थिए । बिहुँकोट खेलकूद तथा समाज विकास केन्द्रले आयोजना गरेको प्रतियोगितामा बागलुङसँगै छिमेकी पर्वत र म्याग्दीका गरी १५ समूहले भाग लिएका थिए । संस्कृति संरक्षण र उत्थानको उद्देश्यले प्रतियोगिता आयोजना गरिएको केन्द्रका अध्यक्ष कृष्ण कँडेलले बताउनुभयो । “त्रिपुरेश्वरधामको प्रवद्र्धनमा पनि प्रतियोगताले टेवा पु¥याउने हाम्रो विश्वास छ”, उहाँले भन्नुभयो । मौलिक संस्कृतिको ज्ञान र शिल्प नयाँ पुस्तामाझ ल्याउन पनि यस किसिमका कार्यक्रम गरिनुपर्ने उहाँको भनाइ छ । भजन प्रतियोगिताले परम्परा र संस्कृतिको महत्व झन् बढाएको गायक एवं राष्ट्रिय भजन चुट्का समितिका अध्यक्ष प्रजापति पराजुलीले बताउनुभयो । उहाँले पछिल्लो समय अन्य विधाका कलाकार पनि भजनमा आकर्षित भएको उल्लेख गर्नुभयो । “हामीले मौलिकता जोगाउनुपर्छ”, उहाँले भन्नुभयो, “लोकभजन हाम्रो सभ्यता र संस्कृतिसँग जोडिएको विषय हो ।” पछिल्लो समय देशका विभिन्न ठाउँमा भएका भजन प्रतियोगिताले नयाँ जागरण ल्याएको उहाँको भनाइ छ ।
प्रतियोगितामा बागलुङ, जैमिनी नगरपालिकाको जैमिनी सङ्कीर्तन समूह प्रथम, पर्वतको पार्वती गुफा भजन कीर्तन समूह द्वितीय, अमर मावि बिहुँ तृतीय र शिव मन्दिर भजन समूह सान्त्वना भएका छन् । विजयी हुनेले क्रमशः रु ५०, ३०, २० र १० हजार पुरस्कार प्राप्त गरेका छन् । विसं २०३३ मा स्थापना भएको त्रिपुरेश्वर महादेव मन्दिर रामकोटधामको रूपमा समेत परिचित छ । जिल्लाकै महत्वपूर्ण धार्मिक गन्तव्य बन्दै गएको मन्दिरमा वर्षेनी शिवरात्रिमा विशेष मेला लाग्ने गर्छ । मन्दिरसँगै संस्कृत पाठशाला पनि सञ्चालनमा रहेको भाष्करानन्द स्वामीले बताउनुभयो । मन्दिरमा सन्त भवनलगायत पूर्वाधार निर्माणाधीन अवस्थामा छन् । त्रिपुरेश्वर महादेवको पुरानो मन्दिरलाई जीर्णोद्धार गरी विसं २०६६ मा नयाँ मन्दिर निर्माण गरिएको हो । धार्मिकसँगै प्राकृतिक र सांस्कृतिक सौन्दर्यमा रमाउन चाहने पर्यटकलाई रामकोट क्षेत्रले लोभ्याउने गरेको छ । पर्यटकलाई लक्षित गरेर मन्दिर नजिकैको गाउँमा हालैमात्र ‘शिवधुरी’ सामुदायिक घरबास ‘होमस्टे’ समेत सञ्चालनमा ल्याइएको छ । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया