संविधान संशोधन गरेर निर्वाचनः प्रधानमन्त्री दाहाल

काठमाडौँ १५ कार्तिक

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गरेर निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् ।

न्हुदँ समारोह समितिद्वारा आज यहाँ नेपाल संवत् ११३७ को अवसरमा आयोजित सांस्कृतिक ¥यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन र निर्वाचनका लागि सबै राजनीतिक दल एक हुनु जरुरी रहेको बताए ।

खासगरी विनाशकारी भूकम्पपछि जसरी नेपालका राजनीतिक दल एकताबद्ध भएका थिए, त्यसैगरी अघि बढ्नुको विकल्प नभएको समेत दाहालको जोड रहेको थियो ।

मधेस, थारु, आदिवासी जनजातिले उठाउँदै आएको जायज मागलाई संविधान संशोधनमार्फत पूरा गरेर निर्वाचन गरिनुपर्ने औँल्याए । संविधान संशोधनका लागि राजनीतिक दलहरुबीच सहमति नजिक पुगेको दाहालको भनाइ थियो ।

“के मधेस, के पहाड, के तराई सबै एकढिक्का भएर देशलाई आर्थिक विकासतर्फ लैजानु आजको आवश्यकता हो” प्रधानमन्त्री दाहालले भने । दाहालले नेवार समुदायको मात्र नेपाल संवत् नभएर सम्पूर्ण नेपालीको राष्ट्रिय संवत् भएको बताए । नेपाल संवत्लाई अन्तर्राष्ट्रिय रुपमा रहेको इस्वी संवत्सँग तालमेल हुनेगरी स्थापित गराउन जरुरी रहेको पनि प्रधानमन्त्रीको जोड थियो ।

समितिका अध्यक्ष मोतीलाल सिल्पकारले नेवार समुदायले मान्दै आएको नेपाल संवत्लाई राष्ट्रिय संवत् बनाउन आग्रह गरे । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया