संवेदनहीन राज्यको परकाष्ठ : महिला हिंसा

अरुण कार्की

कुनै पनि देशको परिचय त्यो देशको निती नियम र सस्कारबाट सुरुवात हुन्छ । त्यसको सकरात्मक वा नकरात्मक रोड म्याममा भने मुलुकको राज्य व्यवस्था वा राजनैतिक प्रणालीको मुख्य भुमिका रहेको हुन्छ । आज मुलुकले लामो समयको संर्घषबाट सविधान सभा मार्फत सविधान प्राप्त गरिसकेको छ तर कार्यन्वयनको पक्ष भने एकदम फितलो देखिएको छ । जुन पक्षले राज्यको संवेदनशीलता र कमजोरीपनको परिचय दिन्छ । कानुन सबल, समृद्ध र सभ्य समाज निर्माणको परिकल्पना गरेर निर्माण गरिएको हुन्छ । त्यसैले यस विपरित कार्य हुनु वा जानु कानुनको ठाडो उल्ङ्घन वा राज्य व्यवस्था माथि प्रश्न खडा हुनु हो । यसको उल्ङ्घन भनेको अहिले मुलुकमा दिन दु गुणा रात चौ गुणा बढिरहेको महिला हिंसाबाट घाम जस्तै छर्लङ्ग हुन्छ । हुनत आज महिलाहरु अङ्क गणितीय आधारमा ३३ प्रतिशतको नाममा अधिकार संरक्षण गर्न त सफल भएका छन् तर त्यसबाट ब्यवस्थित र उर्जाशिल भने बन्न सकिरहेका छैनन् । आज महिलाहरु कोही कसैबाट संचालित भएर जिउन र हिड्न बाध्य छन् । महिला अधिकारको आन्दोलन यतिको उचाईमा पुग्दा पनि महिलाहरु कसैले चलाएको रिमोटको भरमा संचालित हुनु परेको छ । महिला अधिकार सम्बन्धी बनेका विभिन्न विद्येयकहरु कार्यन्वयनको हिसाबले केही हदबाहेक कागजी खोस्टो बराबर छन् ।
पुरुषबादी समाजको चिन्तनले गर्दा आज महिलाहरु प्रयोगको माध्यम बनेका छन् । महिलाहरु कसैको खेलौना बनेर बाच्न विबश छन् । आज महिला हिंसा कुनै अन्य बाह्रय तत्वहरुको षड्यन्त्र भन्दा पहिला उनिहरु आफ्नै घर परिवारबाट असुरक्षित छन् । महिलाद्वारा नै महिला पिडित छन् । नेपाली घर घरमा सासुद्वारा बुहारी पिडित छन् । बुहारीद्वारा सासु पिडित छन् । यो नै महिला हिंसा सुरुवातको उपज हो । आज मुलुकमा महिला हिंसाका घटनाहरु बारम्बार बाहिर आइरहँदा पनि सम्बन्धित निकाय तथा नेपाल सरकार महिला तथा बालबालिका मन्त्रालय मुकदर्शक बनेर सडक नाटक झै हेरेर बसिरहेको छ । आज महिलाहरु यौन, दाईजोप्रथा जस्ता कुराहरुबाट पिडित भैरहेका छन् । यो संसारमा सबैभन्दा सर्वश्रेष्ठ प्राणी भनेको मानव हो । यसमा कसैको दुई मत छैन । आज किन मानवद्वारा मानवनै हिंस्रित र घृणित भैरहेका छन् । आज महिलाहरु पितृसतात्मक समाजको बन्धनले गर्दा कुहिरोमा हराएको कागझै कहिले बोक्सीको आरोपमा डामिन्छन्, दिसा खुवाइन्छ, गाउँ निकाला गरिन्छ दाइजो नल्याएको निहुँमा जिउँदै मट्टितेल, पेट्रोल जस्ता प्रज्वलनशील पदार्थ शरीरमा खन्याएर आगो लगाईन्छ । कहिले यौन असन्तुष्टिको कारण विभिन्न आरोप लगाईन्छ । के कोही कसै यौन पिपासुलाई जिउँदै भौतिक शरिर सुम्पिएर मरेको लास सरह भएर बाच्न महिलाको जन्म भएको हो ? के नारी स्वतन्त्रता छैन ? के उनको लक्ष्य र उद्देश्य हुँदैन ? यी यावत कुराहरु बुझ्नु जरुरी छ । मुलुकमा निरीह सरकार पितृसतात्मक सोच, सम्पतीमा पुरुषको एकाधिकार, मुलुकको राष्ट्रपति, सभामुख र कार्यवाहक प्रधानन्याधीस जस्ता सर्वोच्च निकायमा महिला नेतृत्व हुदा पनि सार्वजानिक कार्यक्रममा दुई थोपा आसु झार्नु बाहेक प्रभावकारी भुमिका नहुनु र महिला मैत्री कानुन नहुनु आदि कुराहरुले महिलामाथि हुने हिंसाहरु न्यूनिकरण हुनुको सट्टा बढिरहेको छ । आज महिला माथि दिनडहाडै बलत्कारको घटना भएको छ । बलत्कार गर्ने त्यो यौन पिपासु लुटेरालाई सजाय दिनुको सट्टा विभिन्न राजनितिक दलको नाममा छुट दिएर ति लुटेराहरुलाई प्रोत्साहनको छहारी हाल्दै गुण्डाराजको मलजल पार्टी र केही संगठनले गर्दा महिला हिंसा बढिरहेको छ । महिलाहरु दिनानुदिन समाजमा असुरक्षित बन्दै गएका छन् । उनीहरु असुरक्षाको घडिमा बाँच्न विवश छन् ।

बाकेमा रिहाना शेष आफ्नै पति र सासुद्धारा दाईजो नल्याएको निहुमा जिउदै जल्नु परेको थियो । नवलपरासीमा मनिषा घर्तीको अप्रत्यासित हत्या, तराईका जिल्लामा दिनानु दिन बालिका बलात्कृत भईरहेकाका छन् । यी त मिडियामा आएका प्रतिनिधि घटना मात्र हुन् । बलत्कार एउटा त्यस्तो अपराध हो जसमा अपराधिको सिकारले अपराध बोध गर्नुपर्दछ । पक्कैपनि बलत्कारबाट शरिरमा जति असर पर्छ त्यो भन्दा बढि मानसिक रुपमा पर्दछ । आज नारीहरु माथि मानवको नाताले नभै पशुको नाताले व्यवहार गर्ने दानवहरुको संख्या दिनानुदिन बढ्नाले उनीहरुको शरिरमाथी सहमतिविना ढालीमुहाली गरिएको छ । नारीलाई नारी हैन बस्तु सम्झिएको छ । जसबाट उनीहरुमा मेरो अस्मिता, मेरो इज्जत, मेरो बनावट, मेरो कुमारीत्व लुटियो म बर्बाद भएँ अब म सक्किएँ, मेरो अब यहाँ कुनै अस्तित्व छैन भन्ने मानसिकता महिलामा पर्न जान्छ । यसरी शारिरीक हिंसा भन्दा बढि मानसिक हिंसाले महिलालाई भित्र भित्रै सताउने गर्दछ । जसबाट गलत प्रवृतिहरुमार्फत आत्महत्या समेत गर्न पछि हट्दैनन् । दोषी उपर कारबाही गरेर पिडितलाई हौसाला प्रदान गर्र्न राज्य सवेदनशील बनेको खोई ? केही समय अगाडि सकिएको महिला हिंसा विरुद्घको १६ दिने अभियान जारी रहेको अवस्थामै केही महिलाको हत्या हुनु केही बलत्कार हुनु र केहीको हत्या र बलत्कारको प्रयास हुनु भनेको निरही सरकार र समाजको परकाष्ठ हो ।

अझ हिन्दु परम्परा अनुसार कुरा गर्ने हो भने छोराको जन्मलाई स्वर्गको ढोका खोल्ने मान्यता राख्नु मुस्लिम समुदायका पुरुषले सिधै सम्बन्ध बिच्छेद दिनु,मधेशी समुादयमा दाइजोको नाममा महिलाको लिलामी हुनु, दाइजोकै कारण बर्सेने मधेशका महिलाले ज्यान गुमाउनु, छोराको जन्मलाई वरदान र छोरीको जन्मलाई अभिशापको रुपमा लिनुबाट पनि सामाजिक मुल्यमान्यताले महिलाहरुमाथि ठुलो शोषण गरेको पाइन्छ । पश्चिमा वादी समुादयका महिलाहरुले देह व्यापार गर्नु पर्ने जसबाट परिवार पाल्नु पर्ने सामाजिक कुप्रथा अझै जारी छ । हिन्दु धर्म गन्र्थ अनुसार भगवान शकंर आफ्नी अत्यन्त रुपवती पत्नी पार्वतीबाट सन्तुष्ट हुन नसकेर अनेक रुप धारण गरि अन्य स्त्री बाट यौनको आनन्द लिएको पुराणमा पढ्न र सुन्न पाईन्छ । देबगुरु बृहस्पतीले आफ्नै भाउजु ममतासँग बलात् यौन सम्बन्ध राखे तर पनि उनी पुजनीयनै रहे तर उनले चन्द्रमाद्वारा जबर्रजस्ति अपहरणमा र बलत्कारमा परेकी आफ्नी तारालाई त्यागीदिए । हिन्दु धर्मका सर्बश्रेष्ठ देवता विष्णुले छलकपट गरी बलत्कार गर्दा उनको मान सम्मानमा कुनै कमी आएन तर जलान्धर पत्नी विन्दाले आत्महत्या गर्नु प¥यो । भगवान श्री कृष्णले यौवनकालमा १६०८ श्रीमती ल्याएको पनि सबै हिन्दु धर्मावलम्बीहरुले सहज रुपमा लिएका छन् । पाण्डवहरुका पाँचै भाइले द्रौपतीलाई साझा श्रीमतीको रुपमा प्रयोग गर्दा उनी सामुहिक बलत्कारको सिकार बनेकी थिन् । स्वस्थानी ब्रत कथा अनुसार ७० बर्षीय शिव शर्माले ७ बर्षीय बालिका गोमासँग विवाह गर्नु आदि जस्ता घटनाहरुले महिलामाथि परापुर्व काल देखी नै अन्याय र अत्याचार हुँदै पितृसतात्मक सोच हावी भएको देखिन्छ । यिनै सामाजिक मुल्य मान्यताले गर्दा अहिले पनि महिला निरन्तर हिंसाको सिकार बन्न बाध्य भएका छन्
। उनीहरुले आफ्नो समस्याको बारेमा कोही कसैसँग भनिहाल्न सक्दैनन् भनिहाले पनि कहिले प्रशासनले मुद्धा दर्ता गर्ननै मान्दैन, कहिले पहुचवालाहरुको नियन्त्रणमा २÷४ हजारमा मिलाउने कोसिस गरिन्छ । त्यसैले यस्ता समस्याहरुको निराकरण हुन सकिरहेको छैन । न्यायलयलाई पहुचवालाहरुको परिधिबाट बाहिर ल्याउन सक्नुपर्दछ । बंगालादेश मुलकी लेखक तसलिमा नसरिनले भनेकी छन् “यदि म कुनै बच्चालाई जन्म दिन्थे भने छोरी जन्माउनु अघि दुई पटक सोच्थे”। के छोरी भएर जन्म लिनु अभिशाप हो ? एक चिम्टी सिन्दुरको भरमा सारा जिन्दगीभर सर्वस्व श्रीमान्लाइ ठानी दिन रात उसैको लागि मरि मेट्ने हरेक पाइला पाइलामा उसको सफलताको कामना गर्ने महिला नालायक श्रीमानद्वारानै पिडित बन्नु परेको छ । सन् २०१० लाई महिला हिंसा अन्त्यको वर्ष घोषणा गरिए पनि हिंसाको अवस्था सुनामी झैँ विकारल बनिरहेको छ । तर्सथ सरकारले तत्काल आवश्यक कानुन संसोधन गरेर २०–३५ वर्षको जेल सजाय भन्दा माथि उठेर पिडक विरुद्ध कठोर सजायको व्यवस्था गरि कार्यन्वयनको पक्षलाई इमोसनल बनाउन संवेदनशील हुनैपर्छ । पुरातनवादी अन्धविश्वासका ग्रन्थहरुलाई सरकारले अध्यन अध्यापनमा पुर्णरुपमा बन्देज गर्नुको साथै त्यी स्तरका सस्कारहरुलाई खारेज गर्ने साहस गर्नुपर्दछ । केही रकम राहत दिएको भरमा यस प्रकृतिका मुद्धालाई लात हान्ने कामको निरन्तरता गरियो भने पिडीत महिलाहरुको जब धैर्य टुट्छ तब बिशाल हिमपात फुटेझै आँधीबेरीको सिर्जना हुनेछ । त्यो आँधीबेरीलाई न कुनै अपराधीले रोक्न सक्छ न त कुनै निकायले त्यसैले राष्ट्रको परिचयलाई गौरवमय बनाउनको लागी सम्बन्धित निकाय समयमै संवेदनशील बन्न ढिला भइसकेको छ ।

प्रकाशित मिति ०७३ -२-२८

फेसबुकबाट तपाईको प्रतिक्रिया