सन् २०३० सम्ममा विद्युतीय कार १० गुणा बढ्ने अनुमान
न्यूयोर्क ८ कार्तिक २०८०।
सन् २०३० सम्म पुग्दा संसार निकै फेरिसक्नेछ । अहिले विश्वभरका सडकमा जति विद्युतीय कार गुडिरहेका छन् सन् २०३० मा सोको १० गुणा पुग्नेछ । अन्तरराष्ट्रिय ऊर्जा निकाय (आईईए)ले मंगलबार यस्तो बताएको हो । आईईएले सार्वजनिक गरेको ‘वल्र्ड इनर्जी आउटलुक २०२३’का अनुसार सो अवधिसम्ममा विश्वमा उपलब्ध हुने कूल विद्युतमा नवीकरणीय बिजुलीको अनुपात ५० प्रतिशत पुग्नेछ । यो अनुपात अहिले ३० प्रतिशत छ ।
‘विश्वभर नै स्वच्छ ऊर्जामा व्यापक परिवर्तन भइरहेको छ र यो परिवर्तन रोकेर रोकिन्न । प्रश्न यो हुन्छ कि हुन्न भन्ने नै होइन । कति छिटो भन्ने मात्रै हो । यो परिवर्तन जति छिटै हुन्छ त्यति नै हामी सबैका लागि उत्तम हो,’ आईईएका कार्यकारी निर्देशक फाती बिरोलले भने ।
नयाँ अफशोर वायु ऊर्जा परियोजनामा लगानी पनि सन् २०३० सम्ममा तीन गुणाले बढ्ने बताइएको छ । समयमै देशहरुले राष्ट्रिय ऊर्जा र जलवायुसम्बन्धी वाचा पूरा गरे भने स्वच्छ ऊर्जाले सोचेभन्दा राम्रो प्रगति गर्ने प्रतिवेदनमा आईईएले भनेको छ । तर तर विश्वको तपामान वृद्धिलाई १ दशमलव ५ डिग्रीमा सीमित बनाउने लक्ष्य हासिल गर्न भने थप कठोर उपायहरु अपनाउनु पर्ने बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया