समालोचक तथा इतिहासविद् प्रा.डा.चुन्द्रा वज्राचार्यका दृप्टिमा ‘मल्लकालीन नाटकहरु’


स्वयम्भू शाक्य
नेपालभाषा साहित्यमा नाटक तुलनात्मक रुपमा अरु साहित्य भन्दा धेरै कम लेख्ने विद्या हुन् । नाटकको चर्चा परिचर्चा कम हुनुका साथैं खासैं समीक्षात्मक टिप्पणी समेत नभएकोले यस विषयमा गहन अध्ययन र अनुसंन्धान गर्ने हेतुले समालोचक तथा इतिहासविद् प्रा.डा.चुन्द्रा वज्राचार्यले “नेपालभाषा नाटक साहित्यया इतिहास” नामक पुस्तक प्रकाशित गरी मल्लकालीन कालखण्डमा राजा र प्रजाहरुले लेखिएको नाटकहरुको यथेष्ट प्रमाण सहित विश्लेषणत्मक विवेचना गरिएकी छिन् ।
स्कूल जीवनदेखि विद्यावारिधीसम्म नेपालभाषा विषय लिई अध्ययन र अनुसंन्धान गर्नु भएकी समाजका अगुवा तथा अन्वेषक प्रा.डा.चुन्दा वज्राचार्यले “नेपाल भाषाया आधुनिक नाटकया प्रवृत्ति व प्रवाह” नामक शोघपत्र लेखी आफ्नो मातृभाषाको माध्यमवाट नेपालको इतिहासमा पहिलो विद्यावारिधी गर्ने प्रथम महिलाको रुपमा स्थापित गर्न सक्षम भएकी छिन् ।
मल्लकालीन इतिहासमा धरःपौको सुक्ष्मरुपमा अध्ययन र अनुसन्धान गर्ने प्रथम पहिला इतिहासकार प्रा.डा.चुन्दा वज्राचार्यले मल्लकालीन कालखण्डमा राजाहरुको विवाह, व्रतवन्ध, भोज, चाडपर्व आदि जस्ता समाजिक कार्यहरु के कसरी गर्दो रहेछ र कुन विधिहरु अपनाउँन्दो रहेछन् भनी इतिहासको गर्भमा लुकेका दिन चर्याहरुलाई सं–प्रमाणका साथ उजागर गर्ने इतिहासकारका रुपमा परिचित छिन् । तसर्थ पुस्तक व्यापकरुपमा वौध्दिक तथा अनुसन्धानात्मक दृष्टिकोणले परिलक्षित भएकोले मल्लकालीन नाटकका सन्दर्भमा इतिहासका सारपूर्ण तत्वहरुलाई सक्षिप्तमा विवेचना गर्नु यस आलेखको मुख्य ध्येय रहेको छ ।
नेपालमा मल्लकालीन शासनकाल वि.स.९३६ मा नेपाल सम्वत शुरु भए पछि आरम्भ भएको देखिन्छ । वाह्रौ शताव्दिको शुरुदेखि अठारौ शताब्दिसम्म रहेको उक्त शासनकालमा राजाहरुकोे दरवारमा संस्कृत भाषाको प्रचलन भए तापनि बोलिचाली तथा साहित्य सृजना गर्ने माध्यमका रुपमा स्थानीय भाषा मैथिली र नेपालभाषालाई औधी संरक्षण गरी प्रचुर मात्रामा प्रचार गरेका थिए । आर्थिक अवस्था, उद्योग धन्दा, शिक्षा, स्वास्थ्य, साहित्य जस्ता सम्पूर्ण विषयहरुमा निकै उन्नत एवं राम्रो थियो । त्यसैले उक्त कालखण्डमा देवदेवताहरुको स्थापना गरी विशाल कलात्मक मन्दिर, पाटी, पौवा, सत्तलहरु वनाउनुका साथैं चाडपर्वहरु बनाउन गुठीको वन्दोबस्त समेत गरिएको थियो । भनिन्छ, तत्कालिन समयमा जनसंख्या भन्दा बढी देवदेवीहरुको मुक्ति, मन्दिर, स्तुप र विहारहरु थिए । पौभा, थाङ्का, चित्रकला शास्त्रीय ंसगीत तथा ग्रन्थचित्रहरुको प्रचुर मात्रामा विकास भएको त्यसताका धार्मिक स्वतन्त्रता थियो । आफ्नो स्वच्छाले धर्म ग्रहण गर्न सक्दथे भन्ने प्रमाण ने.स.५०८ को काठमाडौ न्हाय्कँवहिको ताम्रलेखमा उल्लेख गरेको देखिन्छ । उक्त समयमा १४ प्रकारका विद्याको प्रचार हुनुका साथैं तान्त्रिक विद्याको समुन्नतिका लागि तन्त्र विद्या पढाउने विद्यालयहरुको पनि स्थापना भएको कुरा ने.स.५३० को भक्तपुरको तौमठी टोलको अभिलेखवाट पनि प्रमाणित हुन्छ । तसर्थ विं.स.९३६ मा राजा रायदेव मल्लले नेपाल सम्वत चलाएकोले पनि मल्लकालीन समयको छुट्टै महत्व रहेको देखिन्छ ।
नाटक, नेपालभाषा साहित्यको अति महत्पूर्ण विद्या हो । साहित्यका चार विद्या मध्ये नाटक प्राचीन कालदेखि नै समृध्द विद्याको रुपमा लिइन्छ । मूलतः हेर्ने साहित्यलाई नाटक भनिन्छ । नाटक दुई किसिमको हुन्छ हेर्ने र पढ्ने । वास्तवमा नाटकको विकास कुराकानीवाट भएको देखिन्छ । जुन कुरालाई ग्रीकका महान दार्शनिक सुकरात र प्लेटोको साहित्यले समेत स्वीकार गरेको देखिन्छ । हुनत नाटकमा पञ्चसन्धि हुने भएकोले पञ्चम वेद भनिएको हो । नाटकमा संवाद माध्यमवाट चरित्र र कार्यको माध्यमवाट अभिनय प्रस्तुत गर्ने विद्या भएकोले यो वर्णनयुक्त भई शरीरका विभिन्न अंगहरुको हाउभाउ, सम्वाद, भेषभूषा र अलंङ्कारको कारणवाट मानव जीवनमा हुने सुख, दुःख, घृणां, क्रोध, साहस, घीरता, दम्भ र चञ्चलता आदि जस्ता सजीव प्रस्तुतीले सात्विकताको मूल्यांकन गरिन्छ । त्यसैले नाटकमा अभिनय नैं मूलधार भएकोले यो एकदमैं अभिनयात्मक विद्या हो ।
भनिन्छ पूर्वीय नाटकमा संयोगान्त र पश्चिमी नाटकमा वियोगान्त परम्परावाट नाटकका शुरुवात भएको हो । पूर्वीय नाटकमा रस प्रधान र पश्चिमी नाटकमा अभिनयमा बढी महत्वता दिइएकोले यसको अनुकरणीयसंग सगै नाटकले मूल रुपमा आदर्शवाद, यथार्थवाद, प्रयोगवाद, विश्लेषणात्मकवाद, प्रतिकारात्मकवाद हुँदै प्रस्तुतीमा गीति नाटक, नृत्यनाटक र ध्वनि नाटकहरु देखापरेका छन् ।
नेपालभाषा साहित्यमा नाटक विद्याको इतिहास अरु विद्या भन्दा धेरै पुरानो छ । यस्तो पुरानो नाटक विद्याको विकासक्रम अर्थात क्रमवध्दता कसरी भयो भने सम्वन्धमा छिट्पुट् रुपमा केहि लेख रचनाहरु प्रकाशित भएता पनि समग्ररुपमा नाटक विद्याको पहिचान दिलाउन खास पुस्तकको अभाव रहेको वेला प्रा.डा.चुन्दा वज्राचार्यले “नेपालभाषा नाटक साहित्यको इतिहास” नामक पुस्तक वि.स.२०६५ मा प्रकाशित गर्नु भएको थियो ।
प्याखं (नाटक) शब्द आफैमा व्यापक छ । प्याखं (नाटक) भित्र, नाटक, नाच, हुलाप्याखं, भावनृत्यु, दवू प्यांख, आदि पर्दछन् । मल्लकालीन समयमा प्याखं (नाटक) र संस्कृतिको गहिरो सम्वन्ध रहेको देखिन्छ । त्यसवेला नाटक र मानव नृत्यलाई प्याखं (नाटक) को रुपमा लिएको देखिन्छ । नेपालको इतिहासलाई पल्टाएर हेर्दा प्राचीन कालमा नेपाल दहको रुपमा रहेको र पछि यहाँको पानी चोभारवाट निकाले पछि वस्तीको रुपमा रहन गएको देखिन्छ । गोपाल वंश, महिषपाल, किरातकाल, लिच्छवीकाल, मल्लकाल र शाहकालको जन्म भएको थियो । लिच्छवीकालमा नेपालको इतिहासमा एउटा नयाँ परम्पराको थालनी भएको थियो त्यो हो अभिलेख । नेपालको सवैभन्दा पुरानो अभिलेख ईस्वी पूर्व २५० को लुम्विनीको अशोक स्तम्भ हो । त्यसपछि निग्लिहवाको ने.स. २५५ को अभिलेखलाई मान्न सकिन्छ । यो दुईटै अभिलेख ब्रम्ही लिपि पाली भाषावाट लेखिएको छ । नेपाल मण्डलको सवै भन्दा पुरानो मानदेवको चाँगुनारायणको विजय स्तम्भ ईस्वी ४६४ को अभिलेख हो ।
इतिहासकार प्रा.डा.चुन्दा वज्राचार्यकानुसार लिच्छनीकालका राजाहरुले स्थापना गरिएको २०० वटा जति अभिलेखहरु हालसम्म प्राप्त भएका छन् । अधिकांश अभिलेखहरु गुप्त लिपिवाट लेखिएको र संस्कृति भाषावाट पलिस्था गरिएको उक्त अभिलेखमा व्यक्तिको नाम, करको नाम, अट्टाको नाम, नदीको नाम, गाऊठाउँको नाम, आधिकारिक पदको नाम, आदि पूर्ण रुपमा उल्लेख गरिएको देखिन्छ । उक्त नामहरुलाई केलाएर हेर्दा ८०% जन भाषावाट नामाकरण गरिएको छ । इतिहास तथा संस्कृतिविद् काशीनाथ तमोटका अनुसार २४८ शब्दहरु मध्ये ९०% प्रदेश, ग्राम, पाञ्चाली, नदी, आदिको नाम रहेका छन् भने १०% व्यक्ति, अधिकारी, अधिकरण, वस्तुको कर, आदिको नाम रहेका छन् भने आफ्नो धारण व्यक्त गर्नु भएको देखिन्छ ।
लिच्छवी राजाहरुले अभिलेखहरु संस्कृत भाषावाट पलिस्था गर्ने भएकोले सकेसम्म संस्कृतिकरण गरेको र संस्कृतिकरण गर्न नसकेमा मात्र जस्तो छ त्यही शब्दावली प्रयोग गरेको देखिन्छ । जसले गर्दा किरातकालमा लेखिएको नाम लिच्छवीकालमा पनि त्यही रहन गयो । त्यसैले नेपालभाषाको इतिहास लिच्छवीकाल भन्दा पनि पुरानो रहेको र तत्कालिन समयमा जनभाषाको रुपमा रहेकोले लिच्छवीकालका अभिलेखहरुमा नेपालभाषाको स्वतन्त्र रुपमा शब्दावलीहरु प्रयोग भएको देखिन्छ ।
नेपालको इतिहासमा इतिहासकारहरुले विभिन्न कालहरु विभाजन गरिएको छ । ने.स.शुरु भए देखि ने.स. ८८८ वर्षसम्मलाई मध्यकाल भनी विभाजन गरिएकोले ने.स.१ देखि ने.स. ६०२ सम्म पूर्व मध्यकाल र ने.स.६०३ देखि ने.स.८८८ सम्म उत्तर मध्यकाल भनी काललाई विभाजन गरिएको छ । तर सामाग्रीहरुको अभावका कारणले पूर्व मध्यकाललाई अन्धकारको युग भनिए तापनि यही युगभित्र इतिहासकार तथा भाषाविद् हेमराज शाक्यले पाटनको रुद्रवर्ण महाविहार आर्य सर्वसंधको नियमवारे नें.स.२३५ को भुजिमोल लिपीले लेखिएको ताडपत्रलाई नेपालीभाषावाट प्रकाशित गरिएको थियो । इतिहासकार तथा भाषाविद्को भनाई अनुसार उक्त भाषालाई मध्यनजर राख्दा भाषाको विकासक्रम ६००÷७०० वर्ष अगाडि देखि नै भएको हुनु पर्दछ भनी धारणा व्यक्त गर्नु भएको छ । त्यस्तै नेपालभाषवाट लेखिएको ने.स.२९३ को साँखुको बज्रयोगिनी रहेको राजा रुद्रदेवको शासनकालको अभिलेखलाई लिन सकिंन्छ । त्यसपछि अभय मल्लको राज्यकालको ने.स.३५३ सालको मोतिटारस्थित कमलपोखरीको जलधुनीमा कोरिएको अभिलेखलाई लिन सकिन्छ भनी समालोचक तथा इतिहासविद् प्रा.डा.चुन्दा वज्राचार्यले आफ्नो पुस्तकमा धारणा व्यक्त गर्नु भएकी छिन् ।
लिच्छवीकालमा जस्तै मल्लकालमा पनि अभिलेख लेख्ने परम्परा रहेको पाइन्छ । अभिलेख संस्कृत भाषावाट लेखिएको भएतापनि सर्वसाधारण जनताले त्यसको महिमा बुझ्न सकोस् भन्ने हेतुले नेपालभाषावाट टिपणी लेख्ने वा नेपालभाषावाट सार लेख्ने प्रचलन शुरु भएको देखिन्छ । उत्तर मध्यकालसम्म धेरै जस्तो स्तुति वाक्य वाहेक अन्य सम्पूर्ण नेपालभाषावाटै अभिलेख लेख्ने परम्पराको थालनी भैसकेको थियो । नेपालभाषावाट पुस्तक लेख्ने परम्परा पूर्व मध्यकालमा नै शुरु भैसकेको देखिन्छ । नेपालभाषावाट लेखिएको सवै भन्दा पहिलो पुस्तक ने.स.४८१ को “हितोपदेश” हो । जसमा नेपालभाषावाट टिाकाटिप्पणी गरी लेखिएको छ भनी कमरेडी “म्बक ल्भधबचष्” तथा जोर्गेनसनको “ब् म्ष्अतष्यलबचथ या ऋबिककष्अब िल्भधबचष् ” पुस्तकमा उल्लेख गरिएको छ । उक्त पुस्तक हाल जर्मनको भ्तजलययिनष्अब िmगकभगm मा राखिएको छ । आयुर्वोदिक र तन्त्रमन्त्र सम्वन्धी लेखिएको ने.स. ४९४ को “हरमेखला” किताव हो । राजा जयस्थिति मल्लको राज्यकालमा ने.स.५०० मा लेखिएको “न्यायविकासिनी” किताव नेपालभाषावाट टिका दिइरहेको देखिन्छ । त्यस्तै ने.स.५०१ र ने.स.५०६ मा लेखिएको “अमरकोष” मा संस्कृत शब्दको नेपालभाषावाट अर्थ दिइएको छ भने ने.स.५९१ को अमरकोषमा संस्कृत श्लोक नराखी केवल शब्द मात्र राखी नेपालभाषावाट अर्थ उल्लेख गरी सार समेत उल्लेख गरिएको छ ।
मौलिक तथा स्वतन्त्ररुपले नेपालभाषावाट लेखिएको सवै भन्दा पहिलो किताव ने.स. ५०९ को गोपालराज वंशावली हो । राजा जयस्थिति मल्लको शासनकालमा नेपालभाषाको भुजिमोल लिपीवाट लेखिएको छ । राजा जयस्थिति मल्लको राज्यकालदेखि नेपालभाषावाट लेख्ने परम्परा चलेकोले यसैवेलादेखि नेपालभाषा साहित्यको सृजना आम्सिक रुपमा भए पनि विकास भएको देखिन्छ ।
नेपालभाषा नाटक साहित्यको इतिहासलाई हेर्ने हो भने हरसिद्धि नाच कालिगत सम्वत २०६०, ई.पू. १५० विं.स.९४१ भन्दा अगाडी देखि नै मञ्चन भएको देखिन्छ । यो नाच कालिगत सम्वत ३७०५ तद्नुसार सन् ६०५ मा नृत्यु नाचको रुपमा परिवर्तन भएको हो । नेपालको सवैभन्दा पुरानो हरिसिद्धि नाच राजा प्रताप मल्लको शासन कालदेखि हालसम्म हरिसिद्धि (हरिसिद्धिलाई नेवारी भाषामा जल भनिन्छ ) नाच देखाउँदै आइरहेका छन् । उग्रतारा नील सरस्वतीलाई मुख्य पात्रको रुपमा सुत्रवीर नगेन्द्रलाई हत्या गर्ने कथावस्तुमा आधारित हरिसिद्धि नाच राजा विक्रमादित्यलाई उज्रतारा देवी देउता भनी वनाएको हो । देवमाला वंशावलीनुसार यो नाच विक्रम सम्वत शुरुमै वनाएको हो । जुन नाच राजा सिद्धिनरसिंह मल्लले हरिसिद्धिमा मात्र देखाउने गरियो । पछि पाटनका गयो राजाले यो हरिसिद्धि नाचलाई थ्यासफूमा लेखिएको देखिन्छ । तसर्थ उक्त नाचवाट पनि तत्कालिन समयमा नाटकको राम्रो विकास भैसकेको भने स्पष्ट हुन्छ ।
ताडपत्र, थ्यासफू, घटनावली, वंशावली र धरःपौलाई अध्ययन गर्ने हो भने तत्कालिन समयमा नाटक साहित्यक दृष्टिकोण भन्दा सांस्कृतिक तथा मनोरञ्जनको दृष्टिकोणवाट मञ्चन भएको देखिन्छ । तत्कालिन दरवारमा विवाह, व्रतवन्ध्र, चुडाकर्म आदि जस्ता सामाजिक कार्यहरु उलासपूर्ण वातावरणमा नाटकहरु प्रदर्शित गरी मनोरञ्जन लिई हर्ष गर्ने चलन थियो । तसर्थ जल (हरिसिद्धि) को हरिसिद्धि नाच, खोकनाको सिकाली नाच, कान्तिपुरको लाखे, भैरव, र तानाकिसि नाच, पाटनको ईबहीको ढोकामाथि रहेको अभिलेख अनुसार ने.स. ५३८ को ईबही वनाएको उपलक्ष्यमा रामभारोसाको नयाँ “वीरवाहु” नाटक, ने.स. ५४७ जेष्ठ एकादशीका दिन सुनको ३ वटा गजुर र ध्वजा राखेको दिन ज्योर्तिर मल्ल आउने उपलक्ष्यमा रामभारोसाको नयाँ “वीरवाहु” नाटक प्रदर्शित गरिएको थियो । जुन नाटक सवैभन्दा पहिला सर्वसाधारण जनतावाट सृर्जित गरी वनाएको नाटक हो । ठिमीको देगुटोलस्थित अभिलेख अनुसार ने.स. ७०६ कर्तिक शुक्ल एकादशी शुक्रवारका दिन पुम्हाँगत राजाको कथाको आधारमा जनतावाट नरसिंह कथः प्याखं वनाएर प्रदर्शित गरेको समयमा भक्तपुरमा गंगादेवी, त्रैलोक्य मल्ल र त्रिभुवन मल्लको संयुक्त राज्य थियो । त्यस्तै पाटनको हरिसिद्धिस्थित वादे टोलको कुमारीको पर्खालमा रहेको अभिलेख अनुसार ने.स. ८३० मा त्यहाँका जनताहरुले श्री कलंक देवतादेखि श्री ३ पिथ गणेशसम्म वाटोमा ढुङ्गा छापी “राक्षेस” नाटक देखाएका थिए । त्यस्तै ने.स. ८४१ मा टोखाको तपराछि टोलमा डबली जिर्णोद्धार गरी ज्ञानवतिको कथाका आधारमा नाटक प्रदर्शित गरेको थिए । तसर्थ यस्ता उत्सव गर्ने वेला राजाले जनताहरुसंगै मिलेर नाटक वनाउने अभिलेख रहेको छ । ने.स. ८६६ मा भक्तपुरमा श्री ३ महेश्वरी देवताको गजुर स्थापना गरी “डकवार फलेचा” निर्माण गरेको वेला राजा रणजीत मल्ल र त्यहाँका यवर टोलका पञ्च समूहसंग मिलेर “रुक्मनिकरण” नामक नाटक वनाएको थियो । कान्तिपुरका राजा जयप्रकाश मल्लले पनि कँडेल चोकभित्र सुनको डवली जिर्णोद्धार गरी “पशुपति प्रादुरभाव धम्मदत्तोपाख्यान ” नाटक वनाएको थियो भनी त्यस चोकको नाःसद्यः को अभिलेखमा उल्लेख गरिएको देखिन्छ ।
दरवारमा विवाह, व्रतवन्ध, अन्नप्राशन, होम, पुजा आदि कुनै कार्य गर्नु परेमा त्यसलाई चाहिने सामाग्रीहरु लेखिएको धरःपौ ऐतिहासिक अभिलेख हो । जुन सामाग्रीहरुवाट मल्ल राजाहरुको संस्कृति,संस्कार, रितिथिति लगायत तत्कालिन नाटक कस्तो थियो भनी कोरा सामाग्रीको रुपमा लिन सकिन्छ । धरःपौकानुसार राजा र प्रजा मिलेर नाटक वनाउने, दरवारमा हुने सामाजिक उत्सवसंग संगै टोल टोलमा नाटक देखाउने, एउटा राज्यवाट अर्को राज्यमा गएर नाटक प्रदर्शन गर्ने गरिन्थ्यो । दरवारमा नाटकहरु मञ्चन गर्दा राजाले दरवारमा स्वागत गदैं सम्पूर्ण प्रवन्ध गर्ने र पुरस्कार दिने कार्य पनि धरःपौवाट देखिन्छ । ने.स.७९४ मा भक्तपुरका राजा जितामित्र मल्लका भाई उग्र मल्लको विवाहको उपलक्ष्यमा पाटनका राजा श्री निवास मल्ल ५ दिन सम्म भक्तपुरमै बसी “दरशण” नाटक हेरिएको थियो । राजा जितामित्र मल्लको ने.स ८०७ मा विवाह हुँदा “मदालसाहरण” पद्रर्शन गरिएको थियो भने रणजीत मल्ललाई ने.स. ८३३ मा विवाह गराउँदा भूपतीन्द्र मल्लले “उषाहरण” नाटक लेखी प्रदर्शन गरेका थिए । धरःपौ अनुसार तत्कालिन समयमा विभिन्न ठाउँमा विभिन्न किसिमको नाटकहरु बनेको देखिन्छ । जुन नाटकहरुमा स्थानीय नाटकको नाम दिइन्थ्यो भनी अन्वेषक प्रा.डा. चुन्दा वज्राचार्यले आफ्नो पुस्तकमा धारणा व्यक्त गर्नु भएकी छिन् ।
विश्वमा नाटक साहित्यको विक्रमक्रमलाई हेर्ने हो भने भावनृत्य पश्चात मात्र नाटकको विकास भएको देखिन्छ । तर नेपालमा हरिसिद्धि नाटक त्यस्तो नाटक हो जुन नाटक पहिला नाटकको रुपमा विकसित भए पछि मात्र भावनृत्यमा प्रदर्शन भई लिच्छवीकालदेखि हालसम्म प्रदर्शित छन् । भावनृत्य नाटकमा देवगण राक्षशगणवीच युध्द देखाएर देवगणको जीत हुने अर्थात सत्यको जीत हुने देखिन्छ । तसर्थ धेरै जस्तो भावनृत्यमा पुराण, जातक र अवदानका आधारमा विषयवस्तु केन्द्रित भएको देखिन्छ । कान्तिपुरमा कुमारी,भैरव, इन्द्रायणी र १२ वर्षमा देखाउने हल्चोकको भैरवको नृत्युलाई कर्नाटक राजा नान्यदेवका पालादेखि शुरु भएको भनाई छ । कान्तिपुरका राजा अमर मल्लले प्रचलनमा ल्याएका भावनृत्यहरु मध्ये खोकनाको सिकाली नाच, पचली भैरव नाच, लुमद्यि अजिमा नाच, मनमय्जु नाच, कंग अजिमा नाच, र कान्तिपुरका राजा आनन्द मल्लले कीतिपुर र ठेचोको अष्टमातृका नाचलाई अझ विस्तार गरिएको थियो । भक्तपुरका राजा सुर्वण मल्लले चलाएको नवदुर्गा नाच । त्यस्तै भक्तपुरको हलुमान ढोकामा देखाउने महाकाली नाच, तौमधी टोलको महाकाली नाच, भोटे वहालको महाकाली नाच, लासुकु ध्वाकाको महाकाली नाच, भातेधुकुरको महाकाली नाच, खौमा टोलको महाकाली नाच, सुकुल ढोकाको महाकाली नाच र रामचन्द्रको नाच पनि भावनृत्य नाटक भित्र पर्दछ । तसर्थ महाकाली नाच भक्तपुरको मात्र विशेष स्थानीय नाच हो । यस्तो भावनृत्यमा बाजा, ताल र गीतको लयका आधारमा नाच्ने गरिन्छ । जस्तो भैलः नाच, माकः नाच, कथि नाच, नतुवाया नाच, नाग÷नागचा नाच, किजापुजा नाच, लाखे नाच, खिचा नाच, भालु नाच, म्हय्खा नाच, सिहं नाच, धुं नाच, न्याचा नाच, सल नाच, झ्याउरी नाच, कपाय फ्यनीगु नाच, जंगली नाच र पिइगु नाच आदिलाई लिन सकिन्छ । उक्त नाच मध्ये कपाय् फ्यनीगु नाच र नाग÷नागचा नाच रासलिलाको नाच हो भने किजापुजा नाच नेवाः संस्कृतिको नाच हो । पाटनमा कार्तिकमा मात्र प्रदर्शन गर्ने “कात्ति नाच” मा भाव र संवाद समेत भएको नाच हो । जुन नाचलाई राजा सिद्धिनर सिंह मल्लले ८ दिन प्रदर्शन गर्दा भावनृत्य र पछि श्री निवास मल्लले १५ दिन सम्म प्रदर्शन गर्दा भावनृत्यको साथसाथै संवाद नृत्यु समेत रही विकास भएको देखिन्छ । पछि राजा योगनरेन्द्र मल्लले उक्त भावनृत्यलाई कायमै गरी कार्तिक एक महिनासम्म प्रदर्शित गरिएका थिए । राजा श्री निवास मल्लले पाटनमा भैरव अष्टमातृका गण नाच र गाः वहालको मधुसुदन नाच लेखिएको थियो । कान्तिपुर लाखे नाच राजा गुण कामदेवको पालादेखि चलिआएको नाच हो । त्यस्तै किल्लागलको तानाकिसी र मारनी नाच पनि इन्द्रजात्राको समयमा नाचिन्ने गरिन्छ । ने.स. ७६४ मा प्रताप मल्लका पालाको बसुन्धरा देवीको नाच पनि भावनृत्य नाच हो । न्यतमदु अजिमा नाच , हुल्लाबाजि नाच, कुम्हा नाच, बुसुलुसु नाच, खातादेवी नाच, धुं नाच, तारझंग नाच पनि भावनृत्य नाच हो ।
वज्रयानी वज्राचार्यहरुले विभिन्न पुजा गर्दा कसैले हेर्न नमिल्ने गोप्य नाच र सवैले हेर्न सकिने परम्परागत नाच पनि नाच्ने गरिन्थ्यो । वज्रयानहरुले पुजा गर्दा विभिन्न नृत्यहरु प्रदर्शन गर्ने गरिन्छ । जस्तो हेवज्र नैरात्मा नृत्य, बुद्धवर नृत्य (राग कामोड ताल खड्गकार), चन्द्रवीर नृत्य ( राग कामोड ताल खड्गकार ), धुपः नृत्य ( राग भैरब ताल त्रिहुरा ) वज्रवाराही नृत्य (राग श्रङ्गार मालश्री ताल माथ), मूलाचार्य नृत्य (पञ्चताल राग अहोष्डि ताल माथ), मूलाचार्य नृत्य ( राग गोडग्रि ताल माध ), मूलाचार्य नृत्यु ( गीत त्रिभुवन क्वलित ) मूलाचार्य नृत्य ( गीत प्रमोदिका ), मूलाचार्य नृत्य ( गीत त्रिहंडा ), प्रज्ञोपाय नृत्य (गीत), गुरुसय नृत्य, र पन्चसारि नृत्य हाडा भरण (अप्रकाशित श्री पद्मनृत्येश्वर किताववाट) । वज्रयान नाचको नाच प्रदार्शित गर्दा मुकुन्दो नलागाई केवल भेषभूषा र अलंकार मात्र लाउँने चलन छ ।
तान्त्रिक नाच पनि केहि केही भावनृत्यसंग सम्वधित छ । यस्तो नृत्यमा बली भोग लिई मुकन्दो लागाउने चलन छ । जस्तो हरिसिद्धि नाच, सिकाली नाच, नवदुर्गा नाच, गथुनाच, पचली भैरव नाच, न्यतमदु अजिमा नाच, आदिलाई लिन सकिन्छ । यस्तो नाचमा गणदेवले पनि रक्सी खाने चलन रहेको देखिन्छ ।
गोपाल राज वंशावलीनुसार नेपालभाषावाट मौलिक रुपमा पुस्तक लेख्ने चलन ने.स. ५०९ मा राजा जयस्थिति मल्लको शासनकालवाट शुरुवाट भएको थियो । संस्कृत भाषावाट मात्र नाटक लेख्ने परम्परा रहेको वेला राजा जयस्थिति मल्लले सवै भन्दा पहिला मैथिली र नेपाल भाषाको माध्यमवाट “रुक्माङ्ग चरित” नाटक लेखिएको थियो । मल्लकालीन समयमा एउटा नाटकभित्र दुई तीन वटा भाषा प्रयोग गरी नाटक लेख्ने परम्पराको थालिने भएको देखिन्छ । नेपालभाषा समावेश गरी नाटक लेख्ने कार्य पूर्व मध्यकालमा स्थिति मल्ल पछि यक्ष मल्लले पनि गरेका थिए । वास्तवमा नेपालभाषावाट नाटक लेख्ने परम्परा उत्तर मल्लकालको आधातिर भएको थियो । मल्ल राजाहरुले सृजनात्मक नाटक लेख्ने परम्परा ने.स.७०० देखि शुरु भएको थियो भने नाटक प्रतियोगिताको रुपमा नाटक लेख्ने कार्य ने.स. ८०० वाट भएको देखिन्छ ।
राजा यक्ष मल्ल पछि नेपाल मण्डल कान्तिपुर, भक्तपुर र ललितपुर गरी ३ राज्यमा विभाजित भए पनि सवै भन्दा वढी नाटककार राजाहरु भक्तपुरमा नै रहियो । सख्यात्मक हिसाबले सवै भन्दा बढी नाटक लेख्ने राजा भूपतीन्द्र मल्ल हुन् भने नेपालभाषा मात्रै प्रयोग गरी सवै भन्दा वढी नाटक लेख्ने रणजीत मल्ल देखा परे । भुपतीन्द्र मल्लले २९ वटा नाटकहरु रचना गरेकोमा ४ वटा नाटक मात्र नेपाल भाषावाट लेखिएको थियो भने रणजीत मल्लले २६ वटा नाटक रचना गरेकोमा १४ वटा नाटक नेपाल भाषावाट लेखिएको देखिन्छ ।
नेपाल मण्डल तीन राज्यमा विभाजित भए पश्चात सवै भन्दा पहिला नाटककारका रुपमा देखा परेको राजा जगज्योर्तिर मल्ल (ने.स.७२६–७५३) हुन् । कुञ्ज विहार (मैथिली), नवदुर्गा, नलचरित्र (नेपालभाषा), महाभारत, मुद्रित कुवल याश्वर (नेपालभाषा र मैथिली ) हरगौरी विवाह (नेपालभाषा र मैथिली ) समेत गरी यिनले ६ वटा नाटक रचना गरेका थिए भने हरगौरी विवाह नाटकमा राजा स्वयंले अभिनय गरेका थिए ।
राजा जगतप्रकाश मल्ल (ने.स.७६३–७९३) को साहित्यक नाम “जगच्चन्द्र” हो । जगत प्रकाश मल्लको नामवाट “जग” र तत्कालिन मुख्यमन्त्री चन्द्र शेखरको नामवाट “चन्द्र” वाट संयुक्त नामाकरण गरी “जगच्चन्द्र” शुभनामवाट राजा र मुख्यमन्त्री भई नाटकहरुको रचना गरेको देखिन्छ । राजा जगतप्रकाश मल्लले मैथिली भाषावाट लेखिएका नाटकहरुमा चतुर्रकरामायण, नलियनाटक, प्रभावतीहरण, मनद सुन्दरीहरण, मलय गान्धिनी आदि हुन् । “मनद चरित” नाटक संस्कृत र मैथिली भाषावाट उनका कान्छा छोरा युवराज उग्र मल्लको उपनयन्नको वेला लेखिएको नाटक हो । नेपालभाषा र मैथिली भाषावाट अभिज्ञान, शाकुन्तला, उषाहरण र पारिजातहरण हुन् । त्यस्तै राजा जगतप्रकाश मल्लले लेखिएको नेपालभाषाको नाटक “मूलदेव शशिदेव” (यो नाटकलाई जर्मनका इतिहासकार ज्यचकत द्यचष्लपजबगक ले जर्मन भाषावाट अनुवाद गरी आफ्नो मतव्य समेत राखी पुस्तक प्रकाशित गरिएको थियो) त्यसवेला परम्परागत नाटक जातक, पुराण, महाभारत, रामायण र अवदान जस्ता प्राचीन ग्रन्थहरुको विषयवस्तु वनाएर नाटकहरु लेख्ने समयमा राजा जगतप्रकाश मल्लले नेपाल भाषाको माध्यमद्धारा मौलिक तथा प्रगतिशील नाटक लेखिएका थिए । सुमति जय जितामित्र मल्ल (ने.स.७९३–८१६) आफ्नो जीवन कालमा १२ वटा नाटकहरु सृजना गरेको देखिन्छ । यिनले ने.स.७९४ मा लेखिएको महाभारत, कुमार प्रादुर्भाव, र रुथिनीहरण नाटकहरु मैथिली भाषामा लेखिए वाहेक अरु सवै नाटकहरु नेपालभाषामा र संस्कृत भाषावाट सृजना गरेका थिए । मल्ल राजाहरु मध्ये सवै भन्दा वढी नेपालभाषा र संस्कृत भाषा प्रयोग गरी नाटक लेख्ने राजा जितामित्र मल्लले नें.स.८१६ मा आफ्ना उत्तरधिकारी भूपतीन्द्र मल्ललाई राजकाज छोडेको थिए । नवदुर्गा (ने.स.८०६) जैमिनीया भारत (ने.स. ८०९), नवमातृका (ने.स.८०९) नाटकहरु नेपालभाषा र संस्कृत भाषावाट लेखिएको नाटक हो । मदालसाहरण (नें.स.८०७) भूपतीन्द्र मल्लको विवाहको उत्सवमा प्रदर्शित नाटक) र रुक्मिणी परिणय नाटक नेपालभाषा र मैथिली भाषावाट लेखिएको देखिन्छ । “कालय मथनोपाख्यान ” (ने.स. ८०४) नाटक नेपालभाषा, मैथिली र संस्कृत भाषावाट लेखिएको छ । सवै भन्दा वढी भाषा प्रयोग गरी नाटक लेख्ने राजाले नेपालीभाषा, मैथिली, संस्कृत र वंगाली भाषा समेत प्रयोग गरि “गोपिचन्द्र” नाटक लेखिएका थिए । तसर्थ मल्लकालीन राजाहरुमा पहिलो वंगाली भाषा प्रयोग गर्ने राजाका नाममा यिनी प्रसिद्धि छन् । भूपतीन्द्र मल्ल (नें.स.८१६–८४२) धेरै नाटक लेख्ने राजाहरुमा देखापर्दछ । उनले २९ वटा नाटकहरु सृजना गरेकोमा ४ वटा नाटकहरु पद्माबत्ती, विक्रमचरित, श्री खण्डचरित र समन्तकोपाख्यान नेपालभाषावाट लेखिएको देखिन्छ भने राजा रणजीत मल्ल (ने.स.८४२–८९०) सवै भन्दा बढी नेपालभाषावाट १३ वटा नाटकहरु लेख्ने राजामा पर्दछ । जसमध्ये शनैश्चर रोहिष्युपाख्यान (नें.स.८६२), हरगण कथा (नें.स.८७५), चन्द्रागदोपाख्यान नटकम्( नें.स.८६५), ययात्युपाख्यान (नें.स.८८१), गणेश दिक्पाल (नें.स.८८५) वीर वीरिणी ( नें.स ८८५), कृष्ण चरित्रोपाख्यानम, मदन चरित्र, गोरक्षोपाख्यानम्, दिकपाल गणेशोपाख्यान, पुथुपाख्यान, सुबम्हयोपाख्यान, र खडदर्शन नाटकहरु लेखिएका थिए । त्यस्तै नेपालभाषा र मैथिली भाषावाट ११ वटा नाटकहरु नलचरित्र (ने.सं.८४५), इन्द्र विजय (ने.स.८७१), उपाहरण (ने.स.८७४), कोलासुखथोपाख्य (नें.स.८८६), खरवासुर वध (नें.स.८८७) चित्रकेतु भूपचरितम्, जलाशायि, विष्णुवादी सृष्टि पर्यान्त, नवदुर्गा, नल चरितम्, र महाभारत रहेको देखिन्छ । त्यस्तै मैथिली र संस्कृत भाषावाट कृष्ण चरित्र (नें.स.८५८) ,वंगाली, संस्कृत र नेपालभाषावाट कृष्ण कैलाश यात्रोपाख्यान (नें.स.८६७), वगांली, मैथिली र नेपालभाषावाट मान्धातोपाख्यान (नें.स.८७८), बंगाली भाषावाट रामायण लेख्नु हुने प्रतापी राजा रणजीत मल्लले तलेजु भवानीलाई खुशी पार्न अन्धकासुर वद्योपाख्यान (नें.स.८८८) नाटक समेत रचना गरेका थिएँ भनी अन्वेषक प्रा.डा.चुन्दा वज्राचार्यको मत छ ।
पाटनका राजाहरुमा सिद्धिनरसिंह मल्ल (नें.स.७४२–७७७) कात्ति नाचका सृष्टिकर्ता हुन् । नें स.७६१ मा नेपालभाषा र वंगाली भाषा प्रयोग गरी उक्त कात्ति नाच लेखिएको थियो । गोपिचन्द्र (नें.स.७२२), गोपिचन्द्र (नें.स.७२२ फेरि पछि लेखिएको) दकादशी ब्रत (नें.स. ७५१) नाटकहरुको रचना गरेको देखिन्छ भने राजा श्री निवास मल्ल (नें.स.७७७–८०५) ले नेपालभाषा र मैथिली भाषावाट ३ वटा नाटकहरु रचना गरेको देखिछन् ती मध्ये मलयागिरि, गण प्याखंम्ये ( कवितात्मक नाटक ) र दशवतारादि नाटकहरु हुन् । राजा योगनरेन्द्र मल्ल (नें.स.८०५–८२६) पाटनका सवैभन्दा वढी नाटक रचना गर्ने नाटककार हुन् । नेपालभाषावाट विक्रमादित्य, नेपालभाषा र मैथिली भाषावाट कंशवध, कार्तिक प्याखं, महाभारत, नवदुर्गा नाटकहरुको सृजना गरेको देखिन्छ ।
कान्तिपुरका राजा भूपालेन्द्र मल्ल (नें.स.८०७–८२०) ले नेपालभाषावाट पहिलो नाटक “उषाहरण संवरासुखध” नाटक लेखिएको देखिन्छ । त्यसपछि देखा पर्ने राजा भाष्कर मल्ल (नें.स.८२०–८४२) हुन् । उनले नेपालभाषा र मैथिली भाषा प्रयोग गरी स्वस्थानी नाटक र संस्कृत, नेपालभाषा र मैथिली भाषा प्रयोग “किरातार्जु नीच” र वगांली भाषावाट “ गोपीचन्द्र” नाटक लेखिएका थिए । कान्तिपुरमा सवैभन्दा पहिला नेपालभाषावाटै मात्र नाटक लेख्ने राजा जगजय मल्ल (नें.स.८४२–८५६) हुन् । उनको नाटकहरुमा सुन्दर कुमार, अभिनवचद्रादय, उषाहरण, प्रवोध चन्द्रोदय हुन् । राजा जयप्रकाश मल्ल (नें.स.८५६–८८८) कान्तिपुरका सवै भन्दा वढी नाटकहरु लेख्ने राजाका रुपमा देखिन्छ । रत्नेश्वर प्रादुर्भाव, वीरध्वजो पाख्यान, स्वस्थानी व्रत, भैरव प्रादर्भाव (संस्कृत), मालती माधव (मैथिली र नेपालभाषा) उनका कृतिहरु हुन् । रानी दयावतीसंग राम्रो मेल नभएको कारणवाट उनका नाटकहरुमा प्रेमलीला सम्वन्धी धेरै कुराहरु उल्लेख गरिएको छन् । रत्नेश्वर प्रादुर्भाव नाटक कवितात्मक शैलीमा लेखिएको उनको उकृष्ट गीति नाटक हो । उनका नाटकहरुमा शत्रुलाई हराएर राज्यलाई जनताले संरक्षण दिनु पर्छ भन्ने मुल आशयहरु अभिव्यक्त गरेको देखिन्छ ।
मल्लकालीन समयमा एउटा नाटकलाई धेरै राजाहरुले लेख्ने परम्परा थियो । एउटा नाटकलाई अनुवाद गरी लेख्ने परम्परा उत्तर मध्यकालमा मात्र नभई पूर्व मल्ल कालदेखि नै प्रचलनमा रहेको पाइन्छ । यसरी नाटक लेख्दा भाषा फरक गर्ने वा आफ्नो नयाँ प्रतिभाहरु समावेश गर्ने आदि जस्ता कार्यहरु गरिन्छन् । जस्तो राजा जगतप्र्रकाश मल्लले नेपालभाषावाट लेखिएको “मूलदेव शशिदेव” नाटक नें.स.८२६ मा राजा भूपतीन्द्र मल्लले फेरी संस्कृत र मैथिली भाषा प्रयोग गरी लेखिएको देखिन्छ । त्यस्तै महाभारत नाटक पनि भक्तपुरका राजाहरु जगज्योतिर मल्ल, जीतामिेत मल्ल, र रणजीत मल्लले लेखिएको देखिन्छ भने पाटनका राजा योगनरन्ेद्र मल्ल र कान्तिपुरका राजा जयप्रकाश मल्लले समेत लेखिएको पाइन्छ । मल्लकालीन समयमा हास्यव्यङ्ग नाटकहरु पनि देखा पर्दछ । सिद्धिनर सिंह मल्लले लेखिएकोे कत्ति प्याखं हास्य व्यङ्ग नाटक हो ।
शाहवंशकालमा श्री ५ राजेन्द्रवीर विक्रम शाह राजा भए पनि जनताको भाषा नेपालभाषावाट “महासत्वपाख्यान” नाटक लेखिएको देखिन्छ । जुन नाटक मल्ल राजाहरुले जस्तै शास्त्रिय ढंगवाट भगवान वुद्धका विषयमा लेखिएको हो । तत्कालिन समयमा मानवीर कक्षपतिले ने.स.९५९ मा नेपालभाषा र मैथिली भाषा प्रयोग गरी “कृष्ण चरित” नाटक लेखे भने रत्न नारायणले ने.स.९५८ मा नेपालभाषा र मैथिली भाषा प्रयोग गरी “मदालसाहरण” नाटक लेखें । ने.स. १००२ मा रत्नमुनि गुभाजुले “स्वस्थानी कौतक” नाटक लेखें भने श्यामानन्दले “बज्रिवाहु राजाया नृत्य” र “सूर्यकेतु राजाया नृत्यु” लेखिएका थिए । त्रिभुवनको शासनकालमा दैवज्ञ शंकर दासले “कार्तिक महात्म्ये” र “जलधंर” नाटक सृजना गरेको देखिन्छ भने ने.स. १०२० मा पृथ्वीवीर विक्रमको पालामा किर्तीपुरका जुधवीरले “रुक्मागत” नाटक लेखेका थिए भने राणा शासनकालमा साहित्य सृजनालाई पूर्ण रुपमा निषेघित गरिएको देखिन्छ ।
ज्यापु प्याखं, नेपालभाषा साहित्यको एउटा गौरवमय् नाटकको रुपमा रहेको देखिन्छ । यो नाटकमा बाजा, बाँसुरी र बय्को प्रयोग गरिन्थ्यो । गाइजात्रा (गुंपुन्हि) को समयमा नासःद्यः (विश्वकर्मा देवता) को पुजा गरी नाटकको प्रहर्सन गर्ने गरिन्छ । यस्तो नाटक गंपुन्हि (गाइजात्रा) मा देखाउने र जनताले हेर्ने इच्छा व्यक्त गरे इन्द्रजात्राका दिनसम्म मञ्चन भए पनि यो पछिसम्म रहियो र हाल वन्द छ । खास गरी नेपालभाषामा संक्रमणकालमा सृजना भएका नाटकहरुमा महासत्वराजाया प्याखं, कवीरकुमारया प्याखं, लालहिराया प्याखं, विश्वन्तरया प्याखं, र कर्मवीर कामेश्वरी प्याखं, गरी वर्गीकरण गर्न सकिन्छ । नेपालमा भैरहेको शोषणलाई विरोध गदैं विं.स. २००२ सालमा चेतनशील कलाकारहरुले “कुम्हादाजु ” नाट प्रदर्शित गरे भने जातिय परम्पराको विरोधमा अन्तर जातियलाई समर्थन गरी “ करणाकुञ्ज” नाटक मञ्चन भएको देखिन्छ । त्यस्तै विद्यवा विवाह, अनमेल विवाह, छुवाछुटलाई विरोध गदैं वि.स. २००६ सालमा “समाज” नाटक प्रदर्शित गरेका थिए । यस्तै दयालक्ष्मीचिया प्याखं, भ्यालिचा र कठपुतली नाटक समेत जनताहरुले रुचाएका थिए ।
नेपालभाषा साहित्यमा नाटकको आधुनिक काल नेें.स. १०६८ देखि ने.स. ११०८ लाई लिन सकिन्छ । नेपालभाषा क्षेत्रमा सवैभन्दा पहिला ने.स. १०६८ मा “शाक्यानि” नाटक लेखी कवि केशरी तथा साहित्य शिरोमणि चित्तधर हृदय देखा पर्दछ भने यो पछि पुस्तिकाको रुपमा ने.स. १०७० मा “गौतम वुद्ध” एकाकी नाटक लेखी सत्यमोहन जोशीको आगमन भएको देखिन्छ । कवि केशरी तथा साहित्य शिरोमणि चित्तधर हृदयले नें.स. ११०८ सम्ममा एकाकी र पूर्णाङ्की नाटक गरी जम्मा ४३ वटा नाटकहरु लेखिएको पाइन्छ । वस्तुतः नेपालभाषा क्षेत्रमा ऐतिहासिक विषयवस्तुलाई आधारमानी नाटक लेख्ने नाटककार सत्यमोहन जोशी हुन् । उनले ने.स.१०७५ मा “सिद्धिदास” नाटकमा लेखएको थियो भने ने.स.१०९१ मा “७ दँ लिपा” नाटकमा जेल जीवनलाई समेटेको देखिन्छ । ने.स. १०७६ मा “संक्षिप्त नेपालभाषा शब्दकोष” लेख्ने पन्नाप्रसाद जोशीको सम्झनामा “बैद्य बा” नाटक लेखिएको देखिन्छ । एतिहासिक घटनालाई लिएर हेमलाल जोशी र भिक्षु सुदर्शन पनि देखा पर्दछ । ने.स.१०८५ मा हेमलाल जोशीले “सदाशिव” नाटक र ने.स. १०८२ मा भिक्षु सुदर्शनले “जुजु जय प्रकाश” नाटक लेखिएको देखिन्छ । आधुनिक नेपालभाषा नाटक विध्रामा सवै भन्दा वढी नाटक लेख्ने नाटककार भिक्षु सुदर्शन हुन् । उनले १२ वटा नाटकहरुमध्ये पहिलो प्रकाशित अम्वपाली (ने.स.१०७५), राष्ट्रघात (ने.स. १०७७), जुजु जय प्रकाश (ने.स.१०८२), विम्वसार (ने.स.१०८२),आशंका (ने.स.१०९१), सुप्रिया (ने.स.१०११), प्रतिशाोघ (ने.स.११०८) र पताचार (ने.स.१११७) प्रकाशित भएका छन् भने अप्रकाशित कृर्तिहरुमा“जि वया ला लहि मदुनि”, “विश्वासघात”, “विजय” र “सिध्दान्त” रहेको देखिन्छ । त्यस्तै नें.स १०८७ मा “कल्याणी” नाटक लेखी जनकलाल वैद्य देखापरेको पाइन्छ । सामाजिक नाटकहरुमा ईश्वरानन्द श्रेष्ठाचार्य, वासुशशि, हेमलाल जोशी, गिरिजाप्रसाद जोशी र वासुपासा, नाटक उल्लेखित रहियो । ईश्वरानन्द श्रेष्ठाचार्य नेपालभाषा नाटक विघामा सवैभन्दा पहिला समस्यामूलक नाटक लेखी देखा पर्दछ । उनको “थःगुछेँ” (नें.स. १०७८), फसंतु लप्ते (ने.स.१०८०) जस्ता समाजिक समस्याहरुलाई केन्द्रीकृत गरी लेखिएको नाटक हुन् भने वासुशशिका नाटकहरुमा पहिलो नाटक “ताःचा प्वाँय्” “झुमियःम्ह मनू ” (ने.स. ११०७) रहेको छ । वास्तावमा “झुमियःम्ह मनू” को अर्को नेपाली रुपान्तरकोे रुपमा “ बासुरीमा नअटाएको धूनहरु” नाटकलाई पर्यावाचिकका रुपमा लिन सकिन्छ । हेमलाल जोशीको “रुपा” ( ने.स. १०८६), गिरिजा प्रसाद जोशीको “बाखाछेँ” ( ने.स. ११०२ ) र “हाकु स्वाहाने” (ने.स. ११०७), बासुपासाको “श्रध्दा” (ने.स. ११०४) पूर्णाङ्की नाटकको रुपमा देखा परेको देखिन्छ भनी समालोचक तथा इतिहासविद् प्रा.डा.चुन्द्रा वज्राचार्यले आफ्नो पुस्तकमा उल्लेख गर्नु भएकी छिन् ।
आधुनिक कालमा सवैभन्दा पहिला नाटक सृजना गर्ने कवि केशरी तथा साहित्य शिरोमणि चित्तधर हदृय हुन् । उनले ने.स. १०६८ मा “शाक्यानि” प्रकाशित गरी श्री गणेश गरेको देखिन्छ । त्यसपछि धुस्वाँ सायमिको “त्रिवेणी” (ने.स. १०७२), स्वयम्भूलाल श्रेष्ठको “दवु”, जनकलाल वैध र सुन्दर कृष्ण जोशीको “हेँय् सुयाम्ह”, गोविन्द्र हरि नेकु र हरि श्रेष्ठको “शान्ति या निपु रुपक” लेखिएको देखिन्छ । सामाजिक एकाकी नाटकको श्री गणेश धुस्वां सायमिको ने.स. १०७२ मा प्रकाशित गरेका “त्रिवेणी” हो । त्यसपछि दिनेश भुजुको “बाया वंगु–लँपु” (ने.स. ११०३), दुर्गालाल श्रेष्ठको “प्याखपिवा” (ने.स. ११०५), हदयचन्द्र सिहं प्रधानको “सितिलामाष्टर”, परमानन्द वज्राचार्यको “बसुन्धरा”, मथुराकृष्ण सायमिको “मिलापू” पुष्परत्नको “विश्वास” । स्वयम्भूलाल श्रेष्ठको “धनया सदुपयोग”, गणेश राम लाछिको “ह्वंगासिं” पत्रपत्रिकामा देखापरेका नाटककारहरुमा सुभाषवीर सिंह कंसाकारको “अपराध व दण्ड” र “चिल्लाय् दंगु सः” । दुर्भललाल सिंह सुवालको “मुना परिवार” गोविन्द्र चिकंमुको “अलः फय्”, “पुरस्कार”, भिक्षु सुदर्शनको “मिपुसा”, “कला व कलाकार”, जनक लाल वैद्यको “अस्तित्वया भू”, पुष्प चित्रकारको“कंलाय्”, त्रिरत्न शाक्यको “अपराजित लेखक” “छपाः किपा”, मानसागर श्रेष्ठको “ब्वापुया पुसा”, घनश्याम राजकर्णिकारको “अपरचित लिसे”, पुष्परत्न तुलाघरको “विश्वास”, शरण स्थापितको “सिरपा”, शशिकला मानन्धरको“वयात हिंस्याये मत्य”, भूषणप्रसाद श्रेष्ठको “माप झीगु अस्तित्व” आदि नाटकहरु पत्र–पत्रिकाहरुमा प्रकाशित भएको देखिन्छ ।
एतिहासिक एकाङ्की नाटकको शुरुवात हेमलाल जोशीको ने.स.१०७६ मा प्रकाशित “खड्गसिद्धि” नाटक हो । जनकलाल वैद्य र सुन्दरकृष्ण जोशी समेतले लेखिएको “शहीद धर्मभक्त”, “पृथ्वीनारायण शाह”, “बलभद्र” नाटक पनि एतिहासिक एकाकी नाटक हो । त्यस्तैं अन्य नाटककारहरुमा सूर्यबहादुर पिवाः , जगत सुन्दर मल्ल र पुष्प बहादुर चित्रकार नाटककारहरु देखा परेका थिए । हास्यव्यङ्ग नाटक विद्या पछि मात्र आएको हो । ने.स. १०७८ मा प्रकाशित पुष्परत्न बज्राचार्यको “विवाह समिति”, पद्मरत्न तुलाघरको “आ जितः न तनतन दयावल” (ने.स.१०९७), “ख्याः बछि नी बछि” (ने.स.११०४), श्री कृष्ण अणुको “खःला मखुला” (ने.स.१०९७), रामशेखरको “घिन्ताल्ल” (ने.स.१०९९), हास्यव्यङ्ग नाटकहरु प्रकाशित भएका छन् । ने.स १०९७ सालदेखि हास्यव्यङ्गको लेखन कार्यमा अझ विकास भएको देखिन्छ । रुवि प्रकाशनले नें.स ११०६ र ११०७ मा “हाफ ष्वायल” नामक पुस्तक प्रकाशित गरी थुप्रै हास्यव्यङ्ग नाटककारहरुको नाटक समावेश गरिएको थियो । शैलेन्द्र श्रेष्ठको “शुभविवाह”, श्यामलाल दिवाकरको “मंकादेय्” अमिररत्न तुलाघरको “सामुदायिक सेवा”, माधव एन श्रेष्ठको “जाकि दनीगु जुल”, रमेशमान ज्वालाको “एशियाली मापदण्ड” प्रकाशित भएका छन् । पत्र–पत्रिकाहरुमा पद्मरत्न तुलाघरको “शिक्षक विद्यार्थी” “महामूर्ख” , “सनांगुथिं”, श्री कृष्ण अणुको “चिसंलाःम्ह बाज्या”, रामशेखरको “मिसा सम्वत”, “सःलु ”, भूषणप्रसाद श्रेष्ठको “सरस्वती सदनय्” अमिररत्न तुलाघरको “लपंख्या”, “टाफिक सिस्टम, “नये पित्याःचापिनिगु विचाः, “हाः हाः ”, प्रकाश बज्राचार्यको “क्यनेम्वाःगु ख्याल”, “फ्वगिं गुथिं”, तुयुबहादुरको “जि दने मफूत”, हेरानन्द शाक्यको “भौचा कुनाः प्यं थयेगु” , उद्धव मास्केको “खेल शुरु”, सुरेश खड्गीको “छेँया वैठक”, श्यामलाल दिवाकरको “मालामाल”, बालकृष्ण ज्यापुको “धापू” आदि प्रकाशित भएको देखिन्छ ।
नेपालभाषा क्षेत्रमा गीति नाटको शुरुवात ने.स.१०९१ मा दुर्गालाल श्रेष्ठको “विहांचुली” गीति नाटकवाट भएको हो । त्यस्तै शुक्रराज महर्जनको “सवार्थ सिद्धि” ने.स. ११०७ मा गीति नाटक प्रकाशित भएको थियो भनी समालोचक तथा इतिहासविद् प्रा.डा.चुन्दा वज्राचार्यले आफ्नो पुस्तकमा धारणा व्यक्त गर्नु भएकी छिन् ।
अन्तमा प्रजाले नखाएसम्म नखाने राजा महेन्द्र मल्ल जस्तो जन्म भएको त्यस युगमा चाँदीका मुद्रा (महेन्द्र मल्ली ), स्वर्णका मुद्रा (प्रतापी राजा जयप्रकाश मल्लको शाासन कालमा चलाएको ) र विश्वकै सवै भन्दा सानो मुद्रा (राजा जयप्रकाश मल्लले चलाएको ‘जावा’मुद्रा) प्रचलनमा ल्याएको थियो भने जनताहरु पनि सुखी, दयावान, शीलवान, नैतिकवान रहनुका साथैं शीपले भरिपूर्ण तान्त्रिक, शिल्पकारी, व्यापारी तथा गुणकारी समेत भएकोले त्यस युगलाई कल्पनै गर्न नसकिने “स्वर्ण युग”ले पुकारिन्थ्यो । भनिन्छ, आफ्नो धान सुकाउँदा अरुले धान राख्न आउँला भनी पालो बस्ने चलन भएको त्यस युगलाई मध्यनजर राखी इतिहासका अन्वेषक तथा अध्ययता प्रा.डा चुन्दा बज्राचार्यले नेपालभाषा साहित्यमा नाटकको विकास र समृद्धि कसरी भयो भन्ने सन्दर्भमा प्रस्तुत पुस्तक अत्यन्तैं सरल र सशंक्तढंगले लेखिएको देखिन्छ । उहाँको लेखन शैलीमा सौन्दर्यताको अदभूत छ । गहन विषयलाई पनि अति सरल तरिकावाट भाव व्यक्त गर्न सक्नु उहाँको विशेषता हो । तसर्थ उहाँको योगदान अतुलनीय एवं अनुकरणीय भए तापनि नेपालभाषा साहित्य र भाषिक क्षेत्रमा विशिष्टपूर्ण मूल्यांकन हुन नसक्नु दुःखको कुरो हो । हाम्रो साहित्यको विडम्वना पनि हो । भनिन्छ, सिद्धान्तले सृजनाहरु जन्माउँन सकिदैन तर सृजनाहरुले सिद्धान्त जन्माउन सक्छ । त्यसैले नेपालभाषा साहित्य र भाषिक क्षेत्रमा जीवनभर लागि परेकी संस्कृतिविद् तथा इतिहासकार प्रा.डा. चुन्दा वज्राचार्य जस्ता अन्य थुप्रै प्रतिभाशाली व्यक्तित्वहरुको योगदानलाई कदर गरी अबका पुस्ताहरुले निश्चय नै चिन्तन मनन गर्नु पर्नै आवश्यक देखिन्छ ।
प्रकासित मिति २०८०-११-८

फेसबुकबाट तपाईको प्रतिक्रिया