सात खर्ब ६३ अर्बबराबरको विप्रेषण भित्रियो

काठमाडौं २१ माघ २०८१ । चालु आर्थिक वर्षको ६ महिनामा सात खर्ब ६३ अर्ब आठ करोडबराबरको विप्रेषण आप्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह चार दशमलव एक प्रतितशले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव २ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक दशमलव एक प्रतिशतले वृद्धि भई पाँच अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९ दशमलव पाँच प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) आठ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय सात खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो ।

केन्द्रीय बैंकका अनुसार, सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या दुई लाख ३० हजार चार सय ३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ६२ हजार छ सय २८ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यो संख्या क्रमशः दुई लाख हजार तीन सय ९० र एक लाख ३३ हजार नौ सय ४० रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया