सिद्धिचरणका जेल संस्मरण
–स्वयम्भू शाक्य
नेपाली साहित्यमा क्रान्तिको पहिलो विगुल फुक्ने चम्किला तारा सिद्धहस्त महारथी युगकवि सिद्धिचरण श्रेष्ठ मूलतः स्वच्छन्दतावादी प्रकृतिप्रमी आर्दश तथा क्रान्तदर्शी जाज्वल्यमान मूर्घन्य साहित्यक विभूति मध्येका एक सुविख्यात नाम हो ।
वि.स. १९९१ सालमा “सुमती” नामक पहिलो सामाजिक उपन्यासका स्रेष्टा विष्णुचरण श्रेष्ठका एकलो सुपुत्र कविवरको जन्म ओखलढुङ्गामा भएबाट उहाँले ओखलढुङ्गा काव्य क्षितिजबाट सिद्धित्व प्राप्त गर्नु भएको हो ।
असंख्य कृतिहरुमध्ये सिद्धिचरणका जेल संस्मरण नामक कृति साहित्याकाशमा उदीप्त सरुभक्तद्वारा सम्पादित नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानको बलले प्रकाशित गरिएको प्रस्तुत संस्मरणमा सम्झनाका पानाहरु दुई भागमा विभाजित गरी परिशिष्ट समेत समावेश गरिएको छ ।
वि.स. १९९७ साल कात्र्तिक २ गते पक्राउको पहिलो दिन “तपाईलाई सिहंदरबारबाट बोलावट भएको छ ।” “हुन्छ त जाउँ” भन्ने आगोको सानो झिल्कोले मुस्लो बनी खरानी भएको प्रस्तुत संस्मरणमा करिब सात घन्टा भन्दा बढी घरमा खानतलासी गरि शंका लागे जति सम्पूर्ण कागजातहरु साढे तीन बजेतिर सिहंदरबार पुर्याइन्छ । आजभोलि रेडियो नेपाल रहेको घरलाई त्यस बखत स्कूलघर भनिन्थ्यो र त्यहाँ राणाका छोराछोरीहरु पढाइन्थे । त्यस ठाउँ खाली गरेर पक्राउ परेकाहरु गंगालाल, धर्मभक्त, दशरथचन्द, फते बहादुर सिंह, जगतमान वैद्य, पूर्ण नारायण प्रधान, योगवीर सिहं कंसाकार लगायत कविवर आठौं व्यक्ति रहेछ भन्ने कुरा पहरेदारले उहाँलाई ८ नम्बरको नाम दिएबाट थाहा हुन्छ । हरेक काल कोठरीमा दुई जना मात्र राख्ने भएकाले सहयात्री महावीर स्कूलका संस्थापक चिनियालाल सिंसँग कवि सिद्धिचरण राखिएको र निरकु्श जहाँनिया तानाशाही शासकले मानौं कुनै हिंसक जनावर भन्दा पनि खतरानाक जस्तो ठानेर खोरमा राख्दा पनि अचाकली निगरानी गरि पाठो र बाघको कथा झैं कालकोठरी एउटै भएपनि चिनियालालसँग मुखामुखसम्म गर्न पाइदैनथ्यो ।
मुख मुद्रामा प्रत्यत्तरहिन बोलीले आज सिद्धिचरणको रवि अस्ताउँन खोजेको छ । व्यथाले ज्वालामुखी फुटेपछि नदीको किनार झैं छिया छिया भएर मानौं विशाल पहाडले छेकेको छ । भेडाबाख्रा झैं भोकाएको कुकूरले पनि नखाने मुसाको लींढ मिसिएको गनाउँने एकमाना जति चिउरा र मट्टितेलको हस्को आउँने ढुसी पसेको आलुको तरकारी खान आज बाध्य भएर प्रजातन्त्रका लागि निल्नु परेको छ ।
जिब्रो छापबाट चलेको शासनमा कसलाई के थाहा भोलि के हुने हो ? परन्तु आजले भोलिलाई तानेर पक्राउको दोश्रो दिन अजिंङ्गरको मुखमा पस्न लागेको प्राणी झैं मनमा थुप्रै घात प्रतिघात बोकेर के के सोँचु के नसोचुँ मान्छेले मान्छेलाई यतिसम्म कठोर निर्मम व्यवहार पनि गर्न सकिदो रहेछ भन्ने भावनामा चिन्ता,आक्रोश र शंकामा रात बिताउँछन् ।
पक्राउको तेश्रो दिन कर्तिक ४ गते बिहानले घाउँपट्टी खोल्दा र देशको साँचो खोतल्ने रोगीहरुको इलाज शुरु भयो । जस्तो जस्तो सर्कार गर्दछ, त्यसैलाई अहोभाग्य नसम्झी देशमा यसो भएन त्यसो भएन भन्ने मानिसहरु रोगी त हुन् नि । यिनीहरुको अपरेशन नगरी हुन्छ र ! त्यस्ता रोगीहरुको अपरेशन नगरे यही रोग अरुलाई पनि सर्न के बेर ? अनि रक्तरञ्जित छल र बेइमानीले ओगटेको शासनको बागडोर चुडिन के बेर ? जोतिसकेका गोरुले काँढको जुवा फल्न खोज्छन् भने के अपराध होइन र ? त्यस्तो गोरुलाई बेलामा चटाई र विराइले मर्मत गर्न सकिएन भने तिनीहरुले अरु पनि जुवा फुकाउन लगाउने छन् । नेपाली जनता पनि गोरु जस्ता न हुन् भन्ने राणाहरुले ठानेका थिए । यी खर्पने र नाम्लेहरुलाई राजकाजको चासो किन चाहियो ? हामीले दर र दुनियाँको भलो हुने काम गरिरहेकै छौं नि ! बडो जानिफकार भएर विरोधको आवाज उठाई हिड्ने यी नाथेहरुलाई कठोर सजाय नदिई हुन्छ र ? राणा शासकहरु यस्तै ठान्थे । संस्मरणका साथ कवि उल्लेख गर्दछन् । करुण दृश्य देखेर ढुङ्गाको पनि मन पग्लन सक्ने आजको दिन रहस्योदघाटनले गंगाालाललाई डेढ घण्टासम्म बाँसमा हातखुट्टा बाँधी भूइँमा खुट्टा नछुने गरि झुण्डाएर कोर्रा बर्साएर प्रज्ञापरिषदका सदस्यहरुका बारेमा बुझन थुप्रैं अमानवीय यातना दिएतापनि आफूलाई थाहा नभएको भनी जवाफ दिए पछि एउटा जर्नेलले तेरो मासुको टुक्रा टुक्रा काट्ने छु भनी नाङ्गो खुकुरी देखाएको थियो । तसर्थ देखेको भन्दा नदेखेको जाति, सुन्नुभन्दा नसुनेकै जाति भनेर कवि भोलि के हुने हो । अब कसलाई पिट्ने चुट्ने होलान् भन्ने चिन्ताले यो रात नै लम्बिएर विहान नभइदिए हुन्थ्यो भन्ने भावना व्यक्त गर्दछन् ।
पक्राउको चौथो दिन, रिसाएको बाघको पञ्जा जस्तै यो सिंहदरवारको स्कूल घर भैरहेछ । यँहा ५०-६० बन्दीहरु खरायो जस्तै जकडिएका छन् । रिसाएको सिंहले के गर्ने हो ? सौन्दर्यका धनी राममाया जसले कालकोठरी सफा सुग्धर गर्ने गर्दथ्यो –ले हाम्रो खबर ओहोर दोहोर गरि हुलाकीको रुपमा थुप्रैं मद्दत गरेकी थिइन् –लाई आज कवि फ्लोरेन्स नाइटीङगेलसँग तुलना गर्दछन् ।
पाँच गतेका दिन विहान ११ बजे सिद्धिचरणलाई विधालयको कौसीमा बोलाउँछन् । “आज नखाऔं नसुतौं आऔं सब मिली हडताल मचाऔं, कसरी चल्ला विधिको सृष्टि लौ त्यसको पाइन हेरौं” मा यो हडताल मचाऔं भनेको के ? “ क्रान्ति बिना थन दई मखु शान्ति” भनेको के ? फ्रान्समा जस्तैं रिभोल्युशन गर्न चाहेको होला होइन ? यो सरकार भएन अर्को सरकार चाहियो भनेर भनेको हैन र ? भन्ने जस्ता थु्रपै प्रश्नमाथि प्रश्नहरुले केरकार शुरु हुन्छ । यही क्रममा बालकृष्ण शम्सेर (सम) पनि समय समयमा आउने जाने व्रmममा कागजपत्रहरु हेर्ने गरेको सम्झना गर्दछन् ।
तीन महिना भो जिब्रो छापेहरुको केरकारले सिद्धिचरण क्रान्तिकारी कवि र शारदाको सम्पादक भएको ठहर गरिन्छ । पुतली बगैंचामा श्री ३ बाहेक अन्य आसेपासेहरुको जमघटमा केशर शम्सेरले हेमन्तको विषयमा कविलाई लेख्न के अराएको थियो पद्दम शम्सेरले हिन्दू आर्य भूमि नेपाल र यहाँको क्षेत्रीय धर्मको बारेमा लेख्न आदेश दिइयो । केही समय पछि शुक्रराज शास्त्रीलाई ल्याइयो । नेवार भएर वेद पढ्ने, गीताको प्रवचन गर्ने भन्ने प्रश्नमा शुक्रराज शास्त्रीले मलाई वेद पढ्ने अधिकार छ । हक हो राइट हो । तर ज्ञानको बल त्यहाँको मूढे बलका अगाडी केही लागेन । बहादुर शम्सेरको मुख रीसले रातो भएको थियो र उनलाई केही समय पछि बाहिर लगियो । तर कविले शार्दुलविव्रmीडित छन्दमा ३।४ श्लोक जति लेखेको कविता पद्म शम्सेरले लिएर अरुलाई सुनाए पछि कविलाई बाहिर लगिन्छ र हिजो फते बहादुर, चिनियालाल, केदारमान व्यथित र धर्मरत्नको खुट्टामा नेल लगाए जस्तै आज मेरो खुट्टामा एक धार्नीको नेल र त्यति नै धार्नीको सिक्रि लगाएकोले थुप्रैं आशा र आकान्क्षाहरु ग्लानी भएर शोकमा परिणत हुन्छ ।
“म बूढो साठी वर्ष नाघिसके मलाई भने त्यति डर छैन, मलाई अघि लगाएर देशको दुःखमोचन हुने काम तपाईहरु गर्नु होस्” उक्त भनाई सिद्धिचरणका पिता नेपाली साहित्यका पहिलो मौलिक सामाजिक उपन्यासकार विष्णुचरण श्रेष्ठले फते बहादुरलाई भनेका रहेछन् । आज फते बहादुरलाई कागज गर्नका लागि स्कूल घरमा बोलाएको रहेछ । मेरो विरामी बालाई त्यहाँ देखेको कुरा कविवरलाई सुनाउँनु भएकोले थाहा पाइयो । आफूलाई पक्रेको एक महिना पछि बालाई पक्रेको र मृत्यु पर्यान्त काजकृया समेत गर्न नपाएको व्यथाले सताउँदै संस्मरणमा लेखिएको छ “ मेरो बाले राजनीतिक पर्चा यसरी छयाउनु पर्छ भन्ने तरिका बताएको कुरा प्रकाशमा आएकोले मेरो बा पक्राउमा पर्नु भएको रहेछ ।”
नेल र सिक्रि लगाउनु एक किसिमको गहना लगाउँनु पनि हो । नजाने अहिले हामीलाई परेको नेल ईश्वरले दिएको बरदान त हुने होइन ? जे भयो भयो । यसमा फिक्रि लिएर म किन चिन्तित होऊँ भन्दै कविवर अतीत कोत्याउन्छ । “देश सुतेको थियो, व्यूँझनेहरुलाई पनि उठ्न दिइएको थिएन् । भयावह स्थिती भयो । चाकरी गर, कुनै राणाकहाँ गएर आफ्नो आत्मा बेच, नत्र तिमीलाई जिउँने हक छैन ।
पक्री लगेको ८३ दिन पछि माघ महिनाको ७ गते ३ वा ३ः३० बजेतिर ३२ जना क्रान्तिकारीहरुलाई सिंहदरबार बेलायती बैठकको अगाडी बायाँतिरको पटाङ्गनीमा उभ्याई फैसला गर्दा धर्मशास्त्रका श्लोक र तत्कालिन राजकाज सम्बन्धी ऐनलाई आधार मानेको पाइन्छ । धर्मशास्त्रका श्लोकहरुमा “राजाको निन्दा गर्ने, राजालाई गाली गर्ने, राजा कहाँ भएको गुप्ती कुरा बाहिर प्रकाश गर्ने यस्तालाई जिब्रो काटी देश निकाला गर्नू ” । त्यस्तै “राजाको ढुकुटी फोर्ने राजासँग विरोध विगार गरेर चल्ने, शत्रुलाई उचाली बहकाई राजासँग वैरभाव गराउने यस्तालाई सर्वस्व हरण गर्नु, अङ्ग छेदन गर्नू, मार्नू ” ।
त्यस्तैं तत्कालिन राजकाज सम्बन्धी अैनको ३६ नम्बर मा श्री ५ सर्कारका गाथ सम्बन्धीमा र श्री प्राइम्मिनिष्टर र कम्याण्डर इनचीफको ज्यू जान्या, रोटी जान्या, सलतनत ढुंगाको खलल हुन्या कुराको जालसाज गन्र्याको अैन बमोजिं ज्यान काटिया पनी नमारिया पनी यस्ता मानिसहरुको सँग बसेका भाइ, छोरा, स्वास्नी समेतको अंश सर्वस्व गरी लिनु वा तेस खतुकीको मात्र सर्वस्व गरी लिनु कसैको पनी सर्वस्व गरी माफ गरी छाड्नु श्री प्राइम्मिनिष्टरको तजविजले गर्नु भनी उल्लेख भएकोले सोही ऐनलाई समेत आधार लिई फैसला भएको पाइन्छ ।
सर्वस्व भई ज्यान सजाय हुनेहरुमा शुकराज, धर्मभक्त, दशरथ चन्द,गंगालाल र पूर्ण नारायण प्रधान (पछि ज्यान माफ भई १८ वर्ष कैद भएको ) ।, सर्वस्व भैं मुडी दामल हुनेमा टंक प्रसाद पाध्या र रामहरि पाध्या । सर्वस्व भई जन्म कैद हुनेहरुमा चन्दमान सैंजु, फत्य बहादुर, चिनियालाल, गोविन्द प्रसाद पाध्या, पुष्करनाथ पाध्या, मुकुन्दनाथ पाध्या, चुडा प्रसाद पाध्या, बल बहादुर पाण्डे, गणेश मान श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, मुरलीधर पाध्या (सर्वस्व नहुने), सर्वस्व भई १८ वर्ष कैद हुनेहरुमा सिद्धिचरण श्रेष्ठ, जीवराज पाध्या, धर्मरत्न, केदारमान श्रेष्ठ र चन्द्रमान मास्के, १२ वर्ष कैद हुनेहरुमा ध्रुवजी पाध्या, गणेशलाल श्रेष्ठ, मरिचमान, कटक बहादुर, रामदास खट्ट (सर्वस्व समेत भएको), ६ वर्ष कैद हुनेहरुमा रामजी जोशी (नेल नठोकी जेल गएको) फणीन्द्रराज हमाल, पूर्णबहादुर एम.ए, चित्तधर तुलाधर, ५ वर्ष कैद हुनेहरुमा राजा लाल कलवर (वीरगंजको समेत सर्वस्व), ३ वर्ष कैद हुनेहरुमा भूपाल श्रेष्ठ, अवन्ति नाथ पाध्या, नूतन राज पाध्या, ज्योति प्रसाद पाध्या, (स्वंय सेरिएकोले अस्पताल पछि जेल), २ महिना कैद हुनेमा खगेश्वर पाध्या, खोसिएकोमा रामदल सी र भीम बहादुर, ३६० भत्ता खाई गोर्खा जानेमा परिक्षित नसिंङ्ग राणा (अखवार हेर्न नपाउँने), पहाड गई बस्नेमा डी.कुलदीप देव (७ दिन भित्र पहाड जाने), जरिवाना भई छुट्नेहरुमा रु.५००/- महेन्द्र विव्रmम शाह, रु.५०/- पूर्ण बहादुर श्रेष्ठ, कवि प्रसाद पाध्या र आनन्दराम श्रेष्ठ, रु.१०/- चन्द्र बहादुर श्रेष्ठ, टंक विलास, अमृतानन्द, प्रताप बहादुर राजभण्डारी, चन्द्र प्रसाद प्रधान, इन्द्रमान प्रधान, सत्य बहादुर श्रेष्ठ, हरिभक्त, कृष्ण नारायण, सुरेन्द्र राज श्रेष्ठ, ब्रहम प्रसाद, कृष्ण प्रसाद, अजय बहादुर श्रेष्ठ, कृष्ण प्रसाद पाध्या , बल बहादुर श्रेष्ठ, टंक नारायण श्रेष्ठ, जगनाथ प्रसाद, सूर्य प्रसाद, येम बहादुर कार्की, कृष्ण प्रसाद पाध्या, रामकृष्ण श्रेष्ठ, चिनियालाल, तुलसी बहादुर, जगत रत्न तुलाधर, बद्री नारायण, चन्द्रमान जोशी, पूर्ण प्रसाद, नररत्न रंजितकार, देश निकाला भई पहाड जानेहरुमा केशव राज कार्की, चित्र बहादुर खत्री, सफाई लिई छुट्नेहरुमा श्याम बहादुर श्रेष्ठ, धर्मवीर सिंह, जोगवीर सिंह, रघुनाथ पाध्या, जीवनाथ पाध्या, प्रेम राज शर्मा, पं. दुर्गा प्रसाद पाध्या, केशव हल्वाई, वीर बहादुर पाण्डे, दमन राज श्रेष्ठ, जगतमान र तीर्थराजलाई समेत राजकाज मुद्दामा फैसला गरेको पाइन्छ ।
जेल जीवन कठिन र दुःखदायी हुन्छ । तैपनि मातृभुमिको लागि बालुवा निचोरी पानी पिए जस्तैं अति दर्दनाद पीडादायी प्रस्तुत संस्मरणमा आँखा ओछाउँदा इतिहासको त्यो कालखण्डमा परेको आगो कसरी निभ्न गयो डरलाग्दो छ । हो, जिब्रो छाप नैं फासिष्ट जहाँनिया तानाशाही शासन व्यवस्थाको न्याय प्रशासन रहेछ । तिललाई पहाड र पहाडलाई तिल बनाउँनु चाकडी प्रथाको लक्षण रहेछ । गोलो बट्टामा चार कुने बिर्को लगाए जस्तैं युग परिवर्तनका लागि सोच्ने र प्रजातन्त्रका लागि कालकोठरीमा बसी कठोर यातना र आफनो ज्यानको आहुती दिने वीर शहीदहरुको रगतले प्रजातन्त्रको जन्म भएकोमा कोटी कोटी प्रनाम छ । इतिहासले कहिले बिर्सन नसकने ती वीर सपुतहरुको पाउँमा आजका दिन एक अँजुली पानी चढाउँनु छ ।
प्रकासित मिति २०७७–४–१६
फेसबुकबाट तपाईको प्रतिक्रिया