‘सुनसान’ ठमेल
काठमाडौँ २ कार्तिक
मुख्य पर्यटकीय (याम) मौसममा पनि ठमेलका अधिकांश रेष्टुरेन्ट सुनसान बनेका छन् । विगतका वर्षमा ठमेलका सबै रेस्टुरेन्ट एन्ड बार भरिभराउ हुने गरेकामा योपटक पर्यटकको संख्या पातलिएका कारण ठमेलका चल्तीका रेस्टुराँ पनि खाली देखिन्छन् । राजनीतिक अस्थिरता, पर्यटकीय पूर्वाधार र गुणस्तरको अभाव तथा मुलुकमा सिर्जित विभिन्नखाले विपत्तिका कारण पर्यटकको आवागमन कम भएकाले ठमेल क्षेत्रमा असर परेको व्यवसायी बताउँछन् । ‘थर्ड आई रेस्टुरेन्ट’ का सञ्चालकसमेत रहनुभएका पुराना व्यवसायी तेजेन्द्रनाथ श्रेष्ठले विगतको तुलनामा यसपटक पर्यटकीय मौसममा पर्यटकको चहलपहल प्रायः सुनसान रहेको बताए । झन्डै ४० वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध श्रेष्ठको अनुभवमा ठमेलमा पर्यटकीय मौसममा यति धेरै सुनसान भएको पहिलोपटक हो । पर्यटकीय मौसमसँगै दसैँ, तिहार, छठलगायत महत्वपूर्ण पर्व पनि पर्ने भएकाले विगतका वर्षमा धेरै पर्यटक आउने गर्थे । अहिले खासगरी पदयात्रा, पर्वतारोहण, धार्मिकस्थल तथा प्राकृतिक सुन्दरताको अवलोकन तथा पर्वतीय उडानका लागि बढी पर्यटक आउने गर्छन् ।
ठमेल पर्यटन विकास परिषद्का संस्थापक अध्यक्षसमेत रहेका व्यवसायी श्रेष्ठले ठमेललाई साँच्चिकै पर्यटकीय क्षेत्र बनाउने हो भने सरकारले कडा नीति र आचारसंहिता बनाई आधारभूत भौतिक सुविधा पर्यटनमैत्री पूर्वाधार निर्माण, सडक, ढल, खानेपानीको व्यवस्थापन र भवन निर्माणमा एकरुपता कायम गर्न सक्नुपर्ने धारणा राखे ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले मुख्य पर्यटकीय मौसममा पर्यटकको चहलपहल केही बढेको भए पनि व्यापार भने सन्तोषजनक नरहेको बताए ।पर्यटन बजार र पर्यटकीय प्रोडक्टबारे राम्रो प्रचारप्रसार नभएकै कारण पर्यटकको चहलपहल बढ्न नसकेको उनले उल्लेख गरे ।
ठमेलमा सबैखाले गरी चार हजार व्यवसायी र करिब एक हजार घरधनी रहेको बताइन्छ । यहाँ प्रत्यक्ष र अप्रत्यक्षरुपमा तीन लाखले रोजगारी पाएका छन् । ठमेलमा नेपाल भ्रमणमा आउने कुल पर्यटकमध्ये ८० प्रतिशत पर्यटक पुग्ने गरेको परिषद्ले जनाएको छ । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया