भिटोफ-नेपालको २५ औँ अधिवेशन सम्पन्न
माधव घिमिरे अटल
काठमाडौं, १८ चैत २०८०
माधव घिमिरे ‘अटल’ गाउँ पर्यटन प्रवर्द्धन मञ्च- नेपाल (भिटोफ-नेपाल) को २५ औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले शकुन्तला देवकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको छ । कार्य समितिको प्रथम उपाध्यक्ष हरिशरण थपलिया, द्वितीय उपाध्यक्ष मनोहरि दाहाल छन् भने महासचिव चोपेन्द्रबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी विनोद वस्ती, रघुनाथ पौडेल र नवराज तिवारी क्रमशः सचिव, कोषाध्यक्ष र सह-कोषाध्यक्ष छानिएका छन् । त्यसरी नै सदस्यमा रामेश्वर चौधरी, सृष्टि भण्डारी, प्रज्वल अर्याल र सागर आचार्य चयन भएका छन् ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय-सभा अध्यक्ष नारायणप्रसाद दाहालले राजनीतिक अस्थिरता तथा कोभिडका कारण पर्यटन व्यवसाय मारमा परेको उल्लेख गर्दै पचास हजारको लोभमा पचासौँ लाख डलर गुमेकोमा नेपाल उदासीन भएको बताए । विविधताले भरिपूर्ण रमणीय स्थलहरूदेखि तालतलैया र लुम्बिनीलाई हेर्न आउने पर्यटक आकर्षित गर्न नसकिएको उनको स्वीकारोक्ति थियो । सङ्घ, संस्थाको सङ्ख्याले यसलाई निर्धारण गर्न नसक्ने उल्लेख गर्दै विश्व सम्पदासूचीमा रहेका सम्पदादेखि धार्मिक पर्यटन प्रवर्धन गर्न हामीसँग पर्याप्त अवसर छन् । अथाह सम्भावना नेपालमा हुँदाहुँदै बजारीकरण गर्न नसकेकैले अर्थात् पिठोको त कुरै छोडौँ, चामल पनि बेच्न नसकेकाले हामी यो अवस्थामा छौँ भन्ने उनको अभिमत थियो । अनुचित करहरू लगाइएकोप्रति आफ्नो पर्याप्त ध्यानाकर्षण भएको भन्दै त्यसलाई सल्ट्याउन आफू दत्तचित्त भएर लाग्ने उनले वाचा गरे । पूर्वमन्त्री टेकबहादुर बस्नेतले आगामी नेतृत्वले सक्षमतापूर्वक काम गर्न शुभकामना दिए । पर्यटन चुनौतीलाई चिर्दै अघि बढ्ने संस्था हुनाले आगामी दिनमा समेत यसले सम्भावित अप्ठ्यारालाई छिचोल्ने विश्वास व्यक्त गरे । ठिक त्यसैगरी नेपाल पर्यटन बोर्डका नवनियुक्त सदस्य कमल सापकोटाले पर्यटन प्रवर्धन गर्नका निम्ति संयुक्त प्रयास अझै अघि बढाउनुपर्ने उनले बताए ।
ट्याक्स, भ्याटका समस्या निराकरणतिर हामी लागेनौँ भने सम्भवतः हामी पर्यटन क्षेत्रमा भएको अधोगतिलाई रोक्न नसकिने उनको कथन थियो । त्यसरी नै एनएमएका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले कतिपय अनावश्यक करहरूमा नेपाल सरकारले पुनरावलोकन गरेन भने पर्यटन व्यवसाय प्रवर्धन होइन, धराशायी बन्नेवाला छ भन्ने आशय व्यक्त गरे । त्यसरी नै भिटोफ-नेपालका पूर्व-अध्यक्ष शिव लामिछाने, प्रमुख सल्लाहकार प्रा.डा. प्रेम शर्मालगायतले पनि अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा सुरेन्द्रभक्त प्रधानाङ्ग पुरस्कार देवीप्रसाद पन्त, अनलाइन पत्रकारिता पुरस्कार फूर्बा शेर्पा, टीभी पत्रकारिता पुरस्कार एभेन्युज टीभीका कुमारप्रसाद चौलागाईं, गोरखापत्रका केपी गौतमलाई पुरस्कृत गरियो भने जनार्दन अर्याललाई सम्मान गरियो । त्यसरी नै उदयपुरको बडहेबा थारू सामुदायिक होम स्टेलाई उत्कृष्ट घरवास (होम स्टे) पुरस्कारले पुरस्कृत गरिएको छ ।
कार्यक्रम पहिलो-सत्र समापन गर्दै अध्यक्ष गोपाल थापाले आफ्नो कार्यकालमा भएका प्रवर्धनात्मक कामलाई निरन्तरता दिन र थप सम्वर्धनात्मक कामहरू आरम्भ गर्न सुझाए । उनले भिटोफ-नेपाललाई पर्यटन प्रवर्धनको अग्रणी संस्थाका रूपमा विकसित गर्न आगामी नेतृत्वलाई सक्रियताका साथ समर्पित हुनसमेत आह्वान गरे । प्रमुख अतिथिले कर पुनरावलोकन गर्न आफूले सरकारको ध्यानाकर्षण गर्ने भनी गरेको वाचा पूरा हुने कुरामा आफू विश्वस्त रहेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया