स्वास्थ्यमन्त्री गगन थापाले भने-“कांग्रेसले महाअभियोगको नेतृत्व लिनुपर्छ”

काठमाडौं ४ कात्तिक । स्वास्थ्यमन्त्री गगन थापाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोगको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्ने बताएका छन् ।

आज बिहिबारबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा थापा महाअभियोगको पक्षमा उभिएका छन् ।  स्वास्थ्यमन्त्री समेत रहेका थापाले भने- ‘सत्यको पक्षमा उभिनुपर्छ । सत्य के हो भने लोकमानलाई नियुक्ति गर्दा सबै लाचार भएको र गल्ती गरेकै हो ।’

लोकमानलाई ०७० साल वैशाखमा अख्तियार प्रमुख बनाउन लाग्दा आफूसहित २३ जनाले पार्टी बैठकदेखि राष्ट्रपति निवाससम्म नियुक्ति हुँदैन भनेको र नेताहरुले नियुक्ति गर्दैनौं भनेको सुनाउँदै थापाले भने, तर, भोलिपल्टै नियुक्ति गरेर लाचारी प्रस्तुत गरियो ।’

अब कांग्रेसका सामु त्यसबेला गरेको राजनीतिक गल्ती सच्याउने मौका आएको थापाको धारणा थियो । पार्टी बैठकमा उनले भने- ‘अब आत्मसम्मान फर्काउने बेला आएको छ ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया