हायर पर्चेज कम्पनीले जरिवाना २ प्रतिशत बिन्दुभन्दा बढी लिन नपाउने

काठमाण्डौ १२ मंसिर २०८० ।

केन्द्रीय बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रकृयागत व्यवस्था संशोधन गर्दै स्थायी लेखा नम्बर अनिवार्य गरेको छ । राष्ट्र बैंकले सोमबार हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० (चौथो संशोधन, २०८०) जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

संस्थागत रुपमा ऋण लिएमा जुनसुकै ऋण रकमलाई स्थायी लेखा नम्बर चाहिन्छ। व्यक्तिगतका हकमा भने २५ लाख रुपैयाँभन्दा माथिको ऋणमा मात्र अनिवार्य गरिएको छ। २५ लाख वा सो भन्दा कम कर्जा प्रवाह गरेको व्यक्तिबाट स्थायी लेखा नम्बर लिन अनिवार्य हुनेछैन ।

त्यस्तै यसअघि कम्पनीको नाम मात्र लेखे हुनेमा अबदेखि हायर प्रर्चेज प्रालि वा लिमिटेड भनेर अनिवार्य रुपमा लेख्नु पर्ने छ। नाम मात्र लेख्दा कस्तो खालको कम्पनी भनेर द्विविधा हुने भएकाले हायर पर्चेज भनेर लेख्नै पर्ने व्यवस्था गरिएको हो।

यस्ता कम्पनीको प्रमुख कार्यकारीको योग्यता पनि तोकिएको छ। अब कम्तिमा स्नातक उत्तिर्ण व्यक्ति मात्र प्रमुख कार्यकारी हुन पाउने छ।

त्यस्तै राष्ट्र बैंकले पेनाल ब्याजमा पनि सीमा तोकेको छ। अबदेखि ऋणको भाका अवधि नाघेमा २ प्रतिशत बिन्दुभन्दा बढी जरिवाना लिन पाइने छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया