१० अर्ब डलर गुमाए पनि जेफ बेजोस अझै विश्वकै धनी

एजेन्सी २० पुस।

एक वर्षमा १० अर्ब डलर गुमाएर पनि अमेजोनका मालिक जेफ बेजोस विश्वका सर्वाधिक धनी व्यक्ति बनेका छन् ।

२०१९ को अन्तिम दिनमा ब्लुमबर्ग बिलेनाएर इन्डेक्सले सार्वजानिक गरेको रिपोर्टमा उनको कूल सम्पति ११५ अर्ब डलर रहेको थियो ।

माइक्रोसफ्टका संस्थापक बिल गेट्स उनीभन्दा केही पछि, ११३ अर्ब डलरमा रहेपनि २०१९ मा बेजोस आफ्नो पहिलो स्थान कायम राख्न सफल भएका छन् ।

१०० अर्बभन्दा माथि सम्पति हुनेमा बेजोस, बिल गेट्स र फ्रान्सेली व्यवसायी बनार्ड आर्नल्ट मात्र रहेका छन् ।

२०१९ मा विशेष रुपमा बेजोसले धेरै उतारचढावको सामना गर्नुपरेको हो ।

अमेजोनको कारोबार र सेयर प्रदर्शनमा कमि आएपछि यसवर्ष उनले विश्वका सर्वाधिक धनीको शिर्षक गुमाउने अनुमान गरिएको थियो ।

यसका साथै पत्नी मेकेन्जीसँगको डिभोर्सका क्रममा पनि उनले कम्पनीको ४ प्रतिशत शेयर दिएका थिए ।

सो शेयर ३७ अर्ब डलर बराबर हुन्छ जसले मेकेन्जीलाई विश्वकी २५ औँ सबैभन्दा धनी व्यक्ति बनाइदिएको छ ।

यसबीच गत नभेम्बरमा अमेजोनको शेयर झन्डै २८ प्रतिशतले गिरावट आएपछि केही समयका लागि बिल गेट्सले उनलाई हराएका थिए किनकि यता माइक्रोसफ्टको शेयर भने ४८ प्रतिशतले बढेको थियो ।

तर कम्पनीको सो वृद्धिदर केही समय मात्र टिक्न सक्यो जसले अमेजोनलाई पुनः आफ्नो स्थानमा पुर्याएको हो ।

त्यसैगरी सर्वाधिक धनीहरुको सूचीमा चौथोमा वारेन बफेट छन् भने फेसबुकका मार्क जुकरबर्ग पाचौँ स्थानमा रहेका छन् ।

यसवर्ष जुकरबर्गले आफ्नो व्यक्तिगत सम्पतिमा झन्डै २६.३ अर्ब डलर थपेका छन् । त्यस्तै शीर्ष दशकमा पर्न सफल एक मात्र महिला, जुलिया फ्लेसर कोचको कूल सम्पति भने ६२ अर्ब डलर रहेको छ ।  सीएनएन

फेसबुकबाट तपाईको प्रतिक्रिया