१२ अर्ब ९३ करोडको अनुमानित लागतमा मध्यकालीगण्डकी आयोजना निर्माण सुरु

म्याग्दी, फागुन २२, २०८१ । आगामी तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राख्दै मध्यकालीगण्डकी जलविद्युत आयोजना निर्माण सुरु भएको छ । रु. १२ अर्ब ९३ करोडको लागत अनुमान रहेको जलविद्युत आयोजना म्याग्दीको को अन्नपूर्ण गाउँपालिकामा निर्माण सुरु भएको छ । ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजना अगामी तीन वर्षभित्र पूरा गर्ने लक्ष्य छ ।
यस आयोजनामा आइएमई समूहको लागनी रहेको छ भने हाइड्रो सपोर्ट प्रालि प्रवद्र्धक रहेको छ । निर्माणको ठेक्का पाएको सिभिल ठेकेदार रुसुवा मल्टी जेभीले प्रारम्भिक चरणको पूर्वाधार निर्माणको काम थालेको छ। ठेकेदार कम्पनीका इञ्जिनियर विद्युत्जङ्ग रावतले बाँधदेखि सुरुङ निर्माणस्थलसम्म पुग्ने दुई सय मिटर लामो एप्रोच कल्भर्टबाट आयोजनाको भौतिक संरचना निर्माणको काम थालिएको जानकारी दिनुभयो ।
आयोजनाका अनुसार आठ सय मिटर लामो सुरुङबाट ल्याउने पानी अन्नपूर्ण–२ नौनीबगरमा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । सुकेबगरको इनलेट, नारच्याङ पुल नजिकैको अडिट र नौलीबगरको आउटलेटबाट सुरुङ निर्माण गरिने छ । विद्युत्गृहदेखि आउटलेटको हेड एक सय पाँच मिटर अग्लो छ । रन अफ द रिभर प्रकृतिको यस आयोजनाको विद्युत्गृह, स्विचार्ड, कन्ट्रोल रुम जमिनभित्रै बन्ने छ ।
१२ अर्ब ९३ करोडको लागत अनुमान गरिएको मध्य कालीगण्डकी विद्युत् आयोजना दानामा रहेको २२० केभी क्षमताको सवस्टेसनमार्फत केन्द्रीय प्रणालीमा जोडिने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया