१६ अर्ब २५ करोड लगानी अवसर
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_675,h_448/https://businesspati.com/wp-content/uploads/2016/04/ipo.jpg)
काठमाडौं -६ माघ
धितोपत्र बजारमा लगानी गर्न चाहनेलाई नयाँ अवसर जुट्ने भएको छ। चालू आर्थिक वर्षमा विभिन्न कम्पनीले १६ अर्ब २५ करोड रुपैयाँभन्दा बढी मूल्यका साधारण सेयर (आईपीओ) र फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने भएपछि लगानीकर्ताले लगानी अवसर पाउने भएका हुन्। सेयर निष्कासनका लागि नियामक नेपाल धितोपत्र बोर्डमा २८ कम्पनीले आवेदन दिएका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
आवेदन दिएका कम्पनीमध्ये १२ वटा कम्पनीले सेयर निष्कासनका लागि अनुमति पाइसकेका छन्। बाँकी १६ कम्पनी सेयर निष्कासनका लागि बोर्डको निर्णयलाई पर्खेर बसेका छन्। यस वर्ष जलविद्युत् कम्पनी, माइक्रोफाइनान्स तथा इन्सुरेन्स, विकास बैंक तथा एउटा वाणिज्य बैंकले उक्त मूल्यबराबरको आईपीओ र एफपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएका हुन्।
बोर्डबाट अनुमति पाएपछि कम्पनीले सेयर निष्कासन प्रक्रिया अघि बढाउन पाउनेछन्। बोर्डले सेयर निष्कासनका लागि प्रक्रिया पुगे-नपुगेको हेरर प्रक्रिया पूरा गरेका कम्पनीलाई सेयर निष्कासनका लागि अनुमति दिने गरेको छ। ती कम्पनीले १६ अर्ब २५ करोड ४३ लाख रुपैयाँ बराबरका २४ करोड ८५ लाख ८३ हजार नौ सय ५५ कित्ता सेयर जारी गर्न लागेका हुन्।
१३ वटा जलविद्युत् कम्पनीले आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएर पाइपलाइनमा बसेका छन् भने सेयर निष्कासनका लागि अनुमति पाएका १२ कम्पनीमध्ये पाँचवटा जलविद्युत् कम्पनी आईपीओ र बुटवल पावर कम्पनीले एफपीओ निष्कासन गर्ने अनुमति पाएका हुन्।
पुँजी संकलनका लागि हाइड्रोपावर कम्पनी आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमतिका लागि निवेदन दिएको सेबोनका प्रवक्ता निरज गिरीले बताए। आईपीओ जारी गर्ने अधिकांश हाइड्रोपावर कम्पनी पहिलो पटक आम सर्वसाधारणमा जान लागेका हुन्।
चारवटा माइक्रोफाइनान्सले आईपीओ, प्रिमियम इन्सुरेन्स र नेपाल ग्रामीण विकास बैंकले एफपीओ निष्कासनका लागि बोर्डबाट अनुमति पाइसकेका छन्। बोर्डले १६ वटा कम्पनीलाई सेयर निष्कासन गर्न विभिन्न मितिमा अनुमति दिएको गिरीले बताए।
नेपाल ग्रामीण विकास बैंक, प्राइम इन्सुरेन्स र बुटवल पावर कम्पनी लिमिटेडले एफपीओ जारी गर्न बोर्डबाट अनुमति पाइसकेका छन्। बुटवल पावर कम्पनी लिमिटेडले ४० लाख ८१ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ। प्राइम इन्सुरेन्सले ६६ लाख ५० हजार कित्ता प्रतिसेयर एक सय अंकित मूल्यमा एफपीओ निष्कासन गर्ने भएको छ। प्राइम इन्सुरेन्सले सात सय ९९ रुपैयाँ र बुटवल पावर कम्पनीको पाँच सय एक रुपैयाँ प्रतिसेयर मूल्य निर्धारण गरेकोे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया