४ संस्था गाभेर कुमारी बैंकले गर्यो एकीकृत कारोबार
काठमाडौं, १७ असार
कुमारी बैंक लिमिटेडले महाकाली विकास बैंक लिमिटेड, काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेड, काक्रेविहार विकास बैंक लिमिटेड र पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गरी शुक्रबारबाटै एकीकृत कारोबार सुरु गरेको छ ।
शुक्रबार एक समारोहबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । कुमारी बैंक लिमिटेडले गत जेठ १७ गते नै नेपाल राष्ट्र बैंकबाट सो ४ संस्थालाई गाभेर एकीकृत कारोबार गर्न स्वीकृति पाएको थियो । कुमारी बैंक लिमिटेडले सो ४ संस्था प्राप्तिपछि बैंकको चुक्ता पुँजी ६.२ अर्ब रुपैयाँ पुगेको छ ।
हालै सम्पन्न साधारणसभाले एकीकृत कारोबारपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशतको हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । त्यसपछि बैंकको चुक्ता पुँजी ७.४ अर्ब नाघ्ने जनाइएको छ । प्राप्तिपछि बैंकको कुल निक्षेप ५२.३० अर्ब, कर्जा ४४.९५ अर्ब, शाखा ७४, एटीएम ५७ तथा एक्स्टेन्सन काउन्टर २ पुगेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया