८ हजार १५५ जना सहकारी पीडितको बचत फिर्ता गरिसकियो : मन्त्री अधिकारी

१ अर्ब ६७ करोड ६७ लाख २० हजार ५८ रुपैयाँ वचत फिर्ता
काठमाडौं, फागुन २३, २०८१ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ८ हजार १५५ जना सहकारी पीडितको बचत फिर्ता गरिसकिएको बताएका छन् । हिजो (विहीबार) राष्ट्रिय सभा बैठकमा सांसादहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले पीडितहरुका १ अब ६७ करोड ६७ लाख २० हजार ५८ रुपैयाँ बचत फिर्ता गरिसकेको बताए । विगतमा देखिएका समस्यालाई समाधान गर्न सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ विज्ञ र आन्दोलकारीहरुसँगको छलफलबाट ल्याएको बताए ।
विगतका दिनमा सहकारी क्षेत्रमा अनियमितता भएकै हो र आगामी दिनमा त्यस्तो अनियमितता नहोस् भन्ने हेतुले अध्यादेश ल्याएको बताए । ‘सर्वसाधारणले सबै सहकारी गलत छैनन् भन्नेकुरा बुझ्न जरुरी छ’ उनले बताए । २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउने निर्णय भएअनुसार सरकारले चैत्र २० गते सहकारी स्थापना दिवसलाई पारेर देशव्यापी रुपमा सहकारी वर्ष मनाउने तयारी भइरहेको समेत बताए ।
अधिकारी भन्छन्, आन्दोलकारीहरु, पीडितहरु, विज्ञहरु, सहकारीमा काम गर्ने विभिन्न व्यक्तिहरुको भनाइ र सुझावका आधारमा यो अध्यादेश आएको छ । सबैका राय सल्लाह तथा सुझावका आधारमा नै अध्यादेश ल्याइएको हो । अध्यादेशमा देखिएका केही केही कुराहरु सच्याइएको छ । विगतमा सहकारी क्षेत्रमा अनियमितता भएकै हो यसलाई नकार्न सकिन्न । तर यसो भयो भन्दैमा सबै सहकारी गलत छैनन् । सहकारी जति सबै काम नलाग्ने र ठगी गर्ने संस्था हुन् भन्ने गलत प्रचारलाई चिर्दै कतिपय सहकारी सही पनि छन् भन्ने अभियान चलाउनु पर्छ भन्दै अर्थतन्त्रका तीन खम्बामध्ये एउटा बलियो खम्बा सहकारी हो भन्ने सबैले बुझ्न जरुरी छ, उनले भने ।
विगतका भ्रम र गलत प्रचारप्रसारलाई चिर्दै र सच्याउँदै अगाडि बड्ने हिसाबले काम काम भइरहेको मन्त्री अधिकारीले बताए । फागुन २० सम्म माग दाबी गरेका ८ हजार १५५ जना सहकारी पीडितको १ अर्ब ६७ करोड ६७ लाख २० हजार ५८ रुपैयाँ वचत रकम फिर्ता गरिसकेको दाबी गरे गर्दै उनले पछिल्लो ४ महिनाको बीचमा ८ सय ऋणी सदस्य र वचतकर्ता सदस्यको बीचमा १ अर्ब १० करोड बराबरको हिसाव मिलान गरिएको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया