पर्यटन प्रवद्र्धनका लागि लगानी बढाउन विज्ञको सुझाव

पन्देही, २९ पुस

नेपालमा बौद्ध पर्यटनले ठूलो सम्भावना बोकेका कारण पर्यटन क्षेत्रमा लगानी बढाउन विज्ञले सुझाव दिएका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले शनिबार लुम्बिनीमा आयोजना गरेको एक दिवसीय गोष्ठीमा बोल्दै उनीहरुले नेपालको पर्यटनको आधार नै बौद्धदर्शन भएकाले यसलाइ प्रवद्र्धन गर्न जरुरी रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले नेपालको पर्यटन प्रवद्र्धनका लागि बौद्ध पर्यटनमा लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “छिमेकी देश भारतले ४० अर्बको परियोजना बौद्ध पर्यटनमा लगायो, अहिले त्यसैबाट आर्थिक प्रगति भएको छ ।” सरकारले उचित नीति बनाएर पर्यटन क्षेत्रमा लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो ।

विश्वविद्यालयका डिन माणिकरत्न शाक्यले बौद्ध दर्शनको विस्तारका लागि सरकारले ठोस योजना बनाएर कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो । विश्वविद्यालयका प्रमुख फणीन्द्र न्यौपानेले बौद्ध दर्शनको विस्तारका लागि विश्वविद्यालयलाई सबैको साथ र सहयोग आवश्यक भएको उल्लेख गर्नुभयो ।

पर्यटन व्यवसायी हेम विष्टले नेपालमा पर्यटकको गन्तव्य लुम्बिनी भए पनि पर्यटकलाई टिकाउन नसक्दा पर्यटन प्रवद्र्धन हुन नसकेको बताउनुभयो । कार्यक्रममा प्राज्ञ डा ध्रुव पोखरेल, राजीव दाहाल र रमेशराज कुँवरले ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट विषयको पाठ्यक्रमबारे आआफ्ना प्रस्तुति गर्नुभएको थियो ।

पछिल्लो समयमा विश्वविद्यालयले बौद्धदर्शनअन्तर्गत ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट विषय अध्यापन शुरु गरेकाले एक दिवसीय सेमिनारको आयोजना गरी सो विषयको पाठ्यक्रम तयार गर्नका लागि विज्ञको सुझाव लिइएको विश्वविद्यालयका प्रध्यापक इन्द्र काफ्लेले जानकारी दिनुभयो । (रासस)
–––

फेसबुकबाट तपाईको प्रतिक्रिया