बैंक र ब्यवसायीबीच किन छ द्धन्द ?

रिसव गौतम

बैंकको विश्व इतिहास हेर्दा उधोग र व्यापारको सुरुवात र फैलावटसँगै बैकिङ क्षेत्रको पनि फैलावट भएको हो । त्यसले इंगित गर्छ, उधोगी व्यवसायी र बैंकबीचको सम्बन्ध अन्योन्याश्रित, पुरानो एवं प्रगाढ हो । तर नेपालमा ठयाक्कै त्यसो हुन सकिरहेको देखिदैन । नेपालका बैंकहरुले न त उद्योगी व्यवसायीमैत्री भएर सेवा दिन सकिरहेका छन् न त व्यवसायीहरु नै बैंकहरुप्रति सकारात्मक दृष्टिकोण राख्छन् । सिमित पुजीँपतिको अधिनमा बैंकिग संस्थाहरु घेराबन्दीमा पर्नु र नेपाल राष्ट्र बैंकले पनि यीनिहरुबीचको सम्बन्ध प्रगाढ बनाउने हिसावको भुमिका नर्गनुले सम्बन्धमा दरार सिर्जना भएका छन् ।

किनकि कुनैपनि देशमा उद्योग तथा व्यवसाय फष्टाउन बैंक–वित्तिय संस्थाहरुको ब्याजदर सस्तो हुनुपर्छ । ब्याजदर सस्तो र नवआगन्तुक उद्यमीहरुले एफोड गर्नसक्ने हुनुपर्छ । बल्ल उद्यमशीलता, उद्योग ब्यवसाय फष्टाउने हुन्छ । भएभरको लगानी गरेर बैंकहरुलाई चर्को ब्याज तिर्न कसले पो लगानी गर्छ र ? त्यस्तो प्रकारको जोखिम लिनेहरु कमै मात्र हुन्छन् । फेरी ब्यवसायीहरुले पुँजीको जोहो गर्न जति बढी ब्याज तिर्छन् त्यति नै उनीहरुले उत्पादन गरेका वस्तु तथा सेवा महंगा हुन्छन् । जसले गर्दा आजको विश्वव्यापिकरणमा उनीहरुका उत्पादनले अरु देशका उत्पादनहरुसँग प्रतिस्पर्धा नै गर्न सक्दैन् ।
अहिले पनि नेपालमा उद्योग ब्यवसायमैत्री ब्याजदर छैन । ब्याजदर एकल अंकमा झारिएको भनिए पनि १० प्रतिशत हाराहारी नै छ । ब्याजदर उच्च हुँदा उद्योग तथा ब्यवसाय गर्नका खातिर ऋण माग्नेहरु कम हुन्छन् । अहिले बैंकहरुसँग ७ खर्ब बढी तरलता रहँदा पनि उद्योगी व्यवसायी ऋण माग्न गइरहेका छैनन् । एक त अहिले व्यवसायमैत्री वातावरण पनि खलबल्लीएको छ । देश भयंकर आर्थिक मन्दीको चपेटामा छ । उद्योगी व्यवसायीलाई सरकारले करिव आंतककारीझै ब्यवहार गरेको छ । सिमित केहीले गरेका गल्ती कमजोरीलाई लिएर सबैलाई फटाहाझै भनिएका छन् । आम बुझाइ नै नकारात्मक भइरहेको छ । अर्को सरकारले अनेकन नीतिगत अप्ठेरा तथा व्यवसायीलाई दुरुत्साहन मात्र गरिरहेको छ । सरकारले व्यवसायीलाई कर राजश्वमार्फत अलिकति कस्न सक्छ, त्योपनि अधिक कमाउनेहरुको हकमा । त्यसरी सिंन्चेको रकम बजेटमार्फत रोजगारी सिर्जना, विकास र लोककल्याणको लागि खर्च गर्नु उसको दायित्व हो । तर उद्यमीहरुलाई व्यवसाय गर्ने वातावरण भने दिनैपर्छ । अहिले बैंकहरुमा तरलता अधिक हुनुमा विगत बर्षहरुमा जस्तो घरजग्गा जस्ता अनुत्पादक क्षेत्रका दलाल तथा माफियाहरुको बैंकिग पहुँच घट्नुले पनि हो । विगतमा त्यस्तै किसिमका जग्गा दलालहरुको हातमा बंैकका अधिक रकम जान्थ्यो । त्यसले गर्दा तरलता संकट भइहाल्थ्यो । अहिले खराब कर्जा अधिक (५ प्रतिशत हाराहारी ) बढेसँगै बैकहरु त्यतातिर लगानी गर्न तर्सिएका छन् । जसको कारण बजारमा तरलता अधिक छ । सरकारले यही मौकामा ऋणपत्रहरु जारी गरेर तरलता खिचेको छ । सरकारलाई आन्तरिक ऋण उठाउन सजिलो त भएको छ । तर पुँजीगत खर्च बढाउन नसक्दा आन्तरिक अर्थतन्त्र गतिहिन छ । असली उद्योगी व्यवसायीहरु धान्नै नसक्ने ब्याजदर र अन्तराष्टिय स्तरको व्यवसायीक प्रतिस्पर्धाका कारण बैंक समक्ष ऋण लिन जाने आँटै गरिरहेका छैनन् । त्यसको अप्रत्यक्ष असर बैंकहरुलाई नै परिरहेको छ । उनीहरुको नाफा घटिरहेका छन् । निक्षेप संकलन गरेर उनीहरुले लगानी गर्न सकेनन् भने बैंकहरु कसरी चल्लान् फेरी । त्यसकारण बैंक र व्यवसायीहरु मिल्नुपर्छ । दुबै पक्षको जित हुनेगरी ब्याजदरहरु सामायोजन हुदै जानुपर्छ । लगानीका बागडोर सम्हालेका बैंक र सम्बृद्धिमा अधिक भुमिका खेल्ने उद्यमी ब्यवसायी सौहार्र्दपुर्ण रुपमा मिलेर अघि बढ्दा मात्र विधमान सकंटहरु सामाधान हुन्छन् ।
नेपालमा बैंकहरुको विकासक्रम
नेपालमा औधोगिक विकासको प्रारम्भसँगै बैकिङ वित्तिय क्षेत्रको सुरुवात भएको हो । बि.स १९९३ सालमा मुलुककै पहिलो उधोग विराटनगर जुट मिलको स्थापना भयो । सो लगत्तै बि.स. १९९४ मा नेपालको पहिलो बंैकको रुपमा नेपाल बैक लिमिटेडको स्थापना भयो । यसरी हेदा पनि नेपालमा उधोग व्यवसायको विकास एवं विस्तार भएसँगै बैकिङ क्षेत्रको विकास भएको हो ।
उधोग व्यवसायको विकास विना बैकहरुको पनि विकास एवं फैलावट संम्भव छैन भन्ने तथ्य स्पष्ट छ । तर नेपालमा ५० को दशकदेखि युवाहरुको विदेशगमन तीव्र भयो । ०५२ सालबाट सुरु भएको तात्कालिन माओवादी जनयुद्धको भुङग्रोमा भएका उधोग कलकारखाना नासिए । यद्यपी माओवादी जनयुद्धले मुलुकमा केही दिएन भन्ने होइन । बहुआयामिक हिसावको संवैधानिक परिवर्तनहरु दिएको छ । त्यसलाई नजरअन्दाज गर्न मिल्दैन । तर ०५२ देखि माओवादी शान्ति सम्झौतामा आउँदासम्म नेपालमा कुनै नयाँ उधोगहरु खुलेनन् । बरु भएका उधोग व्यवसायहरु पनि बन्द भए । त्यसको असर समग्र अर्थतन्त्रमा प¥यो । फलस्वरुप अहिले कुल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान ४ प्रतिशतमा सिमित छ ।
बरु ०५०को दशकबाट विदेशीन सुरु गरेका युवाहरुले पठाएको रेमिट्यान्सको भरमा अर्थतन्त्र थेग्रियो । बैकहरु थेग्रिए । अझैपनि रेमिट्यान्समै मुलत अर्थतन्त्र र बैक निर्भर छन् । अर्थतन्त्रमा रेमिटयान्स्को योगदान २९ प्रतिशत पुगिसकेको छ ।
तरपनि बैंक टिक्ने र अर्थतन्त्र अघि बढने आधार भनेको औधोगिक क्षेत्रको विकास नै हो । रेमिट्यान्स स्थायी हुदैन । अहिले ६० लाख बढी युवायुवतीहरु विदेशीएका छन् । समग्र अर्थतन्त्रमा घरेलु उधोग व्यवसायको योगदान ६–७ प्रतिशत भन्दा ज्यादा छैन । मुलुक पुरै मजदुर उत्पादन गर्ने देश जस्तो भएको देखिन्छ । सीप, श्रम, साधन श्रोत र पुँजीको परिचालनबाट औधोगिक विकास हुन सकेको छैन । त्यस हिसावले पनि बंैकहरुले औधोगिक क्षेत्रमा, कृषि उत्पादन र उधोगहरुमा लगानी गर्न हिच्चकिचाइरहेका देखिन्छन् । तर उधोगी वा व्यवसायी भनेको बैकहरुका लागि पँुजी निर्माणका साधन हुन् । एउटा उधोगीले कुनै बैंकमा ओफ्नो मात्रै खाता खोलेको हुदैन । कर्मचारी कामदारहरुको पनि खोलाएको हुन्छ । उसले समाजमा सानो वा ठुलो स्केलमा रोजगारी दिएको हुन्छ । आयात तथा निर्यात व्यापारको माध्यमबाट राज्यको आर्थिक गतिविधिलाई चलाएमान बनाएको हुन्छ । त्यसकारण बैकको उधोगी व्यवसायीसँगको सम्बन्ध बढी महत्वपूर्ण हुन्छ र हुनुपर्छ ।
वास्तवमा व्यक्ति वा संस्था बैकका ग्राहक हुन् । ग्राहकसँग बैकको वा बैकसँग ग्राहकको अधिक विश्वासमा आधारित सम्बन्ध हुनेगर्छ । बैक र ग्राहकबीच अनेकन आयामको सम्बन्धहरु हुन्छन् । त्यस्तो सम्बन्ध खासगरीकन कारोबारको आधारमा बढी वा कम हुनेगर्छ । व्यक्तिगत ग्राहकसँग जनेरेशनको आधार पनि सम्बन्ध हुन्छ । जस्तो नेपालको सबैभन्दा पुरानो नेपाल बैकमा जति मात्रामा पुराना मान्छेहरुको खाता हुन्छ, त्यति नयाँ आएका बैकहरुमा हुदैनन् । त्यसकारण ग्राहक र बैकबीच अनेकन आयामको सम्बन्धहरु हुन्छन् ।
विगतमा खाली साहू र आसामी मात्रैको सम्बन्ध बैक र ग्राहकबीच हुन्थ्यो । त्यो विचारधारा विस्तारै परिणत भएर आएको छ । बैकको समाजप्रति, ग्राहकप्रति, सरकारप्रति, उधोग कलकारखानाको विकास प्रतिको उत्तिकै दायित्व हुन्छ । जो बढेर गएको छ । नेपालमा खासगरी उधोग व्यवसायको क्षेत्र कमजोर भएको, त्यो क्षेत्रको कारोबारको आकार बढन् नसकेको कारण पनि बैकहरुले त्यो क्षेत्रलाई विश्वास गर्न सकिरहेका छैनन् । तर अव नेपालमा बैकहरुले जसरी आफनो विकास र फैलावटलाई विस्तारित गर्दै लगेका छन्, त्यही हिसावमा उत्पादनमूलक उधोग र व्यवसायको क्षेत्रमा लगानी विस्तार हुनुपर्छ ।
नेपालमा बैक र उधोगीबीचको सम्बन्ध
नेपालमा बैक र व्यवसायीबीचको सम्बन्ध कस्तो छ भन्ने जान्न बैंकहरुको व्याजदरलाई लिएर बेलाबेला व्यवसायीहरुले गरेको आन्दोलनलाई नियाल्दा थाहा हुन्छ । व्यवसायीहरुले बेलाबेला बैंकहरुको ब्याजदर चर्को भयो भन्दै घटाउन प्रधानमन्त्रीलाई नै हारगुहारेर गरिरहेका हुन्छन् । खासगरी बंैक र व्यवसायीहरुबीच प्रगाढ सम्बन्ध नभएकै कारण त्यो आन्दोलन भएको थियो । यी दुइ पक्षबीच अत्यन्त सौहार्दपूर्ण सम्बन्ध हुँदा मात्र उधोग क्षेत्रले प्रगति हासिल गर्नसक्छ । र, उधोग क्षेत्रको प्रगती हूँदा मात्रै उनीहरुको बैंकसँगको कारोबार बढ्ने र बंैकको पनि नाफा बढ्ने अवस्था सिर्जना हुन्छ । तर यहाँ त लय मिलेको छैन । बैकहरुले दिर्घकालिन सोच राख्न सकेका छैनन् । अल्पकालिनक उपलब्धी र नाफामा रमाइरहेका छन् । उत्पादनमुलक उधोगहरुमा सहुलियत व्याजदरको कर्जा प्रवाह गरेर स्वदेशी अर्थतन्त्रलाई बलियो बनाउनेबारे सोचेकै छैनन् । त्यो सोच हुँदा मात्रै बैकहरुको मुनाफा र गतिविधि दिर्घकालमा चलायमान हुन सक्छन् ।
व्याजदर बढी भएकै कारण नयाँ उधोग कलकारखानाहरु खुल्ने क्रम बढ्न सकेको छैन । बढी व्याजदर हुँदा उत्पादन लागत बढ्ने र उत्पादित वस्तुको मुल्य बढी हुनेहुन्छ । त्यसको आखिरी मर्का पर्ने उपभोक्क्तालाई हो ।
त्यसकारण सन्तुलित ब्याजदर कायम गरेर बैंकहरुले उधोगी–व्यवसायीहरुसँगको सम्बन्ध प्रगाढ बनाउन जरुरी छ । बैंकहरुको ब्याजदर ५–६ प्रतिशत भन्दा माथी जानुहुदैन । बैंकहरुको लगानी अनुत्पादनमुलक क्षेत्रमै घुमिरहेको छ । त्यसलाई क्रमभंग गरेर ब्यवसायी र बैंकबीच सौर्हाद सम्बन्ध विकास हुनुपर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया