अन्नपूर्ण पर्यटन महोत्सवमा खेलकुद प्रतियोगिता

पोखरा, ११ पुस
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा आयोजित अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव, २०७४ को दोस्रो चरणअन्तर्गत आजदेखि प्रतियोगितात्मक खेलकुद प्रतियोगिता शुरु गरिएको छ ।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव मुल व्यवस्थापन समितिका संयोजक ललित गुरुङले रेफ्री मिकास गुरुङलाई बास्केटबल हस्तान्तरण गरी प्रतियोगिताको शुभारम्भ गर्नुभयो ।

आजको उद्घाटन खेलमा रोधी क्लब घान्द्रुक ए लाई ३३ स्कोरका विरुद्ध हिमशिखर युवा क्लबले ३८ स्कोरको फराकिलो अन्तरले पराजित गर्न सफल भयो । उक्त प्रतियोगितामा हिमशिखर युवा क्लब जर्सी नं ९ का अनिल पुनले सबैभन्दा धेरै १६ स्कोर हासिल गर्नुभएको थियो ।

त्यस्तै सेन्चुरी युवा क्लब छोम्रोङ बी लाई २५ स्कोरका विरुद्ध विशाल मिलन केन्द्र (बिएमके) काठमाडौँले ३१ स्कोरको फराकिलो अन्तरले पराजित ग¥यो । नकआउट प्रणालीमा खेलाइएको बास्केटबल प्रतियोगितामा आठ समूहको सहभागिता छ ।

त्यस्तै पुरुष भलिबल प्रतियोगितामा १६ टोली र महिला भलिबल प्रतियोगितामा नौ टोलीको सहभागिता रहेको आयोजक समितिले जनाएको छ । आजै चण्डी युवा क्लब र सेन्चुरी युवा क्लबबीच भएको मैत्रीपूर्ण भलिबल खेलमा चण्डी युवा क्लब विजयी भएको थियो ।

प्रतियोगितात्मक खेलकूद कार्यक्रमका साथै वरिष्ठ कलाकारको सहभागितामा कला कार्यशाला जारी रहेको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव प्रचारप्रसार समितिका संयोजक टंक अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यशालामा कोरिएका पानी रङ र तेल रङका चित्र बिक्रीका लागि प्रदर्शनीमा राखिएको छ । (रासस)

फेसबुकबाट तपाईको प्रतिक्रिया