अमेरिकाद्वारा ३५ रसियाली नागरिकलाई देश निकाला

काठमाडौँ १५ पौष

वासिङ्गटन-संयुक्त राज्य अमेरिकाले ३५ जना रसियाली नागरिकलाई देश निकाला गरेको छ। अमेरिकामा हालै सम्पन्न राष्टपतीय निर्वाचनमा रसियालीले साइबर हमला गरेको आरोप अमेरिकाले लगाएको छ।अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबार ती रसियालीलाई देश निकाला गरेको घोषणा गरेका हुन्। आफ्नो कार्यकाल सकिन केही हप्तामात्र बाँकी रहेको बेला राष्ट्रपति ओबामाले ती रसियालीलाइे देश निकाला गरेका हुन्।अमेरिकी राष्ट्रपतिले ३५ जना रसियाली नागरिक र अरु विभिन्न ९ वटा संघ संस्थालाई पनि आर्थिक नाकाबन्दी लगाएको घोषणा गरेका छन्।

पछिल्लो समयमा ती संस्था र व्यक्तिमाथि निगरानी राखिएको थियो । ती व्यक्ति र संस्थाले अमेरिकामा हालै भएको राष्ट्रपति निर्वाचनमा साइबर हमला गरी निर्वाचनमा अवरोध पुर्‍याएको जनाइएको छ। उनीहरुलाई ७२ घन्टाभित्रै घर छोड्न आदेश दिइएको छ। साथै ती सूचना प्रविधिमा कामगर्ने संघ संस्थालाई पनि आर्थिक कारोबार गर्नबाट रोक लगाइएको छ।त्यसैगरी रसियाली सरकारको मातहतमा रहेका भनिएका न्युयोर्कमा रहेको एक र म्यारिल्याण्डमा रहेको अर्को एक गरी दुई वटा कार्यालय पनि तत्काली बन्द गराइने अमेरिकी सरकारले जनाएको छ।

अमेरिकी सरकारको यो पछिल्लो निर्णयले पछिल्ला केही समययता रहेका अमेरिका र रसियाको विवाद सतहमा आएको विश्लेषकहरुले जनाएका छन्। अमेरिकी निर्वाचनमा राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनको इमेल काण्डलाई बाहिर ल्याइएपछि त्यस विषयमा वर्तमान सरकारले त्यसको अनुसन्धान गरिरहेको थियो। इमेल काण्डलाई बाहिर ल्याउने र क्लिन्टनलाई हराउने काममा रसियाको हात रहेको जानकारी यसअघि नै बाहिर आएको थियो। रासस/ सिन्ह्वा

फेसबुकबाट तपाईको प्रतिक्रिया