आइटिएफ तेक्वान्दो च्याम्पियनसिमा नेपाल टिम दोस्रो

काठमाडौँ २६ साउन –
भारतको बैंग्लोरमा भएको पाँचौँ दक्षिण एसियाली आमन्त्रण आइटिएफ तेक्वान्दो च्याम्पियनसिमा नेपाल टिम दोस्रो भएको छ। नेपालले कुल १२ पदक हात पार्दै प्रतियोगितामा दोस्रो स्थानमा रह्यो। नेपालले चार स्वर्ण, पाँच रजत र तीन कास्य पदक हात पारेको दक्षिण एसियाली आइटिएफ तेक्वान्दोका उपाध्यक्ष तथा नेपाल आइटिएफ तेक्वान्दोका अध्यक्ष अन्जन धमलाले जानकारी दिए।
नेपालका लागि सोनी खड्काले दुई स्वर्ण तथा पूजा खुलाल मगर र वीरेन्द्र कुँवरले समान एक–एक स्वर्णपदक हात पारे। सोनीले प्याट्रन र फाइट दुवै विधामा स्वर्ण जितिन्। महिलातर्फ ब्लाक बेल्ट तेस्रो डानको प्याट्रन र फाइटको ४७ केजीमुनि तौल समूहमा नेपाललाई स्वर्ण दिलाएकी हुन्। प्याट्रनमा सोनीले भारतीय खेलाडी इलिना घोसलाई हराउँदै नेपाललाई स्वर्ण दिलाइन्।
फाइटतर्फबाट पुजाले (४७–५२) र वीरेन्द्रले (४७–५२) तौल समूहमा नेपाललाई स्वर्ण दिलाएका थिए।
त्यसैगरी फाइटमै आशिष कार्की, मनोज खड्का, दीपक गौतम र सुवास आलेमगरले रजत पदक जितेका छन्। प्याट्रनको पहिलो डानमा पूजा खुलाल मगरले रजत पदक जितिन्। आशिष कार्कीले तेस्रो डानको प्याट्रनमा पनि रजत पदकमा हात पारे। सेमिफाइनलमा अफगानिस्तानका खेलाडीलाई पराजित गर्दै स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका कार्की फाइनलमा भारतीय खेलाडीसँग पराजित भएपछि रजतमै चित्त बुझाउन बाध्य बने।
 सोही स्पर्धामा दिलेन राई, वीरेन्द्र कुँवर र दीपक गौतमले कास्य पदकमै चित्त बुझाए। उक्त प्रतियोगितामा नेपालका १० खेलाडीले भाग लिएका थिए। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया