उपत्यकाका सात सम्पदा विश्वसम्पदा सूचीबाट हट्ने जोखिममा

काठमाडौँ २७ माघ

विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाहरूको पुनर्निर्माणमा आवश्यक मापदण्डलाई ख्याल नगरी जथाभावी निर्माण गरिँदा ती महत्वपूर्ण सम्पदाहरू उच्च जोखिमा परेका छन् । जसकारण विश्वसम्पदा सूचीबाटै हट्ने खतरा बढेको छ । पुनर्निर्माणमा सरकारी निकायको लापार्बाही र चरम बेवास्ताले गर्दा ती सम्पदा विश्वसम्पदा सूचीबाट हट्ने खतरा बढेको हो ।

यसरी, उच्च जोखिममा परेका सम्पदामा काठमाडौं दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ र चाँगुनारायण रहेका छन् । युनेस्कोले काठमाडौं उपत्यकालाई एक क्षेत्र मानेर यी सम्पदालाई विश्वसम्पदा सूचीमा सूचीकृत गरेको थियो । पछिल्लो समय पशुपतिनाथ लगाायतका सम्पदामा पुनर्निर्माणका क्रममा आवश्यक मापदण्डलाई ख्याल नगरिँदा ती सम्पदा जोखिममा परेको पुरातत्व विभागले जनाएको छ ।

विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार यसअघि समेत सन् २००७ मा अव्यवस्थित सहरीकरण तथा व्यवस्थापनमा देखिएको समन्वय अभावको कारण देखाई यसमा सुधार गर्न युनेस्कोले सुझाव दिएको थियो । सुधार नगरे विश्वसम्पदा सूचीबाटै हट्नेसम्मको चेतावनी युनेस्कोले दिएको थियो । अहिले पनि पशुपति क्षेत्रको पुनर्निर्माणमा मापदण्ड नबनाई मनलागी ढंगबाट निर्माण गर्न थालेपछि युनेस्कोले पुनः चेतावनी दिन सक्ने विभागका प्रवक्ता कुँवरले बताए ।
राजधानीबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया