नुवाकोट दरबार परिसरमा सिर्जना यात्रा

– माधव घिमिरे ‘अटल’

काठमाडौं ०७ माघ २०८०।

नुवाकोट दरबार सरोकार समाजको आयोजनामा नुवाकोट दरबार परिसरमा आज शनिवार साहित्य तथा सम्पदा संरक्षण परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नुवाकोट दरबार संरक्षण अभियन्ता रामलाल श्रेष्ठले वि•सं• २०७२ महाभूकम्पपश्चात् नै आफूहरूले नुवाकोट दरबारको पुननिर्माणको महत्त्वलाई ध्यानमा राखेको किन्तु आजतक बेवास्ताको शिकार बनेको दुखेसो व्यक्त गरे । नुवाकोट विजय गरिसकेपछि यसैलाई राजधानी बनाएर पृथ्वी नारायण शाहले राजधानीमाथि आधिपत्य जमाएको यो ठाउँ यतिखेर खण्डहर बने पनि सम्बन्धित निकाय बेखबरझैँ भएकोमा उनले असन्तोष प्रकट गरे । पाँचवटा दरबार परिसरमध्ये तीनवटा योभन्दा अगावै विश्व सम्पदा-सूचीमा सूचीकृत भइसकेका र बाँकी दुईमध्ये नुवाकोटले भरमग्दुर प्रयत्न गरेको खुलासा गरे । इतिहासलाई न्याय गर्ने हो भने यसलाई प्रदेस राजधानी बनाइनुपर्नेमा पनि उनको जोड थियो । यसबारे सबै तह र तप्काबाट आवाज बुलन्द गर्नुपर्ने उनको राय थियो ।

अर्का अभियन्ता गौतममान सिंह डङ्गोलले साहित्यकारहरूले नुवाकोट दरबारको भग्नावशेषबारे आआफ्ना रचनामा समाविष्ट गर्न आग्रह गर्दै राज्यको बेवास्ताप्रति रोष प्रकट गरे । साततले दरबार र तलेजु मन्दिर बनाउन चिनियाँ सरकार तयार भएको भनिए पनि आजसम्म कार्यरूप नदिइएकोमा उनको आक्रोश थियो । तर अन्य संरचनाबारे आजसम्म के हुने भन्ने संशय रहेको उनको कथन थियो । मूलतः स्थानीय जनता सोझा हुनुको परिणाम आजतक यी सम्पदाले सम्बन्धित निकायको ध्यान आकृष्ट गर्न नसकेको उनको आशङ्का थियो । नुवाकोट स्वयम्भू महाचैत्य लिच्छवीकालीन रहेको भन्दै यसको पुनः निर्माणमा आफू पूर्णतः होमिएको उनको कथन थियो । यसलाई उनले नेवार बस्तीको स्वयम्भूको रूपमा व्याख्या गरे ।

गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल (भिटोफ-नेपाल) का अध्यक्ष तथा पर्यटन व्यवसायी गोपाल थापाले आकर्षण बोकेका किन्तु प्रचारप्रसारको अभावले पछि परेका ग्रामीण क्षेत्र तथा घरबासलाई प्रचारप्रसार गर्दै हरयाम आन्तरिक पर्यटनलाई बढावा दिने आफूहरूको अभीष्ट भएको भनाइ राखे । उनले यस्तो महत्त्वपूर्ण कार्यक्रममा स्थानीय सरकारको उपस्थिति नहुनु अत्यन्त गैरजिम्मेवारी भएको उल्लेख गर्दै सम्पदा संरक्षणमा सबैभन्दा मुख्य भूमिका स्थानीय सरकारकै हुनुपर्ने उनको राय थियो । उनले स्थानीय सरकारले पर्यटन सम्बन्धी ऐन निर्माण गर्न सके नुवाकोटको नुर उठाउन सबै एकजुट हुनुपर्ने अभिमत राखे ।

भिटोफ- नेपालका पूर्व अध्यक्ष तथा वरिष्ठ पर्यटन व्यवसायी बोधराज भण्डारीले पर्यटन र साहित्यलाई कसरी जोड्न सकिन्छ भन्नेबारे आफ्नो सारगर्भित भनाइ राख्दै सम्पदा र साहित्य नङ र मासुजस्तै हुने जिकिर गरे । नियात्राकार राजेन्द्रमान डङ्गोलको दृष्टान्त दिँदै थुप्रै साहित्यकारहरू पर्यटन विकासमा खम्बाझैँ दृढतापूर्वक खडा भएको उनको कथन थियो ।

स्तम्भकार तथा समालोचक कुमारी लामाले नुवाकोट दरबारले यो क्षेत्रलाई आर्थिक जीवन्तता दिएकोमा सदरमुकामलाई यहाँबाट स्थानान्तरण गरिनु कतै आदिवासी जनजातिको विपक्षमा भएका चलखेल त थिएन भनेर आशङ्का व्यक्त गरिन् । राजेन्द्रमान डङ्गोलले आफ्ना कृतिमा आन्तरिक पर्यटकलाई आकर्षण गर्न अतुलनीय भूमिका निर्वाह गरेको बताउँदै यतिको महत्त्वपूर्ण सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न थप पहल गर्न उनले अनुरोध गरिन् ।
विशेष अतिथि विदुर नगरपालिका वार्ड नं•-२ का अध्यक्ष दीपक कायस्थले यस्तो कार्यक्रमको संयोजन गरेकामा आरएम डङ्गोलप्रति आभार प्रकट गरे । दरबार निर्माणमा चिनियाँ पक्षले गरेको ढिलासुस्तीप्रति क्षोभ व्यक्त गर्दै उनले आफूले पुनःनिर्माणलाई शीघ्रातिशीघ्र अघि बढाउन विभिन्न मन्त्रालयसँगसमेत समन्वय गरिराखेको अवगत गराए । उनले साहित्यकारहरूको कलम आफूहरूको अभियानलाई अभिप्रेरणा दिने ढङ्गले चल्नेमा ढुक्क भएको बताए ।

प्रमुख अतिथि विश्वविमोहन श्रेष्ठले सम्पदा संरक्षण तथा पुनःनिर्माणबारे सङ्क्षिप्तमा आफ्नो भनाइ राख्दै राष्ट्रिय एकता सम्बन्धी समसामयिक एवम् विचारोत्तेजक व्यङ्ग्य कविता प्रस्तुत गरे ।

धन्यवाद ज्ञापनका सिलसिलामा कवि तथा समालोचक आरएम डङ्गोलले सम्पदा संरक्षणका दर्मियानमा आफूहरूले गरेका कामको फेहरिस्त प्रस्तुत गरे । उनले सम्पदा संरक्षण सम्बन्धी एउटा पत्रिका प्रकाशन गर्ने उद्घोष गर्दै भग्न दरबारको आक्रोश अभिव्यक्त गर्ने रचना ‘साततलेको आत्मकथ्य’ वाचन गरे ।

राजेन्द्र घिमिरे ‘सागर’ले सम्पदा संरक्षणसँग सम्बन्धित तीनवटा मुक्तक सुनाए । त्यसरी नै कवि माधव घिमिरे ‘अटल’ले हालै इजरायली आततायी आक्रमणमा मारिएका कवि रफात अलिरको अन्तिम कविता ‘कथं म मरे भने’ वाचन गरे भने लक्ष्मी रूम्बाले ‘पन्जाभित्र मैच्याङ’ शीर्षकीय कवितामा बेचिएका चेलीहरूको पीडा बोलिन् । कवि ठाकुर बेल्वासेले दुइटा छोक सुनाए । कवि भीष्म उप्रेतीले ‘भित्र’ शीर्षकीय रचना वाचन गरे । कवि तथा आख्यानकार विधान आचार्यले ‘पृथ्विसित’ शीर्षकीय छन्द कविता सुनाए । शब्दपथका सम्पादक तथा मूर्धन्य साहित्यकार किशोर पहाडीले सम्पदा संरक्षण सम्बन्धी आफ्नो रचना पस्के ।

विशेष अतिथि दीपक कायस्थले आमन्त्रितअभ्यागतहरूलाई दरबार अङ्कित मायाको चिनो अर्पण गरे ।

स्थानीय शिक्षक रामहरि आचार्यले नुवाकोटको प्रामाणिक साहित्यिक इतिहास साथै पुरातात्विक विषयसहित स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सहजीकरण चर्चित नियात्राकार राजेन्द्रमान डङ्गोल र समापन आफ्नो सङ्क्षिप्त मन्तव्यसहित कुशबहादुर डङ्गोलले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया