के हो युरिक एसिडको बाथ ? कसरी गर्न सकिन्छ यसको उपचार ?

डा. केशवराज सिग्देल

युरिक एसिडको बाथ भनेको के हो ?
हामीले दिनहुँ सेवन गर्ने खाद्य पदार्थ पाचन हुने क्रममा शरिरमा उत्पादन हुने विकार तत्व ‘युरिक एसिड’ को मात्रा रगतमा सामान्य भन्दा बढी देखा परेर विशेषत जोर्नीहरुमा असर भएको अवस्थालाई युरिक एसिड बाथ (Gout or Gouty Arthrits) भनिन्छ । वयस्क पुरुषको शरिरमा प्रति १०० मिलिलिटर रगतमा ७ र महिलामा ६.२ मिलिग्रामसम्म युरिक एसिड हुनु सामान्य नै मानिन्छ । तर सो भन्दा बढी भएमा जोर्नीहरुमा खराब प्रभाव देखिन्छ र जोर्नीहरुमा युरिक एसिड क्रिस्टलको रुपमा जमेर जोर्नी सुन्निने र दुख्ने हुन्छ । रगतमा युरिक एसिडको मात्रा बढेको देखिए तापनि धेरैजसो व्यक्तिहरुमा कुनै लक्षण नदेखिने विभिन्न अध्ययनबाट देखिएको छ ।

SIGDEL1

युरिक एसिडको बाथ कस्तो उमेरमा देखिन्छ र यसका लक्षणहरुः
संसारमा लाखौं मानिसहरु युरिक एसिडको बाथबाट पिडित छन्, त्यसमध्ये आधाजति संख्यामा युरिक एसिड बाथले पटक पटक दुःख दिईरहेको पाइन्छ । पश्चिमी देशको तथ्याङ्कको आधारमा भन्नु पर्दा ३० वर्ष माथिका पुरुष र ५० वर्ष माथिका महिलाहरुमा कुनै न कुनै बखत गाउटको समस्याले पिरोलेको हुन्छ । गाउटले धेरैजसो विरामीमा गोडाको बुढीऔंला, गोलीगाँठा र यस वरपरका जोर्नीमा टन्किएर दुख्ने, सुन्निने हुन्छ । रोग छिप्पिदै गएपछि भने घुडा तथा हातका जोर्नीहरुमा पनि असर पर्न सक्छ ।

आहार विहार के खादा र नखादा युरिक एसिडको बाथ बढ्छ?
हाम्रो समाजमा युरिक एसिडको बाथद्वारा ग्रसित विरामीहरुले जहिले पनि आफ्नो आहार–विहार र खाना खाने तरिकालाई दोष दिने गरेको पनि पाईन्छ । युरिक एसिडको बाथ हुनुमा आहार–विहार र खानपानको भूमिका एक चौथाई जति मात्रै हुन्छ । अर्थात् तिन चौथाई जति भूमिका त हाम्रो शरिर आफैले उत्पादन गर्ने युरिक एसिडको मात्रामा भर परेको हुन्छ । यस्तो पनि भनिन्छ की प्रोटिनयुक्त आहार सेवन गर्नाले १ सय मि.लि. रगतमा बढीमा १ मिलिग्राम युरिक एसिडको मात्रा बढ्छ । युरिक एसिडजन्य प्रोटिनयुक्त खानाको बावजुद अन्य कारणले गर्दा पनि युरिक एसिड उत्पादन भएको हुन्छ । अर्थात् वंशाणुगत कारण, शारिरीक मोटोपन, लामो अवधि भोको बस्ने बानी, मृगौलाको कार्य विफलता, मृगौलाको पत्थरी, मुटु सम्बन्धि रोगहरु, मधुमेह आदि जस्ता कारणहरुले र कुनै प्रकारका दिर्घरोगहरु साथै केही किसिमका औषधिहरुको प्रयोगको कारण ( जस्तै : लगातार थायजाइड ग्रुपको औषधी, जुन उच्च रक्तचापमा प्रयोग गरिन्छ ) पनि कतिपय व्यक्तिको रगतमा युरिक एसिड बढेको हुन्छ ।UUU

 

44 sigdel sir

 

 

 

 

 

 

 

 

 

 

युरिक एसिडको बाथको उपचार कसरी ?

अन्य किसिमको बाथरोग भन्दा युरिक एसिडको बाथलाई सजिलै व्यवस्थापन गर्न सकिन्छ । यस्तो बाथलाई व्यवस्थापन गर्नको लागि विशेषज्ञ डाक्टर र बिरामीबिच उचित छलफल, परामर्श र सहकार्य अनिवार्य हुन्छ । अन्यथा विरामीहरुले डाक्टरको परामर्श बिना विविध प्रकारका औषधी छोटो समयको लागि सेवन गर्दा रोग झन्झन् जटिल हुँदै जाने सम्भावना रहन्छ ।

U1
युरिक एसिडको बाथद्वारा पिडीत विरामीहरु अस्पताल वा डाक्टरको क्लिनिकमा उपचारार्थ उपस्थित हँुदा खेरि रोगको सुरुवात कहिले र कसरी भयो, कति पटक भयो र अन्तिम पल्ट कहिले बढ्यो भनेर सोधपुछ गरिन्छ । यस्ता विरामीहरुले प्रायजसो एक्कासी दुखाई बढेर त्यसविरुद्ध औषधी सेवन गरेको वा दुखाई कम गर्ने औषधीको सुई प्रयोग गरेको कुरा बताउने गरेको पाईन्छ । यसरी एक्कासि रोग बढ्ने वा बल्झिने कुरामा सामान्यतया खानपान कै भुमिका रहेको पाईन्छ । त्यसैले त्यतिखेर खानपान र आहार–विहारमा परिवर्तन गर्न परामर्श दिईन्छ । त्यतिखेर युरिक एसिड घटाउने वा बढाउने खाद्यपदार्थ, तत्काल प्रयोग गरिने औषधी र त्यसको सेवन मात्रा लगायत धेरै प्रोटिनयुक्त खानेकुरा सेवनको परहेजमा रहँदाखेरी सामान्यतया घट्नसक्ने युरिक एसिडको मात्राबारे पनि डाक्टरसँग जानकारी लिनुपर्दछ । अर्को कुरा आहार–विहार र दैनिक जिवनयापन पद्धतिमा परिमार्जन गर्ने वित्तिकै युरिक एसिडको मात्रा घटिहाल्छ भन्ने कुरा पनि कतिपय विरामीहरुमा लागु नहुन सक्छ । किनकी वंशाणुगत लगायत अन्य कारणले पनि युरिक एसिड बढाएको हुनसक्छ । त्यसैले विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम उचित प्रकारको औषधी प्रयोग गर्ने जस्तै anti-inflammatory drugs   (उचित प्रकारको नदुख्ने औषधी) र Uric Acid Lowering Agent  (युरिक एसिड घटाउने औषधी) प्रयोग गर्न जरुरी देखिन्छ । जे होस् आहार विहार खानपानमा सन्तुलन कायम गरेमा, प्रसस्त मात्रामा तरलपदार्थ र पानी सेवन गर्ने बानी बसालेमा, शारिरिक तौल नियन्त्रण गर्ने, नियमित शारिरिक ब्यायाम गर्ने र शंका लाग्नासाथ डाक्टरको परामर्श लिने बानी बसालेमा युरिक एसिडको बाथलाई व्यवस्थापन गरेर सहजै छुट्कारा पाउन सकिन्छ ।

(डाक्टर सिग्देल आरोग्य स्वास्थ्य सदन, नेपाल बाथ रोग उपचार केन्द्र जावलाखेलमा कार्यरत हुनुहुन्छ )

फेसबुकबाट तपाईको प्रतिक्रिया